सगरमाथा र ग्लोबल आइएमईले लगानीकर्तालाई दिए हदैसम्मको दुःख

11 Jul,2019
  • tax-chase_7_11_2019_12_52_18.jpg
नेपाली पैसा
 
काठमाडौं : सगरमाथा इन्सुरेन्सले बोनस सेयरका नाममा लगानीकर्तालाई हदैसम्मको सास्ती दिने काम गरेको छ । सगरमाथाले जति आकर्षक बोनस प्रस्ताव गरेको छ, त्यो भन्दा कयौं गुणा बढी दुःख लगानीकताई दिइरहेको छ । लगानीकर्तालाई हण्डर खुवाउने यो काममा सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड पनि साक्षी बसेको छ । कम्पनीले आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट लगानीकर्तालाई ८६% बोनस सेयर दिएको हो । यो बोनसमा लाग्ने कर तिर्न नगद लाभांश दिएको छैन ।

यसबाट सुरुमै कम्पनीले आम लगानीकर्तालाई दुःख दिने नियत राखेको प्रष्ट हुन्छ । यतिमात्र कहाँ हो र ? सगरमाथा इन्सुरेन्स र यसको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलले संयुक्त सूचना जारी गरेर बोनसमा लाग्ने कर ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाको खाता नं ०१०१०१०००५२६४ मा जम्मा गर्न भनेका छन् । यसर्थ, लगानीकर्ताले ग्लोबल आइएमई बैंकका जुनसुकै शाखाबाट पनि यो खाता नम्बरमा कर बापतको रकम जम्मा गर्न सक्ने देखिन्छ । यसमा खासै समस्या देखिएन ।

तर यहाँ अर्को अचम्मको विषय के छ भने यसरी बैंकमा गएर रकम तिरेपछि लगानीकर्ताले फेरि कर तिरेको सक्कल भौचर बुझाउन सगरमाथा इन्सुरेन्सको प्रधान कार्यालय नक्साल वा सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमल, काठमाडौंमै पुग्नुपर्ने हुन्छ । अब यो सूचना अनुसार धनगढी, विराटनगर, महेन्द्रनगर वा देशका कुनाकाप्चामा रहेका लगानीकर्ताले समेत कर तिरेको सक्कल भौचर बुझाउन काठमाडौं नै आउनुपर्ने भयो ।

यसरी काठमाडौंसम्म आएर सक्कल भौचर बुझाएपछि मात्र लगानीकर्ताको डिम्याट खातामा सेयर पठाउने कार्य सुरु हुनेछ । अब भन्नुहोस्, लगानीकर्ताका लागि यो भन्दा ठूला दुःख र पीडा अरु के हुन सक्छ ? यता, सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलले राजधानी बाहिरका लगानीकर्ताले इमेलमा पनि सक्कल भौचर पठाउन सक्ने दाबी गर्छ । त्यसो भए सूचनामा खोई लेखेको ? इमेल ठेगाना कुन हो ? कहाँ पठाउने ? प्राप्त भए नभएको जानकारी लगानीकर्ताले कसरी पाउने भनेर ? यसको उत्तर सेयर रजिष्ट्रार र कम्पनी दुवैसँग छैन । यसअघि ग्लोवल आइएमई बैंक, सिद्धार्थ इन्सुरेन्स लगायत दर्जनौं कम्पनीले पनि कर तिर्न नगद नदिएर लगानीकर्तालाई सास्ती दिएका थिए । 

एकातिर सेयर बजार पूर्ण डिजिटल प्रणालीमा गएको भनिंदैछ । लगानीकर्ताले घरमै बसेर अनलाइनका माध्यमबाट सेयर खरिदबिक्री गर्न सक्ने भए भनेर बारम्बार भाषण गरिंदैछ । सेयर किनबेच गरेको रकम समेत अनलाइनबाट भुक्तानी गर्न र पाउन सक्ने भइसकेको छ । अर्कोतिर कतिपय सूचीकृत कम्पनी र ती कम्पनीको सेयर रजिष्ट्रारको काम गर्ने जिम्मेवारी लिएका संस्थाहरुले लगानीकर्तालाई नियतबश दुःख दिने काम गरिरहेका छन् । 

 लगानीकर्तालाई अनावश्यक सास्ती दिने काम गरिरहँदा पनि नियामकको जिम्मेवारी लिएको नेपाल धितोपत्र बोर्ड भने टुलटुल हेरेर बसिरहेको छ । यसमा बजार सञ्चालक नेप्से र सीडीएसले पनि लगानीकर्ताका पक्षमा कुनै काम गर्न सकेको देखिंदैन ।

विगतमा पनि पटकपटक दर्जनौं कम्पनीले बोनस सेयरका नाममा लगानीकर्तालाई यसरी नै हैरानी दिएका थिए । त्यसमा सञ्चार माध्यमले पटकपटक आवाज उठाए पनि यो समस्याको अहिलेसम्म समाधान गर्न नियामकले साहस देखाएको छैन । नियामक चुपचाप बसेपछि कम्पनीहरुले सोझासाझा लगानीकर्तालाई शोषण गर्न पाएका हुन् । धितोपत्र बोर्डबाट तत्काल निर्देशन नआउने हो भने यो प्रवृत्ति फेरि पनि दोहोरिरहनेछ । अनि, लगानीकर्ताले यसरी नै वर्षौंसम्म दुःख पाइरहनेछन् । कठै हाम्रो पुँजी बजार !
 
 
 

Post Your Comment