Market Closed

देशभर १ लाखभन्दा बढी मान्छे राख्ने क्वारेन्टाइन बनाइदै

26 Mar,2020
  • yogesh-Bhattari_3_26_2020_3_47_10.jpg
नेपाली पैसा
 
काठमाडौं : सरकारले देशभर १ लाखभन्दा बढी मान्छे राख्ने सक्ने गरी क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन सुरु गरेको छ । उच्चस्तरीय समन्वय समितिले पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले नगरकोटमा मात्रै २ हजार जनालाई राख्न मिल्ने गरी क्वारेन्टाइन बनाउन लागेको छ । मन्त्री भट्टराईले नगरकोटका होटलहरु र दुवाकोटस्थित केएमसी अस्पतालमा क्वारेन्टाइन बनाउन बुधवार स्थगलत निरीक्षण गरी सहमति जुटाएका छन् । क्वारेन्टाइनमा हुनुपर्ने न्यूनतम मापदण्डसहित व्यवस्थित गरिने उनले बताए ।
 
मन्त्री भट्टराईका अनुसार केन्द्र सरकारले ५ हजार जनाका लागि क्वारेन्टाइन व्यवस्था गरेको छ भने प्रदेशहरुले २–२ हजार जना क्षमताको क्वारेन्टाइन बनाउँदैछन् । त्यस्तै ६ वटा महानगरपालिकालाई पनि २–२ हजार जना राख्ने गरी क्वारेन्टाइन बनाउन भनिएको छ । उपमहानगरपालिकाहरुले १–१ हजार र ७७ जिल्लामा कम्तिमा १–१ हजारका दरले क्वारेन्टाइन बन्दैछन् । सरकारले जनतालाई घरभित्रै रहन भनेको स्मरण गर्दै मन्त्री भट्टराईले अत्यावश्यक अवस्थाका लागि क्वारेन्टाइन तयारी हालतमा राखिने बताएका छन् ।
 
यस्तै, मन्त्री भट्टराईले तत्काल टेकुमा बाहेक अन्यत्र प्रमाणिक ल्याब नभएकाले बाहिरका जिल्लामा गरिएका नमूना संकलनलाई काठमाडौं ल्याउन विराटनगर, नेपालगञ्ज, पोखरा र भैरहवा विमानस्थलमा विमान पठाइने बताए । चिकित्सकहरुको व्यक्तिगत सुृरक्षा उपकरण सहितका अत्यावश्यक मेडिकल सामाग्रीहरु चीन र भारतबाट खरिद गरेर ल्याउनका लागि नेपाल एयरलाइन्सका विमान तयारी हालतमा राखिएको समेत उनले जानकारी दिएका छन् ।
 
मन्त्री भट्टराईले लक डाउनलाई जनताले पूर्णरुपमा पालना नगरे ठूलो जोखिम हुने भन्दै १ साताको लक डाउनले नपुग्ने भएमा २१ दिनसम्म पनि लक डाउन अवधि रहने गरी बस्नुपर्ने हुन सक्ने उल्लेख गरेका छन् ।
 

Post Your Comment