Market Closed

सफलता कसरी हात पार्ने ? अर्बपति ज्याक मा का १० मन्त्र पढ्नुहोस्

14 Sep,2019
  • jack_ma_img_1_s_9_14_2019_9_00_30.jpg
दीपक शर्मा 
 
काठमाडौं : विश्वमा सफल बिजनेसम्यान मध्येका एक हुन् अलिबाबाका संस्थापक ज्याक मा । हालैमात्र कार्यकारीको जिम्मेवारीबाट बाहिरिएका उनको जन्म सन् १९६४ सेप्टेम्बर १० मा हंगजोहौ, जहजिंग, चीनमा भएको हो । उनी उद्यमी राजनीतिज्ञ र समाजसेवी पनि हुन् । ज्याकको सम्पति करिब ४२ अर्ब डलर रहेको छ । उनी अहिले २० औं विश्वधनीको सूचीमा स्थापित छन् भने एसियाको दोस्रो सबैभन्दा धनीमा पर्छन् । सन् २०१९ मार्चको अन्त्यसम्म अलिबाबा ग्रुपमा १ लाख २ हजार भन्दा बढी कर्मचारीहरु रहेको एक तथ्यांकले देखाएको छ । केही दिन अघिसम्म यी सबैको उनले नै नेतृत्व गरेका थिए । 
 
ज्याक माका आमाबाबुले परम्परागत गीत गाउने, कथा सुनाउने काम गर्थे । ज्याकलाई सानैदेखि अंग्रेजी सिक्ने इच्छा थियो । अंग्रेजी सिक्नकै लागि उनी प्रायः विदेशी नागरिक आउने ठाउँमा बिहानै पुग्दथे । फुर्सदको समयमा उनले विदेशी नागरिकहरुलाई निःशुल्क सहर घुमाइदिन्थे । यसो गर्दा उनलाई अंग्रेजी अभ्यस्त हुन सहयोग पुग्दथ्यो । उनले ९ वर्षसम्म यही काम गरे । ज्याकको चिनियाँ नाम मायून थियो । विदेशी पर्यटकलाई उनको नाम चिनियाँ भाषामा उच्चारण गर्न र लेख्न गाह्रो हुन्थ्यो । यही दौरानमा ज्याको एक जना विदेशीसँग घनिष्ट मित्रता कायम भयो । ती विदेशीले नै उनको नाम ज्याक राखिदिएका थिए । 

ज्याक माको पढाईमा पनि निकै उतार चडाव आयो । प्राथमिक विद्यालयमा उनी दुई पटकसम्म फेल भएका थिए । जब माध्यमिक विद्यालय पुगे पुनः उनी फेल भए । यो समयमा एक पटक होइन ३ पटकसम्म फेल भएका थिए । जसोतसो विद्यालय तह उनले पूरा गरे । विश्वविद्यालयमा अध्ययन गर्न पूर्वपरीक्षा दिंदा पनि फेल भए । करिब १० पटक उनले हार्वड विश्वविद्यालयमा आवेदन दिए तर त्यहाँ पनि उनी असफल नै रहे । 
कतै पनि सफल नभएपछि हंगजोहौ टिचर्स इन्स्टिच्युटमा भर्ना भए र सन् १९८८ मा अंग्रेजी विषयमा स्नातकसम्म अध्ययन गरे ।

यस दौरान, उनी विद्यार्थी परिषद्का अध्यक्ष समेत भए । स्नातकको पढाइपछि सन् १९८८ देखि १९९३ सम्म हंगजोहौ विश्वविद्यालयमा अंग्रेजी र अन्तर्राष्ट्रिय व्यापार विषयको लेक्चरर समेत बने । ज्याकको करियर सुरुवात निकै चुनौतीपूर्ण रह्यो । उनले ३० वटा अलग–अलग ठाउँहरुमा रोजगारीका लागि आवेदन गरे तर हरेकपल्ट उनलाई निराशा नै हात पर्यो । ज्याक माले सबैभन्दा पहिला प्रहरीको जागिरका लागि आवेदन गरेका थिए । तर त्यहाँ पनि उनलाई जागिरमा बोलाइएन ।

