Market Closed

एउटै जिल्लामा २३ अर्ब लगानीमा ५ जलविद्युत आयोजना बन्दै

20 Jan,2020
  • dordi_khola_1_20_2020_5_11_51.jpg
 
 
लमजुङ : लमजुङ जिल्लामा २३ अर्बभन्दा बढी लगानीमा ५ वटा जलविद्युत आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न ५ जलविद्युतका आयोजना धमाधम निर्माण भइरहेका हुन् । जसमा पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को आयोजना निर्माणाधीन छन् ।

त्यस्तै दोर्दीखोला जलविद्युत कम्पनीले  १२.१ मेगावाटको दोर्दी–१, छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको ४ मेगावाट क्षमताको जलविद्युत आयोजना दोर्दी करिडोरमा निर्माणाधीन छन् । ती मध्ये अधिकांशको ५५ देखि ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यस्तै, दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि २ मेगावाटको छ्याङ्दी जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेको छ । उक्त निर्माणाधीन आयोजना निजी क्षेत्र र स्थानीयको लगानीमा निर्माण भइरहेको बताइएको छ ।

यी आयोजना निर्माण सम्पन्न भएपछि १२५ मेगावाट बिजुली उत्पादन हुनेछ । यहाँ निर्माण भएका आयोजनाबाट १ वर्षदेखि ५ वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । दोर्दी खोलामा हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दी खोला र लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युतको निर्माण अब १ वर्षभित्र पूरा हुने अवस्थामा छन । यी आयोजनाको निर्माण ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । 
 
त्यस्तै, दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा ४ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । गत १ वर्षदेखि आयोजनाको निर्माण कार्यलाई सुरु भइरहेको छ ।
दोर्दी करिडोरकै सबैभन्दा ठूलो क्षमताको पिपुल्स हाइड्रोपावरले निर्माण गरेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’को ५५ प्रतिशत र दोर्दी खोला जलविद्युत कम्पनीद्वारा निर्माणाधीन १२.१ मेगावाटको दोर्दी–१ को निर्माणकार्य ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ ।  
 
दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरले सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजना कुल ८ अर्ब ८० करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको छ । उक्त आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको मात्र २७ करोड लगानी रहेको छ । २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना ३ अर्ब ८६ करोड लगानीमा निर्माण भइरहेको छ ।

यस आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएन) ३६ र स्थानीय सर्वसाधारणको ३० प्रतिशत र आइएमई गुप्रको ३४ प्रतिशत लगानी छ । त्यस्तै, लिबर्टी इनर्जी कम्पनीले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाटको कुल ४ अर्ब ६३ करोड लगानीमा यस आयोजना निर्माण थालिएको हो । दोर्दी खोलामै लमजुङ विद्युत विकास कम्पनी (लेड्को) को सहायक कम्पनी दोर्दीखोला जलविद्युत कम्पनीले दोर्दी–१ (१२.१ मेगावाट) आयोजना निर्माण गरिरहेको छ ।

यस आयोजना करिब २ अर्ब ३९ करोडको लागतमा निर्माण भइरहेको आयोजनाले जानकारी दिएको छ । दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि २ मेगावाटको छ्याङ्दी जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेका प्रवद्र्धक छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा ४ मेगावाटको जलविद्युत आयोजना ८० करोडभन्दा बढी लगानीमा निर्माण भइरहेको आयोजनाले बताएको छ ।
 
रासस
 

Post Your Comment