Market Closed

२२२ स्थानीय तहमा पुग्यो ९०% बिजुली पहुँच, प्रदेश ३ मा सबैभन्दा बढी

22 Aug,2019
  • nea_a_8_22_2019_2_46_35.jpg
नेपाली पैसा 
 
काठमाडौंं : मुलुकभरका ७५३ स्थानीय तहमध्ये २२२ मा ९० प्रतिशभन्दा बढी विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाहरुको वडासम्मको विस्तृत अध्ययन गरी सार्वजनिक गरेको विद्युतीकरण तथ्याङ अनुसार ११७ स्थानीय तहमा भने विद्युतीकरण ५ प्रतिशत भन्दा कम छ । केही स्थानीय तहमा विद्युत् पुगेकै छैन । प्राधिकरणले आफ्नो ३४ औं वार्षिकोत्सवको अवसरमा विद्युतीकरण तथ्यांक समेटिएको पुस्तक सार्वजनिक गरेको थियो । 
 
५५ स्थानीय तहमा ५ देखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । १०६ स्थानीय तहमा ३५ देखि ६५ प्रतिशत र २५३ मा ६५ देखि ९० प्रतिशतसम्म  विद्युतीकरण भएको छ । हालसम्म कुल जनसंख्याको करिब ७८ प्रतिशतमा राष्ट्रिय प्रणालीको विद्युत पुगेको छ । कुल जनसंख्याको करिब २२ प्रतिशतले अझै राष्ट्रिय ग्रीडको विद्युत् प्रयोग गर्न पाएका छैनन् । सरकारले २०७९ (सन् २०२२) भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्याउने र ४ वर्ष भित्रमा प्रतिव्यक्ति विद्युत खपतलाई ७०० युनिट  पु¥याउने लक्ष्य राखेको छ ।

यसका लागि ग्रीड पुर्याउन सम्भव नहुने स्थानहरुमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु उर्जाको उपयोग गर्ने सरकारको योजना छ । हरेक नेपालीको पहुँचमा विद्युत पुर्याउने सरकारको लक्ष्य पूरा गर्न र उपभोक्तालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भवः प्रयास गरिएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 



‘यसका लागि मुलुकभर नै पर्याप्त विद्युत प्रसारण तथा वितरण संजालको विस्तार योजनाबद्ध रुपमा अगाडि बढाएका छौं’, उनले भने, ‘अब स्थानीय तहलाई क्रमिक रुपमा सतप्रतिशत विद्युतीकरण भएको घोषणा कार्यक्रम अभियानकै रुपमा चलाउनेछौं ।’ प्राधिकरणले राष्ट्रिय ग्रीड नपुगेका रुकुम पूर्व, कालिकोट, बाजुरा र जुम्लामा चालु आर्थिक वर्षभित्रमा पुर्याउने लक्ष्य राखेको छ । आगामी २ वर्ष भित्रमा डोल्लालाई र त्यसपछि हुम्लालाई राष्ट्रिय विद्युत् प्रणालीमा आवद्ध गर्ने गरी काम अगाडि बढेको घिसिङले बताए ।  
 
४६० गाउँपालिका मध्ये १०३ मा  ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको छ । प्रदेश नम्बर १ का २३, प्रदेश नं ३ तथा गण्डकीका ६÷६, प्रदेश नं ५ का ७, कर्णालीका ३७ र सुदूरपश्चिमका २४ गाउँपालिकामा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको हो । ४७ गाउँपालिकामा ५ देखि ३५ प्रतिशत र ७१ मा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । १४२ गाउँपालिकामा ६५ देखि ९० प्रतिशतसम्म र ९७मा ९० देखि सतप्रतिशतसम्म विद्युतीकरण भएको छ । 
 
महानगर, उपमहानगरसहित २९३ नगरपालिकामध्ये १४ वटामा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको छ । यसमा कर्णाली र सुदूरपश्चिम प्रदेशका क्रमश: ६ र ८ नगरपालिका छन् । यसैगरी ८ नगरपालिकामा ५ देखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ भने ३५ नगरपालिमा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ ।



५ देखि ३५ प्रतिशतसम्म विद्युतीकरण हुनेमा पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका क्रमशः ७ र १ नगरपालिका हुन् । ३५ नगरपालिकामा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । १११ नगरपालिकामा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको छ भने  १२५ नगरपालिकामा ९० देखि सतप्रतिशतसम्म विद्युतीकरण भएको छ । 
 
प्रदेश नं ३ मा सबैभन्दा बढी अर्थात ९०.३० प्रतिशत विद्युतीकरण भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम २७.०३ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । गण्डकी प्रदेशमा ८७.३९, प्रदेश नं ५मा ८१.०३, प्रदेश नं २ मा ७९.७७, प्रदेश नं १ मा ७५.९० र सुदूरपश्चिम प्रदेशमा ५८.९० प्रतिशत विद्युतीकरण भएको छ । 
 

Post Your Comment