Market Closed

के हो लक डाउन, विश्वले कसरी गरिरहेको छ यसको प्रयोग ?

24 Mar,2020
  • Lock-Down_3_24_2020_4_03_57.jpg
नेपाली पैसा

काठमाडौं : सरकारले एक साताका लागि सोमबारदेखि पूरै नेपाललाई लक डाउन गरेको छ । कफ्र्युभन्दा सामान्य अर्थमा फरक रहेको लक डाउन विभिन्न विषम परिस्थितिका कारण जनताहरुलाई बाहिर निस्कन प्रतिबन्ध लगाउने व्यवस्था हो । नेपालमा नौलो अभ्यासको रुपमा रहेको यो व्यवस्था कोरोना भाइरसका कारण धेरै विदेशी मुलुकहरुले भने यसअघि  नै लागू गरिसकेका थिए । विश्वभरका देशहरूले कोरोना भाइरसको प्रसार नियन्त्रणका लागि विभिन्न उपायहरुको खोजी गरिरहेका छन् । यसको लागि राष्ट्रिय क्वारेन्टाइनदेखि स्कुल बन्द गर्ने र त्यतिले पनि नपुगे लक डाउनसम्म गर्ने गरिएको छ ।
 
इटालीमा कोभिड १९ को संक्रमण धेरै भएपछि प्रधानमन्त्री ज्युसेप्पी कोन्टेले गत हप्ता सम्पूर्ण देशलाई लक डाउन गर्ने घोषणा गरे । जसले, करोडौं मानिसहरुलाई यात्रा, फुर्सदको समयमा घुम्न जाने काम, चर्च जाने र जीवनका अन्य पक्षहरूमा प्रतिबन्ध लगायो । स्पेन र फ्रान्सले पनि यही मार्गको अवलम्बन गरेको छ । त्यहाँका बासिन्दाहरूलाई ती देशका सरकारहरुले घरभित्रै बस्न आदेश दिएका छन् । इटालीमा अहिलेसम्म ६ हजारभन्दा धेरै व्यक्तिहरुको ज्यान गइसकेको छ ।
 
फ्रान्समा गत सोमबार लक डाउन घोषणा गरियो । यसलाई चीन बाहिरको सबैभन्दा ठूलो क्वारेन्टाइनको रुपमा समेत व्याख्या गरिएको छ । चीनमा फेब्रुवरी १७ देखि आधा भन्दा धेरै चिनियाँ यात्रीहरुलाई यात्राका लागि प्रतिबन्ध गराइएको थियो । सीएनएनका अनुसार त्यस दिनदेखि ७८ करोड बढी व्यक्तिहरुलाई यस्तो प्रतिबन्ध लगाइएको हो । यसबाहेक पनि धेरै मुलुकहरुले आफ्नो देशसँग जोडिएका अन्तराष्ट्रिय सीमा नाकाहरु बन्द गराएका छन् । युरोपियन युनियनले पनि अहिले अत्यावश्यक बाहेक अरु यात्रामा प्रतिबन्ध लगाएको छ ।

जतिबेला विश्व स्वास्थ्य संगठनले यो भाइरसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गर्दै सबै देशलाई यसको प्रसार कम गर्न आग्रह गरेको थियो । त्यतिबेलासम्म लक डाउन प्राविधिक विषयमा प्रयोग भएको शब्द थिएन । त्यतिबेलासम्म जनस्वास्थ्य अधिकारीहरुले अनिवार्य रुपमा भौगोलिक क्वारेन्टाइनमा राख्न र ऐच्छिक रुपमा आफ्नै घरमा बस्नको लागि आग्रह गर्दै आएका थिए । अहिले विश्वका अधिकांश मुलुकहरुले धेरै मानिसको लागि एकै खालको क्वारेन्टाइनको व्यवस्था गर्दै आएका छन् ।

