Market Closed

नलगाड जलविद्युत प्रभावितलाई मुआब्जा वितरण सुरु

06 Jul,2020
  • nalgad_7_6_2020_1_49_13.jpg
 
 
जाजरकोट : कुल ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरण काम सुरु भएको छ । करिब ४६५ घर अर्थात् ४ हजार ६०५ रोपनी जग्गाको मुआब्जा वितरणको काम सुरु भएको हो । प्रतिरोपनी ६ लाख रुपैयाँका दरले मुआब्जा दिने सहमति भएको छ । सोही अनुसार वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । २ अर्ब ७६ करोड ३१ लाख रुपैयाँ मुआब्जा वितरणमा खर्च हुनेछ । सन् २०१५ अप्रिलमा नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदनका लागि अष्ट्रेलियाको स्मेक इन्टरनेसनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेसनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीसँग सम्झौता भएको थियो । 
 
आयोजना स्थलमा निर्माण गरिएका घरहरुको असोजसम्म मूल्यांकन गरी मुआब्जा दिन लागिएको सर्भेएर चीत्र केसीले जानकारी दिए । विद्युत् उत्पादन गृह दल्लीबाट पानी खसाल्ने ठाउँसम्मको सडक निर्माणका लागि बोलपत्र निकाल्ने अन्तिम तयारीमा रहेको इञ्जिनियर पदम थापाले जानकारी दिए । विसं २०७६ भदौ २७ गते मुआब्जा पाउने नामावली सार्वजानिक भई जिल्ला प्रशासन कार्यालय, जाजरकोटले बारेकोट गाउँपालिकालाई डुबान क्षेत्रमा भौतिक संरचना निर्माण कार्य रोक्न अनुरोध गरिसकेको थियो । 

आयोजनाले २०७६ भदौ २७ पछि निर्माण हुने कुनै पनि संरचनाको रकम नदिने निर्णय गरिसकेको छ । अहिले बाँध निर्माणस्थलबाटै सडकसमेत निर्माण भइसकेको छ । अहिले डुबान क्षेत्रमा सरकारी भवन, स्वास्थ्य सेवा, विद्यालय  प्रभावित भएका छन् । डीपीआरको काम पूरा भएर प्रतिवेदन दिन मात्र बाँकी रहेको थापाले बताए । उता, डुबान क्षेत्रमा घर निर्माण गरिरहेका स्थानीयवासीहरु आफूलाई सूचना नै नभएको बताएका छन् । 
 
आयोजनाको डीपीआरको जिम्मा अष्ट्रेलियाको स्मेक इन्टरनेसनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेसनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीले लिएका छन् । कोरोनाका त्रासले काममा अवरोध आए पनि अन्तिम प्रतिवेदनको तयारीमा रहेको आयोजनाका इञ्जिनियर थापाले जानकारी दिए । आयोजना निर्माणस्थलमा प्रभावित हुने क्षेत्र बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाभित्र पर्ने नलगाड नदीमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाबाट यहाँका खानी, जलचर, जडिबुटी र चराचुरुङीमा पर्ने प्रभावका विषयमा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
 
पुस्तौंदेखि बस्दै आएका स्थानीयवासीलाई सही रूपमा व्यवस्थापन गर्नुपर्ने र आयोजना निर्माणस्थलबाट विस्थापित भएकालाई राज्यले कति वर्षसम्म सहयोग गर्ने हो त्यो समेत किटान गर्न आग्रह गर्दै सकेसम्म स्थानीयस्तरमै बसोबासको व्यवस्थापन गर्न आग्रह गरेका छन् । सरकारले आयोजनाको डीपीआर छिटो निर्माण गरी निर्माण प्रक्रियामा लैजाने तयारी गरेको छ । केही दिनअघि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) लाई आग्रह गरेको थियो ।
 
जापानी व्यवसायी एवं जाइकाले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि इच्छासमेत देखाएका छन् । आयोजना निर्माणका लागि १२३ अर्ब लाग्ने अनुमान छ । वातावरणीय व्यवस्थापन अनुमानित लागत ५६ अर्ब लाग्ने आयोजनाले बताएको छ । साढे ६ वर्षभित्र निर्माणकार्य पूरा गर्ने लक्ष्य लिइएको छ । आयोजनाको बाँध भरिँदा ४७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । 
 
कुल ५४५ मिटर चौडाइ र २१० मिटर अग्लो जलाशय हुनेछ । ८ हजार ३०० मिटर लामो भूमिगत सुरुङ निर्माण गरी ४१७ मेगावाट विद्युत् उत्पादन हुने डीपीआरमा उल्लेख छ । आयोजनाले पार्ने वातावरणीय एवं जैविक प्रभाव न्यून गर्नुपर्ने र वातावरणीय संरक्षण नियम २०५४ लाई ध्यान दिनुपर्नेमा जोड दिँदै काम गर्न आग्रह सरोकारवालाले गरेका छन् । आयोजना निर्माणपछि हरित ग्यासको उत्सर्जन घट्ने र कार्बनडाइ अक्साइडको उत्सर्जन हुनबाट सात लाख १७ हजार टन बचत हुनेछ ।
 
आयोजनाबाट नलगाड नगरपालिका–५ र ७, बारेकोट गाउँपालिका– १, २, ५, ६, ७ र ८ प्रभावित हुनेछ । अहिले नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत रूपमा निर्माण हुने विद्युत् उत्पादन गृहको अवस्था (कमजोर, जटिल) पत्ता लगाउन सुरुङको काम चलिरहेको छ । यसअघि गरिएको सम्झौता अनुसार समयमा डीपीआर कार्य सम्पन्न हुन सकेको छैन ।
 
रासस
 

Post Your Comment