Market Closed

असार अन्तिम दिन सेयर बजारमा चमक, नयाँ आर्थिक वर्षमा नेप्सेले गति लिने अपेक्षा

16 Jul,2019
  • bounce-back-failure_7_16_2019_3_20_02.jpg
नेपाली पैसा 
 
काठमाडौं : वर्षको अन्तिम दिनमा पुँजी बजारमा चमक आएको छ । असार महिनाको अन्तिम दिनको कारोबारले नयाँ आर्थिक वर्षलाई स्वागत गरेको छ । नयाँ आर्थिक वर्षमा बजारले नयाँ उचाई लिने अपेक्षामा लगानीकर्ता बसेका छन् । आर्थिक वर्षको अन्तिम दिन प्रायः बजारमा हरियाली आउने गर्छ । सामूहिक लगानी कोषहरुले न्याभ सुधार्न पहल गरेका हुन्छन् । यसैगरी, यस दिन बजार बढ्दा मार्जिन कलको त्रासबाट लगानीकर्ता जोगिन सक्छन् ।

जुनसुकै हिसाबले भए पनि बजार माथि जाँदा लगानीकर्तालाई राहत मिल्छ । बजेटपछि बजार निरन्तर तल झरेकाले नयाँ वर्षदेखि गति लिने धेरैको विश्लेषण छ । अब सूचीकृत कम्पनीहरुको वार्षिक वित्तीय विवरण पनि सार्वजनिक हुन थाल्छ । तेस्रो त्रैमाससम्मको तथ्यांकले औसतमा कम्पनीहरुको नाफा राम्रो हुने देखिएको छ । नाफा बढ्दा लगानीकर्ता आकर्षित हुन सक्छन् । 
 
अहिले लगानीकर्ताले मौद्रिक नीति कुरिरहेका छन् । मौद्रिक नीतिमा वाणिज्य बैंकहरुको मर्जरलाई प्राथमिकतामा राखिने केन्द्रीय बैंकले बताउँदै आएको छ । मर्जर नीति आएमा कुन बैंक को सँग मर्जमा जान्छ अनि कति समयसम्म कारोबार रोकिन्छ भन्ने अन्योलता जारी छ । यही अन्योलका कारण कतिपय लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहेका हुन् । मौद्रिक नीतिपछि यस विषयमा स्पष्ट खाका देखिने भएकाले त्यसपछि लगानीकर्ताको आत्मबल बढ्ने अनुमान छ । 
 
पुँजी बजार सुधारका कार्यक्रम अघि बढिरहेको छ । कानुनी र नीतिगत सुधारका काम पनि भइरहेको छ । ब्रोकरको शाखा विस्तार हुँदैछ । बैंकलाई ब्रोकर लाइसेन्स दिने काम पनि अघि बढ्दैछ । यसर्थ, बजार निरन्तर तल झर्नुपर्ने खास कारण देखिंदैन । यद्दपि, कर्जाको ब्याजदरले भने अझै पनि अपेक्षा अनुसार लगानीकर्ता आकर्षित गर्न सकेको देखिंदैन । 

 
नेप्से सूचक ४.४५ अंकले बढेर १२५९.०१ विन्दुमा आइपुगेको छ । १६१ कम्पनीको ३४ करोड ७२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ लाख ५६ हजार ६३० कित्ता सेयर खरिदबिक्री भएको छ । कुल ११ वटा समूहको सेयर कारोबार भएकामा सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै होटेल समूहको सूचकमा सुधार आएको छ । वाणिज्य बैैंक समूह पनि ४.१३ अंकले बढेको छ । 
 
कारोबार रकममा नेपाल बैंकले अग्रता लिएको छ । यसको ५ करोड ७८ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्सको संस्थापक सेयर र नबिल बैंक परेका छन् । 

 

Post Your Comment