 
समय बित्दै गयो, शहरमा पहिलो पटक केएफसी आयो । उनले त्यहाँ पनि जागिरका लागि आवेदन दिएका थिए । जम्मा २४ जना कर्मचारी माग भएका केएफसीमा २३ जनालाई नियुक्त गर्यो कम्पनीले तर एक मात्र ज्याकले जागिर पाएनन् । यस्तै, घट्नाहरुबाट थाहा हुन्छ कि ज्याकको जीवनको सुरुवात कति कठिन र चुनौतीपूर्ण रह्यो भनेर ।
 
सबैतिर असफल भएपछि अन्तिममा उनले व्यापारमा हात हाले तर सुरुमा त्यहाँ पनि २ पटकसम्म असफल भए । यस्तै असफलताहरुले उनलाई जीवनमा धेरै कुरा सिकायो । जतिपटक असफल भए पनि उनले कहिल्यै हरेश खाएनन् । एकपटक  सफल भएरै छाड्ने प्रतिबद्धता उनले लिइरहे । यही संघर्षकै क्रममा उनले सन् १९९८ मा अलिबाबा सुरु गरे ।
 
सन् १९९४ मा ज्याकले पहिलो पटक इन्टरनेट को नाम सुने । सन् १९९५ मा साथीको सहयोगबाट अमेरिका पुगे र त्यहाँ उनले पहिले पटक इन्टरनेट देखे । ज्याकले यस भन्दा पहिले कहिल्यै पनि इन्टरनेट चलाएका थिएनन् । जब पहिलो पटक इन्टरनेट चलाए उनले अंग्रेजीमा बियर शब्द खोजेका थिए । उनले बयरसँग सम्बन्धित धेरै जानकारी विभिन्न वेबसाइटहरु बाट पाए । तर उनले चिनियाँ भाषमा बियरको जानकारी नपाएपछि फेरि अचम्मित भए । उनले चिनियाँ भाषाहरुका बारेमा खोज अनुसन्धान गरे । तर , फेरि पनि उनले इन्टरनेटमा चिनियाँ भाषा बारे केही पनि पाएनन् । उनी छक्क परे । 
 
आफ्नो देशको जानकारी इन्टरनेटमा नपाउँदा ज्याक मा धेरै दुःखी पनि भए । उनलाई चीन प्रविधि क्षेत्रमा अन्य देशको तुलनामा निकै पछि परेको महसुस भयो । ज्याकले अमेरिकी साथीसँग मिलेर चीनको जानकारी भएको पहिलो बेवसाइट अग्ली ग्न्ीथ् बनाए । यो वेबसाइट बनाएको केही समयमै पनि नबित्तै एक चिनियाँको इमेल आयो । यसले ज्याकलाई इन्टरनेटको शक्ति महशुस भयो र इन्टरनेट नै प्रयोग गरेर केही गर्न आत्मविश्वास पनि जगायो । 

 
अलिबाबा कम्पनी : यसरी भयो सुरुवात
 
केही दिनको आफ्नो काम सकेर उनी चीन फिर्ता आए । ज्याक, उनकी पत्नी र साथी मिलेर २० हजार डलर जम्मा गरेर कम्पनी सुरु गरे । यस कम्पनीकोे मुख्य काम बेवसाइट बनाउने थियो । कम्पनीको नाम चाइना एल्लो पेजेस् राखे । तीन वर्षमै कम्पनीले ८ लाख डलर कमायो । 
 
ज्याक ३३ वर्षको हुदाँ पहिलो कम्प्युटर किने । सन् १९९८ देखि १९९९ सम्म ज्याकले चाइना इन्टरनेसनल इलेक्ट्रोनिक कमर्स सेन्टरले स्थापना गरेको एक आइटी कम्पनीमा अध्यक्षको कार्यभार निभाए । यस कम्पनीमा २ वर्ष सम्म काम गरे पछि उनी पुनः आफ्नै कम्पनीमा फिर्ता भए । फिर्ता भएसँगै १७ जना साथी मिलेर बी टु बी वेबसाइट बनाए । उक्त बेवसाइटको नाम ‘अलिबाबा’ राखे ।

