Market Closed

सेयर खरिदबिक्रीमा झनै थपियो उत्साह, १ अर्ब ३३ करोडको कारोबार

15 May,2019
  • bull_bear_new_5_15_2019_3_22_44.jpg
नेपाली पैसा 

काठमाडौं : पुँजी बजारमा कारोबार रकमले नयाँ उत्साह पैदा गरेको छ । नेप्से सूचकसँगै प्रत्येक दिन सेयर खरिदबिक्री रकम बढिरहेको छ । कारोबार रकम वृद्धिसँगै बजारमा थप चहलपहल बढ्न थालेको देखिन्छ । चालु आर्थिक वर्ष सकिन अब २ महिना मात्र बाँकी छ । सरकार नयाँ बजेट निर्माणको तयारीमा जुटेको छ । यता, नयाँ बजेट आउनै लाग्दा चालु आर्थिक वर्षको विकास बजेट खर्च हुने क्रम बढेर गएको छ ।

विकास बजेट खर्च हुँदा सरकारी ढुकुटीमा रहेको पैसा बजारमा आउने अपेक्षा गरिन्छ । यसले पनि बजारमा क्रमशः सकारात्मक प्रभाव पार्ने अनुमान छ । नयाँ वर्ष लागेसँगै सेयर बजारमा चहलपहल बढ्न थालेको हो । यसबीचमा पुराना र नयाँ दुवै थरीका लगानीकर्ता सक्रिय भइरहेका छन् ।

बजारको ओरालो यात्रा समाप्त भएर अब क्रमशः माथितिर लाग्ने अपेक्षासहित लगानीकर्ता सेयर बजारमा आकर्षित भएका हुन् । अधिकांश कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सूचीकृत कम्पनीहरुको औसतमा नाफा राम्रो देखिएको छ । कमाई बढेकाले पनि लगानीकर्ता थप आशावादी भएका हुन् । 

त्यसो साढे २ वर्षभन्दा बढी अवधिसम्म ओरालो लागेको बजार सुधारका लागि सरकारले सकारात्मक पहलहरु गरेको छ । मार्जिन धितोकर्जाको सीमा वृद्धि, मार्जिन कलमा सहुलियत, बैंकहरुले प्राथमिक पुँजीको ४०% सम्म ऋण सेयर बजारमा लगानी गर्न पाउने लगायतका व्यवस्थाबाट लगानीकर्ता उत्साहित बन्न थालेका हुन् । 
 
पुँजी बजारमा लगानीकर्ताको मनोविज्ञानको प्रमुख भूमिका रहन्छ । लगानीकर्ता आशावादी हुन सकेमात्र सेयर बजारले गति लिन सक्छ । नेप्से सूचक बुधबार ५.५५ अंकले बढेर १३२१ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.४२% ले बढेको हो । १७२ कम्पनीको १ अर्ब ३३ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ४० लाख ४३ हजार १५७ कित्ता सेयर खरिदबिक्री भएका छन् । 


 
नेप्सेमा १२ वटा समूहको सेयर कारोबार भएकामा ६ वटा समूहका सूचक माथि लागेका छन् भने बाँकी ६ समूह तल झरेका छन् । विकास बैंक समूह सबैभन्दा धेरै २५.९९ अंकले बढेको छ । यता, वाणिज्य बैंक समूहको सूचक पनि ९.८६ अंकले माथि लागेको छ । 
 
कारोबार रकममा एनसीसी बैंकले अग्रस्थान लिएको छ । एनसीसीको १४ करोड ८२ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र शिवम् सिमेन्ट्स परेका छन् । यस दिन सबैभन्दा धेरै कमाउनेमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ता परेका छन् । यसैगरी, सबैभन्दा धेरै हिमालयन डिस्टिलरीका लगानीकर्ताले गुमाएका छन् । 
 
                        कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी 

 
 

Post Your Comment