Market Closed

दक्षिण अफ्रिकामा ४ करोड ५० लाख व्यक्ति भोकमारीमा : राष्ट्रसंघ

17 Jan,2020
  • un_1_17_2020_2_05_47.jpg
 
 
दक्षिण अफ्रिकामा खडेरी र बाढीका कारण चरम गरिबीमा रहेका करिब ४ करोड ५० लाख व्यक्तिलाई तत्काल खाद्यान्न सहयोग आवश्यक देखिएको राष्ट्रसंघले बताएको छ । तत्काल व्यवस्था नगरिए यी नागरिकहरु भोकमारी समस्यामा पर्नेछन् । “भोकमरीको यो संकट  दक्षिण अफ्रिकामा अहिलेसम्म नभोगेको र नसोचेको अवस्थामा पुगेको छ । भोकमारी दर अझै बढ्ने क्रममा छ,” विश्व खाद्य कार्यक्रमका क्षेत्रीय निर्देशक लोला क्यास्ट्रोले बताए । 
 
राष्ट्रसंघीय उक्त संस्थाले बताए अनुसार दक्षिण अफ्रिकामा लामो समयसम्म खडेरी परेको र त्यसपछि एक्कासी आएको वर्षाका कारण स्थानीय कृषि उत्पादनमा अनपेक्षित क्षति पुग्दा यहाँका नागरिकले आफ्ना बहुमुल्य सम्पत्ति बेचेर खाद्यान्न व्यवस्थापन गर्नुपरेको वास्तविकता छ । भाउ चुलिंदा चर्को मूल्य तिरेर खाद्यान्न जोहो गर्नुपरिरहेको छ ।

जसका कारण अभिभावकले बालबालिकाको विद्यालय शुल्क समेत तिर्न नसक्ने अवस्था आएको छ । कतिपय बालबालिकाले विद्यालय छाड्नुपरेको तथा आधा पेट खाने वा खाना नै नखाने अवस्थामा धेरै अफ्रिकी नागरिक पुगेको पनि क्यास्ट्रोले बताए ।

क्यास्ट्रोले भने, “अफ्रिकालाई खाद्यान्न व्यवस्थापनका लागि सन् २०२० मा करिब ४ करोड ८९ लाख अमेरिकी डलर आवश्यक पर्ने तर संस्थासँग यसको आधा पनि बजेट नभएकाले अन्तर्राष्ट्रिय समुदायले समयमै सोच्नुपर्ने देखिएको छ ।” दक्षिण अफ्रिकामा विश्वका अन्य मुलुकको तुलनामा तापक्रम दोब्बर बढेको र यहाँका जनताले विगत ३५ वर्ष यता सबैभन्दा बढी खाद्यान्न संकटको सामना गर्नुपरेको राष्ट्रसंघले जनाएको छ ।
 
निम्न आर्थिक वृद्धि, बढ्दो जनसंख्या दर, खडेरी र बाढीको प्रभाव नै खाद्य संकटको प्रमुख कारक भएको क्यास्ट्रोले बताए । खासगरी इस्वाटिनी, लेसोथो, मदागस्कर, मालावी, मोजाम्विक, नामिविया, जाम्बिया र जिम्बाब्वे लगायतका दक्षिण अफ्रिकी मुलुकहरूमा आम नागरिकले अत्यधिक खाद्यान्न संकटको सामना गरिरहेका राष्ट्रसंघको भनाई छ ।

जिम्बाब्वेका आधा जनसंख्या अर्थात १ करोड ५० लाख नागरिकले चरम खाद्य संकट झेलिरहेको राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ । जिम्बाब्वेमा खडेरीका कारण गत वर्ष ३ महिनाको समयमा करिब २०० हात्ती मरेका थिए भने अन्य जनावरले पनि यसको पीडा भोग्नुपरेको थियो । लेसोथोमा २० प्रतिशत, नामिवियामा १० प्रतिशत नागरिकले पनि खाद्यान्न अभावको सामना गरेका छन् । 
 
त्यस्तै, रेडक्रसले दिएको तथ्यांकमा जाम्बियामा करिब २३ लाख नागरिकलाई खाद्यान्न अपुग हुने अवस्था छ । जाम्बियालाई अफ्रिकाको खाद्यान्न भन्डार भनिने गरे पनि खडेरीका कारण पानीका स्रोतहरू सुक्दा यहाँको कृषि उत्पादनमा ह्रास आएको छ । मौसम विज्ञहरूले यस क्षेत्रमा यो वर्ष अझ तातो र सुख्खा मौसमको सामना गर्नुपर्ने बताएका छन् ।
 
यसैबीच विश्व खाद्य कार्यक्रमले यस वर्ष अफ्रिकामा खाद्य असुरक्षाको पीडामा रहेका ८३ लाख जनसंख्यालाई खाद्यान्न सहयोग गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ । बाँकी समस्यासँग जुध्न कार्यक्रमले विश्व समुदायको ध्यानाकर्षण गरेको छ । युरोपेली संघले २ करोड २८ लाख मानवीय सहायताको राहत कार्यक्रम मार्फत यस क्षेत्रमा काम गरिरहेको जनाएको छ ।
 
रासस
 
 
 
 
 
 
 
 

Post Your Comment