Market Closed

काबेली करिडोर प्रसारण लाइन निर्माणमा ‘नियोजित अवरोध’ गरेको कुलमानको आरोप

11 Jul,2019
  • 1_7_11_2019_4_58_05.jpg
नेपाली पैसा
 
काठमाडौं : काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा ‘नियोजित अवरोध’ उत्पन्न भएको छ । आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एन्ड एष्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्स्ट्रक्सन कम्पनीले काममा लगाएका व्यक्तिहरुले निर्माण पाँच दिनदेखि अवरोध गरेका हुन् ।
 
भगवतीले प्रसारण लाइन निर्माणको पेटी ठेक्का लिएर स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई कामको जिम्मा दिएको थियो । तर भगवतीले काम गरेको पैसा नदिएपछि उनीहरुले अन्तिम चरणमा पुगेको प्रसारण लाइन निर्माणको काम अवरुद्ध पारेको बताइएको छ । प्रसारण लाइनको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्डमा पर्ने १३ किलोमीटर प्रसारण लाइनमा करिब दुई किलोमीटर मात्रै तार तान्न बाँकी छ ।
 
प्रसारण लाइनमा जोडिने जलविद्युत आयोजना प्रवद्र्धकले प्रसारण लाइनको आफैं पेटी ठेक्का लिएर नियोजित रुपमा निर्माणमा ढिलाई गरिदिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले भने, ‘प्राधिकरणले प्रसारण लाइनको निर्माण सक्ने तर आफ्नो निर्माण सकेर उक्त लाइनमा विद्युत जोड्न नसकी जरिवाना (पेनाल्टी) तिर्नुपर्ने अवस्था आएपछि उनीहरुले नियोजित रुपमा काममा अवरोध गरेको देखिन्छ ।’ 
 
साथै, उनले थपे, ‘बाहिर बाहिर प्राधिकरणले प्रसारण लाइन समयमा नबनउँदा बिजुली खेर जाने भयो भन्दै हल्ला गर्ने तर भित्र भने आफै पेटी ठेक्का लिने पेनाल्टीबाट बच्न नियोजित रुपमा काममा अवरोध गर्ने, यो भन्दा ठूलो अराजकता अरु के हुन्छ ?’ 
 
आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) खण्ड सञ्चालनमा आइसकेको छ । लखनपुर गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२÷३३÷११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा छन् । तेस्रो खण्ड असारभित्रमा संचालनमा ल्याउने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको थियो । 

Post Your Comment