चीनले मानव इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो मानव क्वारेन्टाइन निर्माण गरेको बिजनेस इन्साइडरले लेखेको छ । चीनले जनवरीको अन्त्यसम्म मात्रै कम्तिमा १६ सहरहरुलाई लक डाउन गरिसकेको छ । पछिल्लो समयसम्ममा चीनले आफ्नो देशको २० वटा भन्दा धेरै प्रदेशहरुलाई लक डाउन गरिसकेको वाल स्ट्रिट जर्नलले लेखेको छ । यद्यपि, चीनको हुवाई प्रान्तमा भने मंगलबारदेखि नै लक डाउन फिर्ता गरिएको छ । बुहानमा भने चीनले जनवरी २३ मा लक डाउन गरेको हो । त्यहाँ झण्डै ६ हप्तासम्म लक डाउन गरिएको हो ।
 
इटालीमा मार्च १० मा लक डाउन गरिएको थियो । अवस्था धेरै प्रतिकूल नहुँदासम्म लक डाउनको निर्णय नगरेको इटालीले अहिले कडाईका साथ यसको कार्यान्वयन गराएको छ । झण्डै ६ करोड मानिस रहेको इटालीमा अति आवश्यक काम बाहेक अरु कार्य गर्न नपाउने गरी लक डाउन गरिएको छ । ३ हजार भन्दा बढी मानिसको ज्यान गएपछि इटालीका प्रधानमन्त्री जियोसेप्पे क्वान्टेले क्वारेन्टाइन पोलिसीलाई व्याख्या गर्दै ’म घरमै बस्छु’ अभियानको सुरुवात गरेका थिए ।

बीबीसीका अनुसार उनको यो घोषणाले समेत अपेक्षित काम गर्न नसकेपछि सरकारले ठूला खेलका कार्यक्रमहरु, स्वीमिङ पुल जस्ता धेरै मान्छेरुको जमघट हुने स्कुल, संग्रहालय आदि बन्द गराएको थियो । त्यतिबेलासम्म त्यहाँ सार्वजनिक सवारी साधन र एयरपोर्टहरु भने सञ्चालनमा नै थिए । यसले स्थिति साम्य नभएपछि केवल आवश्यक यात्राको लागि मात्रै अनुमति दिइयो । वैध काम वा अरु अत्यावश्यक काममा जानको लागि प्रहरीसँग अनुमति लिएर मात्रै जान पाउने व्यवस्था गरियो । किराना स्टोर र फार्मेसी बाहेक सबै पसलहरू बन्द भए । परिवारका सदस्यहरूलाई अनावश्यक रुपमा भेट्न अनुमति दिइएन भने स्वास्थ्यकर्मीहरूको छुट्टी रद्द गरियो । 
 
शनिबार राष्ट्रव्यापी क्वारेन्टाइन बनाउने दोस्रो युरोपियन देश बन्यो स्पेन । सुरुमा स्पेनले आंशिक लक डाउनको रुपमा १५ दिनसम्म बाटो खाली मात्रै राख्यो । सुरुमा उसले मान्छे हिँड्न प्रतिबन्ध लगाएन । फ्रान्सले पनि स्पेन र इटालीको जस्तै बाटो अपनायो । अति आवश्यक बाहेक सबै व्यवसायहरु एक सातासम्मको लागि बन्द गरियो । गत सोमबारदेखि उसले पनि पूरा रुपमा लक डाउन गर्यो जसमा मानिसहरुलाई बाहिर हिँड्न समेत प्रतिबन्ध लगाइयो । रेष्टुरेन्टहरु सबै बन्द गरियो ।

यही दिन देखि नै फ्रान्सका प्रधानमन्त्रीले क्याफे, सिनेमा, नाइटक्लबहरु समेत सबै बन्द घोषणा गरे । गत मंगलबारदेखि नै फ्रान्समा १५ दिने लक डाउनको घोषणा भयो । त्यहाँ लक डाउन उल्लंघन गर्नेहरुलाई कारबाही गर्ने चेतावनी समेत दिइयो । यस्तै, आयरल्याण्डले गत साता नै देशव्यापी लक डाउनको घोषणा गरिसकेको छ । आयरल्याण्डमा अहिले सबै किसिमका सांस्कृतिक कार्यक्रमहरु, स्कुल, कलेज जस्ता धेरै भीड हुने ठाउँहरु बन्द गरेको न्युयोर्क टाइम्सले जनाएको छ । 
 
