बैंकहरु एकसाथ मर्जमा गए सेयर बजारमा समस्या, कारोबार रोक्का अवधि छोट्याउन माग

09 Jul,2019
  • merger_7_9_2019_4_15_13.jpg
नेपाली पैसा
 
काठमाडौं : मर्जर वा एक्विजिसन प्रक्रियामा जाँदा कारोबार रोक्का हुने समय घटाउन सरोकारवाला निकायले माग गरेका छन् । मौद्रिक नीतिका सम्बन्धमा राय–सुझाव लिन राष्ट्र बैंकले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै सरोकारवाला निकायले कारोबार रोक्काको समय घटाउन माग गरेका हुन् । उनीहरुले मर्ज वा एक्विजिसनमा जान बैंक तथा वित्तीय संस्थाले सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर गरेसँगै कारोबार रोक्का हुने हुँदा सेयर खरिदबिक्री गर्न लामो समय कुर्नुपर्ने प्रति असन्तुष्ट जनाएका छन् ।

नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीले स्वाप रेसियो निर्धारण भएपछि मात्रै कारोबार रोक्का हुने व्यवस्था गरिदिन राष्ट्र बैंकलाई सुझाव दिएका छन् । उनले भने, ‘एमओयू हुने बित्तिकै कारोबार रोकिने गरेको छ । यसलाई घटाएर स्वाप रेसियो निर्धारण भएपछि मात्रै कारोबार रोक्ने व्यवस्था ल्याउनु पर्छ ।’
 
त्यस्तै, नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले मर्जरका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्सान गरिरहँदा दोस्रो बजारमा त्यसले पार्ने असर पनि मूल्यांकन गर्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् । अध्यक्ष रानाभाटले पनि कारोबार रोक्काको समय घटाउन सुझाव दिएका छन् ।

उनले भने, ‘मर्जर/एक्विजिसनमा जान सम्झौता गरेका वित्तीय संस्थाको एकीकृत कारोबारको अघिल्लो दिन मात्रै कारोबार रोक्का गर्ने व्यवस्था गर्नु पर्छ ।’ अहिले कारोबार रोक्काको प्रकृयाले दोस्रो बजारको सेयर कारोबारमा भरी गिरावट आउने उनको तर्क रहेको छ ।
 
यता, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले मर्जर/एक्विजिसन गर्दा कारोबार लामो समयसम्म नरोक्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् । उनले भने, ‘मर्जर/एक्विजिसन गर्दा एक हप्ता भित्र कारोबार सञ्चालन गर्ने व्यवस्था गर्नु पर्छ ।’ उनले कारोबार लामो समयसम्म रोकिँदा लगानीकर्ताले आवश्यक परेको समयमा सेयर बेच्न नपाएको गुनासो राष्ट्र बैंक समक्ष गरेका छन् ।
 
पछिल्लो समय मर्जर/एक्विजिसन कारण ग्लोबल आइएमई बैंक, जनता बैंक नेपाल, कैलाश विकास बैंकलगायतका बैंक तथा वित्तीय संस्थाको कारोबार रोकिएको छ । 

Post Your Comment