Market Closed

अर्थमन्त्री भन्छन्–‘करको विषयमा म कठोर छु’

23 Feb,2020
  • Yubaraj-Khatiwada_2_23_2020_4_48_13.jpg

 
 
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आफू करको विषयमा कठोर भएको बताएका छन् । राष्ट्रिय बिमा संस्थानको ५३ औं बार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै उनले करको विषयमा आफू निकै कठोर रहेको बताएका हुन् । ‘कर भनेको धेरै कमाउनेबाट लिने र कमाउन नसक्नेलाई दिने हो । त्यसैले अहिले मेरो काम कर उठाउने र पुनर्वितरण गर्ने हो ।’ उनले बिमा योजनामा आधारित समाजिक सुरक्षामा जनतालाई समेट्न सकिएमा सबैखाले सामाजिक सुरक्षा योजना सफल हुने बताए ।

उनले भने, “सामाजिक सुरक्षा नागरिकको मौलिक हक हो भनिएको छ, बिमा योजना योगदानमा आधारित सामाजिक सुरक्षा हो, यसमा बढीभन्दा बढी नागरिकलाई ल्याउन सकियो भने सबैलाई सामाजिक सुरक्षा भनेर घोषणा गरिएको सर्वव्यापी लक्ष्य र अवधारणा पूरा हुन्छ ।” अर्थमन्त्री खतिवडाले भने, “अहिले मुलुकमा कुल जनसंख्याको २२ प्रतिशतमा जीवन बिमा पहुँच पुगिसकेको छ । बिमाको दायरा अझै बढाउन नागरिकको पहुँच विस्तार गर्नुपर्छ, जसको पहुँच वित्तीयरुपमा पुग्दैन उसलाई सरकारले सहयोग गर्छ ।

निरपेक्ष गरिबीको रेखामुनि रहेकालाई बिमाको प्रिमियम तिर्न पैसा पुग्दैन भने त्यसलाई सरकारले सहयोग गर्छ । चरम गरिबीमा रहेका परिवारको संख्या करिब १६ लाख ५० रहेको जानकारी दिँदै उनले सरकारले अहिले एक परिवारले ३ हजार ५०० मा वार्षिक एक लाख बराबरको सुविधा प्राप्त गर्ने गरी बिमा गर्ने व्यवस्था मिलाएको छ । त्यो सुविधा गरिबीको रेखामुनि रहेकालाई निःशुल्क गर्ने तयारी रहेको घोषणा गरे ।

“त्यो निःशुल्क गरेपछि एकैपटक १६ लाखभन्दा बढी परिवारका ७०–७५ लाख व्यक्ति बिमाको दायरामा आउनुहुन्छ, हामीले अघि बढाएको बिमाबाट पनि गरिबी निवारणमा योगदान पुग्ने । बिमा संस्थानबाट क्षतिपूर्तिको छिटो भुक्तानी भएमा यो कार्यक्रम विस्तार हुन सहयोग पुग्नेछ”, अर्थमन्त्री खतिवडाले भने । ‘‘ठूला र धनी वर्गलाई मात्र हेर्ने होइन, सानालाई बेवास्ता गर्दा सरकारले अघि बढाएको बिमा विस्तारमा सहयोग पुग्दैन । पुरानो संस्थानलाई नयाँ ढाँचामा चलाउन प्रयास गरौँ,’’ उनले भने । 
 
बिमा संस्थानको कोषमा २६ अर्ब, बिमक ७ लाख
 
राष्ट्रिय बिमा संस्थान ५३औँ वर्षमा आइपुग्दा जीवन बिमा कोषमा २५ अर्ब ९६ करोड पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १९ जीवन बिमा कम्पनीको जीवन बिमा कोषमा २ खर्ब ६५ अर्ब ७१ करोड संकलन भएको छ । विसं २०२४ फागुनदेखि निर्जीवन र त्यसको ५ वर्षपछि जीवन बिमा सुरु गरेको यस संस्थानले कानुनी अड्चनका कारण २०७१ सालपछि जीवन बिमा मात्र गर्दै आएको छ । संस्थामा हाल बिमा गर्नेको संख्या ६ लाख ८९ हजार छ । निर्जीवन व्यवसाय रािष्ट्रय बिमा कम्पनीले गर्छ । 
 
केन्द्रीय कार्यालयसहित मुलुकका १४ स्थानमा रहेका शाखा कार्यालयमा १०३ कर्मचारी कार्यरत रहेको आइतबार आयोजित वार्षिकोत्सव समारोहमा जानकारी दिइयो । यसैआव भित्रै थप १० शाखा विस्तार गर्ने संस्थानको तयारी छ । संस्थानले अभिकर्तालाई उत्प्रेरित गर्न पुनर्ताजगी र प्रोत्साहन कार्यवधिलाई परिमार्जन गरी कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ ।

सेवालाई प्रविधिमैत्री, भरपर्दाे र सहज तुल्याउन यसै आवदेखि नयाँ सफ्टवेर, मोबाइल एप्स, एसएमएस सेवा र वबेसाइटलाई व्यवस्थित गरिएको संस्थानको भनाई छ । केन्द्रीय कार्यालयमा रहेको ग्राहक सेवालाई प्रभावकारी र ग्राहकमैत्रीरुपमा सञ्चालन गर्न ले–आउटलाई परिमार्जनका साथै बिमाको दायरालाई फराकिलो बनाएर आम नागरिकमा बिमा पहुँच पुर्याउन ‘विद्यार्थीसँग बिमा’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइयो ।

ग्राहकको माग अनुरुप दोहोरो दुर्घटना लाभलाई वृद्धि गरी ५० लाख पुर्याउनुका साथै घातक रोगको सुविधा स्वीकृतिको अन्तिम अवस्थामा रहेको जानकारी दिइएको छ । निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सार्वजनिक विद्यालयका शिक्षकको जीवन बीमा कार्यक्रम संस्थानले सुरु गरेको छ । मुलुकका ठूला सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सामूहिक जीवन बिमा तथा अभिकर्ताका माध्यमबाट आएका व्यक्तिगत बिमा उक्त संस्थाले गरिरहेको छ ।

संस्थान हाल लघु बिमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा जुटेको छ । सेयर पुँजी, जीवन बिमा व्यवसायबाट प्राप्त बिमा शुल्क र जीवन बिमा कोषको लगानीबाट प्राप्त प्रतिफल संस्थानका मुख्य वित्तीय स्रोत हुन् । संस्थानको १० वर्षभन्दा बढी समयदेखि लेखापरीक्षण र साधारणसभा हुन सकेको छैन । जीवन बिमामा बीमांकीय मूल्याकन नभई लेखा परीक्षण हुन नसक्ने र लेखापरीक्षण नभई साधारणसभा हुन नसक्ने संस्थानका प्रशासक कविप्रसाद पाठकले जानकारी दिए ।

संस्थाको लामो समयसम्म लेखा परीक्षण हुन नसकेका कारण कतिपय बिमाकर्तामा आर्थिक गतिविधिका सम्बन्धमा सन्देह पैदा भएको छ । विगतमा बीमांकीय मूल्यांकनको कार्य समयमा हुन नसकेकामा पछिल्ला दिनमा त्यसमा सुधार ल्याइएको छ । ६ वर्षको बीमांकीय मूल्यांकन कार्य पूरा गरी स्वीकृतिका लागि बिमा समितिमा पठाइएको जानकारी दिइएको छ । लेखा प्रणालीलाई पारदर्शी र व्यवस्थित गराउन एनएफआरएस लागू गर्न लेखा परीक्षक नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

Post Your Comment