सुरु–सुरुका दिनहरुमा कम्पनीको कार्यालय आफ्नै अपार्टमेन्टमा राखे । ५ लाख युवानबाट सुरु गरेको यस कम्पनीको अहिले २४० देशमा ७ करोड ९० लाख उपभोक्ता छन् । चिनियाँ जनतामाझ विश्वास जितेपछि ज्याकले अलिबाबालाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराएका थिए । ज्याक मा लाई केही गरेर देखाउने तीब्र चाहना थियो । उनी जहिले पनि नयाँ कुरा सिक्न चाहन्थे । ठूलो सपना देख्दथे । यसैको परिणामा स्वरुपः अहिले उनी यो स्थानमा छन् । 
 
अक्टोबर १९९९ र जनवरी २००० मा गरी दुई पटकसम्म उनले २ करोड ५० लाख डलर बराबर इन्टरनेसनल भेन्चर क्यापिटल इन्भेष्टमेन्ट हात पारेका थिए । उनी आफ्नो देशको इ कमर्स मार्केटमा सुधार गर्न चाहन्थे । साना र मध्यम वर्गका व्यवसायलाई विश्वसामु ल्याउन खोजे । ग्लोबल इ कमर्स सिस्टम सुधार्न ज्याकले टाओबओ मार्केट प्लेसको स्थापना गरे । यसको बढ्दो प्रभावसँगै इबेले कम्पनी किन्ने अफर पनि गरेको थियो । ज्याकले इबेको प्रस्ताव स्वीकारेनन् । सन् २००५ मा याहुको नजर अलिबाबामा पर्यो । याहुले अलिबाबाको ४०% सेयर किन्यो । 
 
सन् २००७ तिर हङकङमा अलिबाबा ग्रुपले करिब १ अर्ब ७ करोड डलर आइपीओबाट जम्मा गर्यो । सन् २०१४ सेप्टेम्बर १८ तारेखमा अलिबाबाले पुनः न्यू योर्क स्टक एक्सचेन्जमा प्रतिकित्ता ६८ डलरमा आइपीओ खुलाएको थियो । त्यसबेला करिब २१ अर्ब ८ करोड डलर आइपीओबाट जम्मा भयो । यो इतिहासकै ठूलो आइपीओ समेत भन्ने गरिएको छ । गुगल, फेसबुक र ट्विटर तीवटैलाई एक ठाउँमा राख्दा पनि अलिबाबाको आइपीओ र रकम धेरै हुने एजेन्सहरुले लेखेका छन् । 
 
सन् २०१४ सेप्टेम्बर १९ तारेखमा न्यूयोर्क स्टक मार्केटमा अलिबाबाको प्रतिकित्ता ९२.७० डलरमा कारोबार भयो । कम्पनीले फेरि विशेष व्यवस्था गर्दै पुनः १५% सेयर सर्वसाधारणमा जारी गर्यो । यस लगत्तै कम्पनीको पुँजी २५ अर्ब डलर पुग्यो । अहिले अलिबाबा टेक दुनियाँको अत्यत्त ठूलो कम्पनीमध्ये एक बनेको छ । ज्याक मा अलिबाबाका साथै अन्य कम्पनीहरु टाओबाओ मार्केट प्लेस, टीमल, इटाओ, अलिबाबा क्लाउड कम्प्युटिङ, जुहुवासन, १६८८ डट कम, अलिएक्सप्रेस डट कम, अलिपे लगायतमा आवद्ध छन् ।





ज्याक मा को निजी जीवन 

ज्याकले जेङयिङसँग बैवाहिक सम्बन्धमा छन् । उनीहरुको एक छोरा र एक छोरी छन् । ज्याकले हंगजोहौ विश्वविद्यालयमा पढ्दै गर्दा जेङयिङसँग भेट भएको थियो । सन् १९८० को दशकमा स्नातक सकिने बित्तिकै बिवाह गरेका हुन् । 
 
(एजेन्सीहरुको सहयोगमा) 
 

Post Your Comment