आयरल्याण्डले घरभित्रै र बाहिरै पनि १०० जना भन्दा भेला हुन निषेध गरेको छ । बेल्जियमले गत बुधबारदेखि लक डाउन गरेको छ । उसले अप्रिल ५ सम्मका लागि लक डाउन घोषणा गरेको हो । त्यहाँ नागरिकहरुलाई घरमा नै बस्नका लागि आग्रह गरेको छ । त्यहाँ पनि अत्यावश्यक सेवा बाहेक सबै किसिमका सेवाहरु बन्द गरेको छ । पोल्याण्डले गत शुक्रबार सबै किसिमका अन्तराष्ट्रिय उडानहरु र स्वदेशका समेत सबै व्यवसाय बन्द गर्न आग्रह गरेको छ । शुक्रबारदेखि नै सबै किसिमका रेस्टुरेन्ट एवं बारहरु बन्द गरिएको छ । बाहिरबाट आएका सबैलाई अनिवार्य रुपमा १४ दिने क्वारेन्टाइनमा राखिएको छ ।

यता, न्युजिल्याण्डले पनि बाहिरबाट आएकाहरुलाई अनिवार्य रुपमा १४ दिने क्वारेन्टाइनमा राख्दै आएको छ । मार्च २१ मा संसदमा सम्बोधन गर्दै न्युजिल्याण्डका प्रधानमन्त्रीले सम्बोधन गर्दै यस्तो बताएका हुन् । अष्ट्रेलिया र न्युजिल्याण्डका प्रधानमन्त्रीहरुले संयुक्त पत्रकार सम्मेलनको क्रममा २८ फेब्रअरीदेखि नै यस्तो घोषणा गरेका थिए । युरोपियन युनियनले गत सोमबारदेखि ३० दिनका लागि युरोपियन युनियन अन्तर्गत सबै मुलुकहरुमा घुम्न जान प्रतिबन्ध लगाएको छ । युरोपियन युनियन परिषद्का प्रमुख उर्सुला भोन डेरले युरोपियन युनियन कोरोनाको इपिसेन्टर रहेको भन्दै यस्तो घोषणा गरिएको बताए ।
 
कोरोना भाइरस संक्रमणको संख्या लगातार बढेपछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले तत्काल लागू हुने गरी आवतजावत एवं जमघटमा कडिकडाउ गर्नेगरी ’लक डाउन’ को घोषणा गरेको हो । नागरिकहरू घरभित्रै रहून् भनेर दुई जनाभन्दा धेरैको जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको प्रधानमन्त्री जोन्सन जनाए । जर्मनीले पनि बोर्डर पूर्ण रुपमा बन्द गरेको छ भने १६ राज्यमा अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गरेको छ । चान्सलर एन्जेला मार्केलले जर्मनीको इतिहासमा यस्तो समस्या दोस्रो विश्व युद्ध पछि कहिलै पनि नआएको भन्दै यस बिरुद्ध सचेत रहन आग्रह गरिन् ।
 
अर्जेन्टिनाले गत आइतबारदेखि सबै स्कुल एवं सार्वजनिक सवारी साधनहरु बन्द गर्यो । सबै बोर्डरहरु बन्द गरिएको छ । अर्जेन्टिनाले सबै किसिमका आन्तरिक उडानहरु बन्द गरेको छ भने लामो दूरीको सबै सवारीहरु बन्द गरिएको छ । बाहिरबाट आएकाहरुलाई सरकारले १४ दिनसम्म क्वारेन्टाइनमा राखेको छ । यसबाहेक केन्याले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ । चेक रिपब्लिकले पनि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिसकेको छ । मलेसिया सरकारले गत सोमबार सबै किसिमका व्यवसायलाई बन्द गरायो ।

नेपाली मिति अनुसार गत चैत ४ गतेदेखि दुई हप्तासम्मका लागि सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाउँदै पूरै देश लक डाउन गरेको हो । अत्यावश्यक बजार बाहेक युटिलिटी, ब्रोडकास्टिङ, बैंकिङ र स्वास्थ्य सम्बन्धी सेवा बाहेक अरु सबैलाई नियन्त्रण गरिएको छ ।
 
एजेन्सीहरुको सहयोगमा
 

Post Your Comment