Market Closed

आइपीओ, हकप्रद र ऋणपत्र १४ अर्बको पाइपलाइनमा तर रेटिङ आयो यस्तो

10 Jul,2019
  • credit-rating_7_10_2019_6_20_26.jpg
समिर गौतम 
 
काठमाडौं : पुँजी बजारका लगानीकर्तालाई अर्बै रुपैयाँको आइपीओ, हकप्रद र ऋणपत्रमा लगानी गर्ने अवसर जुर्ने भएको छ । तर यतिबेला नेपाल धितोपत्र बोर्डमा निष्कासन अनुमति मागेका अधिकांश कम्पनीहरुको आइपीओ र हकप्रद सेयरले भने कमजोर रेटिङ पाएका छन् । बोर्डमा यतिबेला विभिन्न ८ कम्पनीले आइपीओ, ७ ले हकप्रद र ४ वटाले ऋणपत्र बिक्रीका लागि अनुमति मागेका छन् । तर आइपीओ अनुमति माग्ने अधिकांश कम्पनीले औसत भन्दा कमजोर आधार जनाउने रेटिङ पाएका छन् ।

शुभम् पावर र मैलुङ खोला जलविद्युतको आइपीओ कमजोर रेटिङका कारण आउने वा नआउने भन्ने अन्योल छ । यद्दपि, यी दुवै कम्पनीको आइपीओ अहिले पनि पाइपलाइनमा छन् । यी दुई वटै कम्पनीको आइपीओले कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ पाएका छन । तर धितोपत्र बोर्डको पछिल्लो निर्देशन अनुसार ५ रेटिङ पाएका कम्पनीले आइपीओ जारी गर्न पाउँदैनन् ।

 
यस्तै, हकप्रदका लागि आवेदन दिएका अधिकांश कम्पनीहरुको रेटिङ पनि औसत भन्दा कमजोर नै देखिएको छ । २ वर्ष भन्दा अगाडि हकप्रदका लागि आवेदन दिएको श्री राम सुगर मिल्सले कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ पाएको छ । यस्तै, अन्य कम्पनीको हकप्रदले पनि औसत भन्दा कमजोर आधार जनाउने ग्रेड ४ रेटिङ पाएका छन् ।

 
यता, ४ वटा बैंकले ऋणपत्र जारी गर्न अनुमति मागेका छन् । ऋणपत्रहरुले भने औसतमा लगानीका लागि सुरक्षित रहेको जनाउने रेटिङ पाएका छन् । तर ऋणपत्रमा भने लगानीकर्ताको चासो बढ्न सकेको छैन । कमजोर रेटिङ भएका आइपीओ र हकप्रद भन्दा ऋणपत्र लगानीका लागि सुरक्षित रहने भएपनि सर्वसाधारण लगानीकर्ताको ध्यान जान सकेको छैन । 
 
रेटिङ कमजोर भएका आइपीओ समेत ओभर सब्स्क्राइब भइरहँदा ऋणपत्रमा सर्वसाधारणको लगानी न्यून हुने गरेको छ । अहिले धितोपत्र बोर्डमा १४ अर्ब २२ करोड ४४ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको आइपीओ, हकप्रद र ऋणपत्रमा पाइपलाइनमा रहेका छन् । 
 

Post Your Comment