वासिङ्टन : अमेरिकाले कोरोना भाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ करोड ४० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले विश्वभरका मुलुकहरुका लागि गरेको सहयोग ११ अर्ब डलर पुगेको छ । विदेशमन्त्री पोम्पेओले शरणार्थी, जोखिममा परेका आप्रवासी र शरणार्थीलाई आश्रय दिने समुदायको जोखिमलाई ध्यान दिएर फेरि सहयोग प्रदान गर्न लागिएको जानकारी दिए ।
विश्वमै आधा शताब्दीभन्दा बढी समयदेखि अमेरिका स्वास्थ्य र मानवीय सहायता प्रदान गर्ने सबैभन्दा ठूलो दाता राष्ट्र रहेको पनि मन्त्री पोम्पेओले बताए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा विगत २४ घण्टामा झण्डै १ लाख ३० हजार नयाँ संक्रमित फेला परेका छन् । योसँगै विश्वमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६४ लाख पुगेको छ भने ३ लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
रासस–एएनआई