Market Closed

केन्द्रीय बैंकले ५ अर्ब २५ करोडको ट्रेजरी बिल जारी गर्ने, आजै बोलकबोल

15 Apr,2019
  • nrb_3_28_2019_6_40_48.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले ५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज (सोमबार) अपराह्न ३ बजे बोलकबोल हुनेछ ।
 
केन्द्रीय बैंकले ९१ दिनको लागि ३ अर्ब रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी बिल २०७६ साल असार ३१ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनका लागि जारी हुने २ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी २०७६ असोज २८ गते परिपक्क हुनेछ ।
 
यस अघि २०७५ चैत २५ गते केन्द्रीय बैंकले करिब ८ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । राष्ट्र बैंकका अनुसार त्यसबेला ९१ दिनका लागि १ अर्ब रुपैयाँको, १८२ दिनको १ अर्ब ८९ करोड रुपैयाँको र एक वर्षका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी जारी गरेको थियो ।
 
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
 
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
 
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

Post Your Comment