Market Closed

भीडभाड कम गर्न महानगरपालिकाले ११ स्थानमा तोक्यो तरकारी बजार

07 Apr,2020
  • tarkari_4_7_2020_1_28_41.jpg


 
 
काठमाडौं : बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष निर्धारण गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले तय गरेका तरकारी बिक्री स्थानहरुमा कलंकी चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गंगबु चोक, बसुन्धरा चोक रहेका छन् । यसैगरी, गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वर चोकमा लक डाउन अवधिभरि वैकल्पिक तरकारी बजार सञ्चालनका लागि स्थान तय गरिएको हो ।  
महानगरपालिकाको कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीका अनुसार पहिलो चरणमा ११ ठाउँबाट थोक बिक्रीका लागि स्थान उपलब्ध गराइएको बताए । “कालीमाटी तथा बल्खुको फलफूल बजारमा बढ्दो भीडभाड नियन्त्रण तथा व्यवस्थापन गर्न हामीले विभिन्न ११ स्थानबाट बिहान ८ः०० बजेसम्म बिक्री गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराइएको छ”, उनले भने । प्रमुख भण्डारीका अनुसार ती स्थानबाट सबै खाले फलफूल र तरकारी उपलब्ध गराइनेछ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले कालीमाटी र बल्खुको फलफूल बजारमा बढ्दो भीडभाड नियन्त्रण गर्न नयाँ व्यवस्था गर्ने निर्णय गरेको हो । त्यसैगरी, बैठकले भन्सार विन्दुमा नै भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूल आयातमा पूर्णरुपमा रोक लगाउन माथिल्लो निकायमा अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै, कृतिम मूल्य वृद्धि हुनबाट रोक्न आवश्यक अनुगमन गर्ने निर्णय पनि गरिएको छ । 
 
रासस

Post Your Comment