Market Closed

सेयर कारोबार रकममा बन्दैछ यस्तो माहोल

13 Aug,2019
  • bear_sm_8_13_2019_3_12_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार सूचक सुस्त हुने क्रमले निरन्तरता पाइरहँदा खरिदबिक्री रकममा भने विस्तारै सुधार हुन थालेको छ । किन्ने र बेच्नेहरु बढ्दा बजारमा क्रमशः माहोल थपिने अपेक्षा गर्न सकिन्छ । सेयर बजार घट्न थालेको करिब साढे २ महिना भएको छ । अब साउन महिना पनि विस्तारै घर्किंदैछ । यसबीचमा सूचीकृत कम्पनीहरुले धमाधम चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।

औसतमा नाफा राम्रो देखिएको छ । केही कम्पनीले लाभांश समेत घोषणा गर्न थालेका छन् । साउन–भदौ सेयर बजारको प्रमुख सिजन हो । लाभांश घोषणा गर्ने समय भएकाले पनि सेयर बजारमा नयाँ उत्साह थपिने आशा गरिएको हुन्छ । तर यसपटक त्यस्तो हुन सकेको छैन । बजार अपेक्षा अनुसार गतिशील हुन सकेको छैन । 
 
सेयर बजार सुधारका कार्यक्रम अघि बढे पनि यसको सकारात्मक प्रभाव देखिएको छैन । तर अधिकांश कम्पनीहरुको भाउ सस्तो भइसकेकाले अब विस्तारै बजारले गति लिने अपेक्षामा लगानीकर्ता रहेका छन् । भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनामा देखिएको विवाद साम्य हुँदैछ । लगानीकर्ता ल्याप्चे लगाउन ब्रोकर कार्यालयसम्म धाउनुपर्ने प्रथा अन्त्य हुँदैछ ।

मार्जिन लेन्डिङ, बैंकलाई ब्रोकर लाइसेन्स लगायतका काम अघि बढ्दैछ । ब्रोकरको क्षमता वृद्धि र शाखा विस्तारका काम पनि अघि बढिरहेको छ । वित्तीय प्रणालीमा तरलता पनि सहज भएको छ । सुधारका यी तमाम कामबाट बजारले विस्तारै गति लिने अपेक्षा गरिएको छ । 


 
नेप्से सूचक मंगलबार २.७८ अंकले घटेर १२३१.०७ विन्दुमा अडिएको छ । १६५ कम्पनीको ४८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १८ लाख ९६ हजार ४५४ कित्ता सेयर खरिदबिक्री भएका छन् । नेप्सेमा कारोबार भएकामध्ये म्युचुअल फन्ड बाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । वाणिज्य बैंक समूहमा १.३१ अंकको ह्रास आएको छ । 
 
कारोबार रकममा माछापुच्छ«े बैंक अग्रस्थानमा छ । यसको १२ करोड ९६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै कमाउनेमा युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ता परेका छन् । यसको भाउ ७.६२% ले बढेको हो । अधिक गुमाउनेमा एनएलजि इन्सुरेन्सका लगानीकर्ता छन् । यसको भाउ ३.७२% ले घटेको हो । 

 

Post Your Comment