Market Closed

सेयर बजार सुस्त हुने क्रम जारी, किन बढ्न सकेन नेप्से ?

10 Jul,2019
  • bull_or_bear_s_7_10_2019_3_25_14.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार सुस्त हुने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । लगानीकर्ताले मसान्तमा तिर्नुपर्ने साँवा र ब्याज भुक्तानीका लागि पैसा जोहो गरिसकेका छन् । असार २५ पछि बजार विस्तारै माथि लाग्ने आम लगानीकर्ताको अपेक्षा रहे पनि नेप्से भने खासै माथि जान सकेको छैन । लगानीकर्ताले मौद्रिक नीति पर्खिरहेका छन् । मौद्रिक नीतिमा बैंक मर्जरको नीति आउने केन्द्रीय बैंकले बताइरहेको छ ।

यसबाट लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा लागेको अनुमान गर्न सकिन्छ । कुन–कुन बैंक मर्जमा जान्छन् भन्ने अन्योल रहेकाले पनि लगानीकर्ताले उत्साहित भएर सेयर कारोबार गर्न सकेका छैनन् । मर्जमा जाँदा सेयर कारोबार रोकिने भएकाले धेरैमा दुविधा बढेको छ । केन्द्रीय बैंकले असार अन्तिम साता मौद्रिक नीति जारी गर्ने भने पनि अहिलेसम्म मिति यकिन हुन सकेको छैन । 
 
असार बैंकहरुले नयाँ कर्जा खासै प्रवाह नगर्ने भएकाले पनि सेयर बजारमा केही दबाब पर्न गर्छ । तर, अर्कोतिर सरकारी खाताबाट विकास निर्माणको भुक्तानी बापत बैंकिङ प्रणालीमा पैसा आउने भएकाले तरलता सहज हुने अनुमान भइरहेको छ । तर बजारले भने यस अनुसार आफ्नो प्रतिक्रिया देखाउन सकेको छैन । 
 
यद्दपि, बजार निरन्तर घट्ने मात्र गर्दैन् भनेर लगानीकर्ताले विश्लेषण गर्न जरुरी छ । एक महिना भन्दा लामो अवधिदेखि बजार निरन्तर घटिरहेको छ । लगातार घट्दा अधिकांश कम्पनीको भाउ निकै सस्तो भएको छ । भाउ सस्तो हुँदै गएपछि आधारभूत पक्ष अध्ययन गर्नेहरुले लगानी बढाउन सक्छन् । यसले सेयर बजारमा विस्तारै सकारात्मक प्रभाव देखिन सक्छ । 


 
नेप्से सूचक १.१२ अंकले घटेर १२४९.१५ विन्दुमा आइपुगेको छ । १६८ कम्पनीको ५७ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । २९ लाख ९८ हजार ९४७ कित्ता सेयर खरिदबिक्री भएका छन् । ११ वटा समूहको सेयर कारोबार भएकामा ३ समूहका सूचक बढेका छन् भने बाँकी समूह राता भएका छन् । वाणिज्य बैंक समूहको सूचक १.७८ अंकले बढेको छ ।
 
कारोबार रकममा सिभिल बैंक संस्थापक सेयरले अग्रता लिएको छ । यसको १७ करोड ५३ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नागरिक लगानी कोष र नेपाल बैंक परेका छन् । सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९.८१% का दरले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता परेका छन् । यसको भाउ ९.६७% ले घटेको हो । 

Post Your Comment