Market Closed

सेयर बजारमा उत्साह देखिनुमा के–के छन् कारण ?

30 Jun,2020
  • Bull-market_6_30_2020_1_50_21.jpg
नेपाली पैसा 
 
काठमाडौं : कोरोना र लक डाउनका कारण आहात बनेका सर्वसाधारण लगानीकर्तालाई नेप्सेले भने आशाको सकारात्मक सन्देश दिएको छ । लक डाउनपछि नियमित रुपमा बजार खुलेको दोस्रो दिन मंगलबार सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेर  कारोबार बन्द भएको छ । बजारमा ३ पटकसम्म बढेर सर्किट लागेपछि दिउँसो १ बजेबाट दिनभरका लागि कारोबार रोकिएको हो । नेप्से ६% ले बढेपछि बजार दिनभरका लागि स्थगित भएको हो । अब नेप्से बुधबार मात्र खुल्नेछ ।

सेयर बजार निकै तल जान्छ कि भन्ने आम लगानीकर्तामा यसअघि निकै त्रास पनि थियो । यस्तो त्रासका बीच मंगलबार बजारले लगानीकर्ताको आत्मबल बढाउने काम गरेको छ । यसबीचमा वित्तीय प्रणालीमा पर्याप्त तरलता थपिएको छ । बैंकिङ प्रणाली तरलता सहज हुँदा ब्जाजदर पनि निकै सस्तो भएको छ । यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने देखिएको छ । यसैगरी, अन्य उद्योगधन्दा पूर्णरुपमा नियमित सञ्चालन भइनसकेकाले पनि लगानी गर्ने पहिलो क्षेत्र सेयर बजार भएको छ । यसले पनि नेप्सेमा सुधार हुन सहयोग पुर्याएको हो । 
 
यस्तै, यसबीचमा सरकार तथा नियामकले पनि बजार सुधारका काम अघि बढाएको छ । मौद्रिक नीतिमार्फत पनि सेयर बजारका समस्या समाधान गरिने गभर्नर यसअघि नै प्रष्टीकरण  दिइसकेका छन् । यसले पनि आम लगानीकर्ताको मनोविज्ञान सुधार्न सहयोग पुर्याएको हो । सेयर बजारमा लगानीकर्ताको विश्वासले पनि निकै अहम भूमिका खेल्ने गर्छ । यसर्थ लगानीकर्तामा सकारात्मक भाव हुन जरुरी छ । होल्ड गर्न सक्ने क्षमता पनि उत्तिकै जरुरी हुन्छ । 
 
मंगलबार पहिलोपटक कारोबार खुलेको ४८ मिनेटमा ४% ले बढेर सर्किट लागेको थियो । त्यसबेला २० मिनेट बजार स्थगित भएको थियो । त्यसैगरी, दोस्रोपटक १२ बजेर १७ मिनेट जाँदा पुनः बजार ५% ले बढेपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । फेरि १२ बजेर ५७ मिनेटमा खुलेको बजार जम्मा ३ मिनेट कारोबार हुँदा ६% ले बढ्न गयो । जसका कारण नेप्सेले सर्किट लगाएर कारोबार रोक्न पुग्यो । 
 
नेप्से सूचक मंगलबार ७२.०५ अंकले बढेर १२६०.७५ विन्दुमा आइपुगेको छ । १३४ कम्पनीको २२ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४ लाख ८९ हजार ५३७ कित्ता सेयर कारोबार भएका छन् । होटेल र म्युचुअल फन्ड बाहेक कारोबार भएका बाँकी समूह सबैका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूह ६३४.९८ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक पनि ७३.७२ अंकले बढेको छ । यस दिन करिब दर्जन कम्पनीको भाउ १०% बढेर सर्किट ब्रेकर लागेको छ ।



नागरिक लगानी कोष, एसियन लाइफ, सूर्या लाइफ, नेपाल लाइफ, नेसनल लाइफ इन्सुरेन्स, शिवम सिमेन्ट लगायत थप कम्पनीको भाउ १०% ले बढेको छ । यता, नेपाल पुनर्बिमा कम्पनी, ओरियन्टल होटेल लगायतका कम्पनीको भाउ भने उच्च प्रतिशतले घटेका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ३ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।                     

 
 

Post Your Comment