Market Closed

नोटको जतन कसरी गर्ने, नगरे के कारवाही हुन्छ ?

07 Oct,2019
  • New-Notes_10_7_2019_11_54_30.jpg
इशारा कोइराला
 
काठमाडौं : प्रत्येक वर्ष दशैंले विश्वभर फैलिएका नेपालीहरुमा नयाँ उल्लास बोकेर आउने गरेको छ । दशैंको धार्मिक तथा सांस्कृत पाटोसँगै आर्थिक पाटोले पनि महत्वपूर्ण स्थान पाएको छ । वर्षभरीमा दशैंकै बेला अर्थतन्त्र सबैभन्दा बढी चलायमान हुने गरेको छ । योसँगै दशैं भन्ने बित्तिकै नयाँ लुगा र नयाँ नोट नेपालीको मस्तिष्कमा घुम्ने गरेको छ ।
 
खासगरी दशैंमा आफूभन्दा ठूलाले टीका, जमरा र आशिर्वादसँगै आफन्तलाई दक्षिणाका रुपमा नयाँ नोट दिने प्रचलन रहेको छ । नेपाल राष्ट्र बैंकले पनि दशैं, तिहार, छठलगायतका ठूला चाडवार्डलाई लक्षित गर्दै नयाँ नोट वितरण गर्छ । केन्द्रीय बैंकले नयाँ नोट छाप्न वर्षैनी अर्बौं रुपैयाँ खर्च गर्छ । राष्ट्र बैंकका अनुसार ५, १०, २०, ५० र १०० का नोट छपाउँदा प्रतिनोट औसत १ रुपैयाँ ६५ पैसा लागत पर्छ । त्यस्तै, ५०० र १००० का नोट छपाउँदा प्रतिनोट औसत २ रुपैयाँ ६४ पैसा लागत पर्छ । तर यो लागत महँगो हुँदै गएको छ । हालै चिनियाँ कम्पनीले १ हजार रुपैयाँ नोटको छपाईका लागि पाएको टेन्डरअनुसार एक हजारको प्रतिनोट छपाई लागत ३ रुपैयाँ ३७ पैसा पर्ने भएको छ ।
 
कति हुन्छ नोटको आयु ?
नयाँ नोट देख्दा सानाठूला सबै व्यक्तिको मन खुशी हुन्छ । तर, खुशी पार्ने नोटलाई जतन गर्नतर्फ हाम्रो ध्यान जादैंन । यसले गर्दा हाम्रो नोटको आयु औषत आयुभन्दा छोटिंदै गएको छ । समान्यतयाः नेपाली नोटहरुको आयु औसतमा ६ वर्ष रहेको नोट छपाई चक्रले देखाएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार ठूला नोट अर्थात ५ सय र १ हजार रुपैयाँ दरका नोटको आयु औसतमा ६ वर्ष हुने गरेको छ । सय रुपैयाँका नोटको आयु औसतमा ३ वर्ष र ५० रुपैयाँ भन्दा साना नोटको आयु २ वर्ष रहेको छ । तर, सुरक्षित तरिकाले नोट प्रयोग गरेमा केही बढी समय पनि खप्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । निरौलाका अनुसार नोटको आयुका सम्बन्धमा केन्द्रीय बैंकले यसबारे ठोस अनुसन्धान भने गरेको छैन । उनका अनुसार नोट छपाईचक्र ३ वर्ष ३ महिना भएकाले यस आधारमा ठूला नोटको आयु औसतमा ६ वर्ष हाराहारीमा देखिएको हो । नोट जति बढी सुुरक्षित राख्न सक्यो यसको आयुु उतिनै पनि बढ्दै जान्छ ।
 
यता, नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/०६८ को मौद्रिक नीतिमार्फत औपचारिक रुपमा सफा नोट नीति ल्याएको थियो । तर, त्यसको प्रभावकारी कार्यान्वयन हुन भने हालसम्म सकेको छैन । नोट झुत्रो र फोहर बन्नु भनेको मुलुकले घाटा व्यहोर्नु हो । यो लागत बराबरको रकम सोझै नोक्सानीमा पर्नु हो । यसतर्फ पनि हामीले सोच्न आवश्यक रहेको छ ।
 
कसरी जतन गर्ने नयाँ नोट ?
 
