सेयर बजार किन पर्दैछ निरन्तर दबाबमा ?

11 Jul,2019
  • bul_news_bear_7_11_2019_3_21_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारले दबाब खेप्ने क्रम बिहीबार पनि दोहोरिएको छ । बजार लगातारजसो तल झर्न थालेको पनि झन्डै डेढ महिना हुन लागेको छ । बजेटपछि निरन्तरजसो बजार घट्ने क्रममा छ । पुँजी बजार सुधारमा बजेट उल्लेख योगदान पुर्याएको भन्दै लगानीकर्ताका संगठनहरुले त्यतिबेला प्रशंसा गरेका थिए । यही बजेटलाई बाहना बनाएर कतिपयले त्यही बेला सेयर बेचेका थिए । तर त्यसपछि उनीहरु बजारमा दरिलो ढंगले प्रवेश नगरेपछि नेप्से सूचक दबाबमा परेको हो । सेयर बजार घटिरहेका बेला म्युचुअल फन्डहरुले पनि कुनै योगदान पुर्याउन सकेका छैनन् ।

बजार बढ्दा बेच्ने र अस्वभाविक माथि जानबाट रोक्ने अनि निरन्तर घटेका बेला किनेर बजारलाई स्थायित्व दिनुपर्ने जिम्मेवारी बोकेका म्युचुअल फन्डहरुको भूमिका कत्ति पनि प्रभावकारी देखिएको छैन । त्यसो त बजारको आकार निकै ठूलो भइसकेकाले म्युचुअल फन्डहरुले २–४ अर्बको सेयर किन्दैमा माथि लाग्न नसक्ने भनेर कतिपय कोष सञ्चालकहरुले दाबी गर्दै आएका छन् । तर उनीहरुले आफ्नो भूमिका निर्वाह गर्न नसकेको भने सत्य हो । बजारको विकासमा भूमिका निर्वाह गर्ने भएकैले म्युचुअल फन्डलाई आइपीओ आरक्षण, करमा छुट दिइएको हो । 
 
साउन लाग्ने बित्तिकै सूचीकृत कम्पनीहरुको वार्षिक वित्तीय विवरण आउन थाल्नेछ । अधिकांशले नाफा कमाउने तेस्रो त्रैमाससम्मको तथ्यांकले संकेत गरिसकेको छ । यसर्थ, लगानीकर्ता आत्तिहाल्नुपर्ने अवस्था नरहेको विश्लेषकहरुको भनाई छ । वित्तीय विवरणपछि लाभांश घोषणा र साधारण सभा गर्ने समय आउने भएकाले यो बेलालाई सेयर बजारको सिजनका रुपमा लिइन्छ । तर व्यवहारमा अहिलेसम्म बजारमा सिजनको प्रभाव भने देख्न सकिएको छैन । 
 
पुँजी बजारमा एक–दुई वटा जल्दाबल्दा विषयबाहेक नीतिगत र कानुनी बाधा–अड्चन खासै देखिएको छैन । अधिकांश कम्पनीहरुको भाउ तुलनात्मक रुपमा सस्तो देखिन्छ । यसर्थ, दीर्घकालीन लगानीकर्ताका लागि अहिले राम्रो अवसर हुन सक्छ । सेयर बजार तलमाथि भइरहन्छ । यो बजारको सामान्य नियम हो । लगानीकर्ताले समग्र सूचक भन्दा पनि कम्पनीहरुको वित्तीय विवरण अध्ययन गरेर लगानी गर्नुपर्छ । 


 
नेप्से सूचक ०.६२ अंकले घटेर १२४८.५३ विन्दुमा आइपुगेको छ । १७२ कम्पनीको ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १६ लाख ५४ हजार २५१ कित्ता सेयर खरिदबिक्री भएका छन् । जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै २४.४ अंकले घटेको छ । यता, वाणिज्य बैंक समूहको सूचक भने १.९ अंकले बढेको छ । ११ वटा समूहको कारोबार भएकामा बैकिङ र हाइड्रोपावर बाहेक बाँकी सबै समूह घटेका छन् । 
 
कारोबार रकममा नेपाल बैंक अग्रस्थानमा छ । यसको ५ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रोमा क्रमशः शिवम् सिमेन्ट्स र सिभिल बैंक परेका छन् । यस दिन सबैभन्दा धेरै नाडेप लघुवित्तका लगानीकर्ताले ४.७३% का दरले कमाएका छन् । सबैभन्दा बढी मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले ५.६७% ले गुमाएका छन् ।

 

Post Your Comment