Market Closed

नयाँ गभर्नर : केन्द्रीय बैंकमा उनले चाल्ने कदम र सेयर बजारमा कस्तो हुन्छ सम्बन्ध ?

06 Apr,2020
  • mahaprasad_4_6_2020_5_43_21.jpg
नेपाली पैसा 
 
काठमाडौं : बैंकहरुको पुँजी वृद्धि निर्णयमा निवर्तमान गभर्नर डा. चिरञ्जीवी नेपाललाई दह्रो साथ दिएका महाप्रसाद अधिकारी केन्द्रीय बैंकको गभर्नर नियुक्त भएका छन् । यसअघि डेपुटी गभर्नर भइसकेकाले उनलाई केन्द्रीय बैंक हाक्न खासै कठिनाई नहुने विश्लेषण गर्न सकिन्छ । अहिलेका अर्थमन्त्री गभर्नर हुँदा पनि उनलाई सफल बनाउन अधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । खतिवडा लगत्तै नियुक्त भएका चिरञ्जीवी नेपालाई पनि उनले साथ दिएका थिए । विशेषगरी पुँजी वृद्धि अभियानमा नेपालले अधिकारीको राम्रो सपोर्ट पाएका थिए । सोही कारण बैकहरुको पुँजी २ अर्बबाट ८ अर्ब पुर्याउने बोल्ड निर्णय गर्न नेपाल सफल भएका थिए । 
 
लगानी बोर्डको सीइओ रहेका अधिकारीलाई विशेषतः अर्थमन्त्री खतिवडाको रोजाई अनि प्रधानमन्त्री ओलीको इच्छामा गभर्नर नियुक्त गरिएको हो । अधिकारी गभर्नर नियुक्त भएका बेला मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा छ । कोरोना भाइरसका कारण मुलुक यतिबेला लक डाउनमा छ । लक डाउन खुलेपछि अर्थतन्त्रलाई तत्काल पुनर्ताजकी दिने कार्यक्रम चाहिनेछ । यसका लागि उनले आफ्नो विशेष अनुभव र कार्यकुशलताका साथ मौद्रिक र वित्तीय नीतिहरु अघि सार्ने अपेक्षा गर्न सकिन्छ । 
 
कोरोनाबाट शिथिल अर्थतन्त्रलाई उकास्न केन्द्रीय बैंकको महत्वपूर्ण भूमिका हुनेछ । सरकारको सल्लाहकार मानिने केन्द्रीय बैंकको कदमले ठूलो महत्व राख्ने विश्लेषकहरु बताउँछन । यससँगै उनी डेपुटी गभर्नर भएका बेला अघि सारिएको पुँजी वृद्धि अभियान लगभग सफल भएको छ । अब बिग मर्जरका कुरा अघि बढेका छन् । साथै, माइक्रोफाइनान्स कम्पनीहरुमा पुँजी वृद्धि वा मर्जर भन्ने एजेन्डा पनि चर्चामा छ । यसमा उनले केही दूरगामी निर्णयहरु गर्ने अपेक्षा गरिएको छ । 
 
साथै, बैंकर र ब्यापारी छुट्याउने, संस्थागत सुशासनलाई बलियो बनाउने, केन्द्रीय बैंकमा सरकार विशेष गरी अर्थ मन्त्रालयको हस्तक्षेप न्यूनीकरण गरी स्वायत्त संस्थाको रुपमा अघि बढाउने जिम्मेवारी पनि अधिकारीलाई रहनेछ । यसबाहेक केन्द्रीय बैंकभित्रकै आन्तरिक सुशासन बलियो बनाउने, टिम वर्कमा काम गरी युनियनबाजीलाई कम गर्न पनि उनले भूमिका खेल्नुपर्ने हुन्छ । 
 
यतिमात्र होइन, केन्द्रीय बैंकको निर्णयल पुँजी बजारमा पनि प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । हुन त पुँजी बजार नियामक धितोपत्र बोर्ड हो । केन्द्रीय बैंक पुँजी बजारको नियामक होइन । तर यसले गर्ने नीतिगत निर्णय पुँजी बजार प्रत्यक्ष प्रभावित हुन पुग्छ । किन भने हाम्रो पुँजी बजारमा बैंक तथा वित्तीय क्षेत्रको वर्चस्व छ ।

यसबाहेक  यसले लिने नीतिहरु जस्तो सेयर धितो कर्जा, बैंकहरुको लगानी नीति, सीमा लगायतका प्रावधानले पनि पुँजी बजारमा उत्तिकै प्रभाव पार्छ । यतिमात्र होइन, हाम्रो पुँजी बजार जहिले पनि केन्द्रीय बैंकको पुँजी वृद्धि निर्णयसँग प्रत्यक्ष जोडिएको देखिन्छ । बैंकहरुको पँुजी वृद्धि निर्णयसँगै सेयर बजारले पनि उचाई लिएको इतिहास छ । यसर्थ, आगामी दिनमा उनले चाल्ने कदमले पुँजी बजार पनि प्रभावित हुने विश्लेषण गर्न सकिन्छ ।

साथै, आगामी दिनमा बैंकहरुको पुँजी वृद्धि, बिग मर्जर वा फाइनान्स कम्पनी र विकास बैंकहरु अस्तित्वमा रहने वा नरहने प्रमुख चासो र चर्चाका विषय बनेका छन् । यसैगरी, माइक्रोफाइनान्स कम्पनीहरुको मर्जर र पुँजी वृद्धि कार्यले पनि पुँजी बजारमा प्रत्यक्ष प्रभाव पार्नेछ । बैंक तथा वित्तीय संस्था सबल हुन पुँजी वृद्धि गर्नपर्छ भन्ने मान्यता राख्ने अधिकारीको आगामी कदमले अवश्य पनि सेयर बजारमा प्रभाव पार्ने नै छ ।  

Post Your Comment