नोटलाई पानीमा भिजाउने, केरमेट गर्ने, गुुजुुल्टो पारेर राख्नाले नोटको आयुु छोटिन्छ । दशैंमा नयाँ लत्ता कपडासँगै नयाँ नोटलाई पनि प्रतिष्ठा मान्ने चलन विकसित हुँदै गएको छ । यस्तो प्रवृत्तिले समाजमा विकृति भित्र्याउँछ । प्राय नागरिकसँग नोट जनत गर्ने बानी छैन । खासगरी दशैं र तिहारमा पूजा, टीकाका लागि अविर र अक्षता प्रयोग गरिन्छ । यसकारण यो अवधिमा नोट धेरै फोहोर हुन्छ । दशैंमा टीका र जमरासँगै दक्षिणा दिने चलन छ । यसो गर्दा नोटमा रङ लाग्ने सम्भावना धेरै हुन्छ । यसैगरी, तिहारमा पैसा तथा धन सम्पति पूजा गर्ने चलन छ । पूजा गर्दा रङको प्रयोग हुने भएकाले नोट फोहोर हुन्छ । त्यसले नोटको आयु घटाउँछ ।

नोटमा अविर पानी नहाल्ने :
हिन्दू परम्परा अनुसार हामी घरमा पूजा गर्दा होस् या मन्दिरमा जाँदा, भेटी चढाउने चलन छ । यस्तो अवस्थामा पैसामा अविरले पूजा गर्ने पानी चढाउने गर्नु हुँदैन । यदी मन्दिरमा भेटी चढाउन चाहानुहुन्छ भने मन्दिरमा सिक्का पैसा चढाउनुहोस् । प्रायः सबै मन्दिरमा दानपेटीका राखेको हुन्छ त्यहाँ चढाइदिनुहोस् ।
 
नोट खाममा हालेर मात्रै दिने :
हामीले चाडपर्वको बेला होस् या विवाह व्रतबन्धका बेला दक्षिणा स्वरुप पैसा दिँदा खाममा हालेर दिइयो भने नोटलाई सफा राख्न केही हदसम्म मद्दत पुग्दछ । जसबाट लिने र दिनेको हातमा भएको फोहोर लाग्नबाट पैसा बच्छ । त्यसका साथै मन्दिरमा भेटी चढाउँदा पनि खाममा राखेर चढाइयो भने त्यसमा अबिर र पानी लाग्नबाट पनि बच्छ । अर्को व्यक्तिमा पुग्ने नोटलाई हामीले अबिर र पानीले रङ्गाउने अधिकार हुँदैन ।
 
नोटमा स्टिज नलगाउने :
नोटमा स्टिज लगाउँदा प्वाल पर्छ र छिटो थोत्रो हुन्छ । नोटको आयु लम्ब्याउनु हाम्रो कर्तव्य हो । त्यसैले स्टिज लगाएर यसको आयु घटाउनेतर्फ हामी नलागौं ।
 
नोटमा नकेर्ने :
नोटमा केरमेट गर्नु गैरकानुनी कार्य हो । त्यसैले हामीले नोटमा केरमेट गरेर असभ्यताको परिचय दिनु हुँदैन । हामीले पैसामा आफ्ना कुरा लेखेर के हुन्छ र आखिर त्यो अरुको हातमा गइहाल्छ । अरु व्यक्तिले छ्या ! भन्ने किसिमको नोट बनाउनु हुँदैन ।
 
माथि उल्लेखित कुराहरु ख्याल गर्दा नोटको आयु केही मात्रामा बढाउन मद्दत पुग्नसक्छ । तर, समयपरिस्थिती अनुसार नोट जतन गर्ने तरिका फरक हुन्छ । 
 
यता, केन्द्रीय बैंकले पनि नोट सटहीको सूचनासँगै नोटलाई जतन गर्न पनि सूचना जारी गरेको छ । केन्द्रीय बैंकले नोट जतन गर्न आवश्यकताभन्दा बढी नोट बैंकबाट ननिकाल्न आग्रह गरेको छ । साथै, नोट फोहोर गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गर्ने जनाएको छ ।

नोट फोहोर गरे के कारवाही हुन्छ ?
नोटलाई नोक्सान हुुनबाट जोगाउन मुुलुुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २६३ मा नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा लेख्न नहुुने व्यवस्था गरिएको छ । नोटमा कोर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना लाग्ने कानुुनी व्यवस्था छ । राष्ट्रिय सम्पति नोक्सान हुुनबाट जोगाउन मुलुकी ऐनमा यस्तो व्यवस्था गरिएको हो ।
 

Post Your Comment