Market Closed

नेपालगञ्ज विमानस्थल सुधार योजना, रनवे विस्तारको काम धमाधम

16 Jan,2020
  • nepalgunj-airport-2_1_16_2020_12_19_28.jpg
 
 
नेपालगन्ज : गुरुयोजना अनुसार नेपालगञ्ज विमानस्थलको निर्माण कार्य तीव्र पारिएको छ । राँझा विमानस्थलबाट विमान उडान सुरु भएको ४ दशकपछि गुरुयोजना अन्तर्गत सुधारको काम भइरहेको हो । 
विसं २०१७ मा खजुरामा स्थापना गरिएको विमानस्थललाई  विसं २०३० मा राँझामा स्थानान्तरण गरिएको थियो । जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगञ्ज विमानस्थलमा सेवा सुरू भएको हो ।

तराईको पुरानो र व्यवस्थित नेपालगञ्ज विमानस्थलले अन्तर्राष्ट्रिय मापदण्डमा पुग्न अझै दुई दशक कुर्नुपर्ने देखिएको छ । त्यसका लागि अहिलेबाटै काम सुरु भइसकेको छ । यतिबेला विमानस्थलको रनवे विस्तारको काम धमाधम भइरहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपालगञ्ज आएर ठूला जेट विमान उडाउन मिल्ने गरी नेपालगञ्ज विमानस्थलको विकास र विस्तार गर्न निर्देशन दिइसकेका छन् । नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको २० वर्षे गुरुयोजनामा यसको विकास र विस्तारका लागि सन् २०४० सम्म कुर्नुपर्नेछ । त्यत्ति बेलासम्म अहिलेको विमानस्थलको आकार झण्डै दोब्बर हुनेछ भने पूर्वाधार पनि त्यही अनुरुप थपिनेछन् ।
 
ठूला जेट विमान उड्नसक्ने महत्वकांक्षी योजना छ । गुरुयोजनामा ४ चरणमा विस्तार र निर्माणको काम सम्पन्न हुनेछ । लक्ष्यमा पुग्न जग्गा अधिग्रहण बाहेक १२ अर्ब ५० करोडको लागत लाग्ने अनुमान रहेको विमानस्थल प्रमुख ठाकुरले बताए । उनले योजना अनुसार काम भइरहेको बताउँदै विमानस्थल सुधार अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए । सन् २०२३ सम्म सम्पन्न हुने पहिलो चरणका लागि झण्डै २ अर्ब रुपैयाँ बजेट छ । 
 
पहिलो र दोस्रो चरणको काम सुरु भइसकेको छ । सन् २०३० सम्म सम्पन्न गर्ने दोस्रो चरणका लागि सबैभन्दा बढी बजेट साढे ६ अर्ब रुपैयाँको बजेट छ । त्यसैगरी, सन् २०३५ मा सम्पन्न हुने तेस्रो चरणमा सवा २ अर्बको बजेट छ । चौथो चरणमा पौने २ अर्बको लागतमा सम्पन्न गर्ने लक्ष्य छ । दैनिक ४० सरदर उडान हुँदै आएको नेपालगञ्ज विमानस्थलमा झण्डै १ हजार १०० यात्रुलाई दैनिक सुविधा पुगेको छ । 
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त मध्येमा पर्ने नेपालगञ्ज विमानस्थलका लागि नयाँ गुरुयोजना अनुसार अगाडि बढ्दा १०० बिघा जग्गा थप आवश्यक पर्छ । हाल १६६ बिघा क्षेत्रफल रहेको नेपालगञ्ज विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुनेछ । यसका लागि डुडुवा नालालाई ३०० मिटर टाढा सार्ने योजना बनाइएको छ । 
 
‘४ चरणमा काम सक्ने योजना छ,’ विमानस्थल प्रमुख ठाकुरले भने, “पहिलो चरण र दोस्रो चरणका काम अहिले धमाधम भइरहेका छन् ।” रनवे विस्तार, टर्मिनल भवनलगायतका काम गर्न जग्गा अधिग्रहणको काम चाँडै सुरु हुने उनले बताए । डीपीआरले दोस्रो चरणका लागि सन् २०२५ भित्र थप २ अर्ब ८ करोड रुपैयाँ लागतमा विमानस्थल विस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटेको छ । 
 
अन्तर्राष्ट्रियस्तरको विमानस्थलका लागि डीपीआर अनुसार नै काम अगाडि बढाउँदा लामो समय सम्पूर्ण उडान बन्द गरेर काम गर्नुपर्ने हुनसक्छ । डीपीआर स्वीकृति भएपछि सरकारसँग लगानी माग गरिनेछ । त्यसैगरी, तेस्रो र चौथो चरणको काम भने झण्डै २० वर्षको लक्ष्य लिएर अघि बढिंदैछ ।
 
  प्राधिकरणका अनुसार, तेस्रो चरणको कामपछि मात्र नेपालगञ्ज विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनेको देखिने छ । जसमा ७ अर्ब ४० करोड खर्च हुने अनुमान छ । हाल एटीआर विमान उडान गर्न मिल्ने उक्त विमानस्थलमा गुरुयोजना अनुसार काम भए आगामी २ दशकभित्र एयरबस जस्ता ठूला जेट विमान पनि सहजै उडान गर्न सक्ने गरी विमानस्थल तयार हुनेछ । 
 
हाल ६ वटा मात्र विमान अटाउने पार्किङमा ९ वटा ठूला (साना ११) वटा विमान पार्किङ गर्न सकिनेछ । नेपालगञ्जबाट सबैभन्दा धेरै उडान काठमाडौं हुन्छ । नेपाल एयरलाइन्स, बुद्ध, यतिलगायतका विमानले उडान भरिरहेका छन् । प्राधिकरणका अनुसार अहिले दैैनिक १ हजार ५०० जनाले हुम्लाको सिमकोट, मुगुको रारा, जुम्ला, बाजुरा, रूकुमलगायतका जिल्लामा उडान भर्दै आएका छन् ।
 
रासस
 

Post Your Comment