Market Closed

मौद्रिक नीतिमा सरोकारवालाको यस्तो छ अपेक्षा

12 Jul,2020
  • sekhar_golchha_7_12_2020_8_48_52.jpg
नेपाली पैसा   
 
काठमाडौं : नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले कोभिड–१९ का कारण प्रभावित निजी क्षेत्रको समस्या समाधान गर्दै पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताएका छन् । प्रवक्ता भट्टले अहिलेसम्म सबै क्षेत्रका विज्ञहरुको सुझाव लिने काम भइसकेको बताए । ‘सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्नेगरी नै मौद्रिक नीति आउँछ, यसले सबै क्षेत्रको सुझावहरु समेट्ने कोशिश गरेको छ ।’ आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले अब आउने मौद्रिक नीतिले आर्थिक पुनरुत्थान गर्ने विश्वास दिलाए ।

उनले भने, ‘मौद्रिक नीति आर्थिक पुनरुत्थानमै जोड छ । अधिकतम लचिलो नीति ल्याउने गरी हामी छलफलमा छौं ।’ मौद्रिक नीतिले कोभिडबाट प्रभावित क्षेत्रलाई चाँडो सञ्चालन गर्न मद्दत पुर्याउने, वित्तीय साधनलाई प्राथमिकीकरण गर्ने, डिजिटलाइजेसनमा जोड दिइने उनको भनाई छ । अहिलेको आर्थिक संकटबाट बचाउनको लागि मौद्रिक नीतिले आधार दिने उनको भनाई छ । 
 
बैंकहरुको कर्जा प्रवाह हुन नसकेका कारण बजारमा तरलता अधिक रहेको छ । बजेटमै व्यवस्था गरिएको पुनर्कर्जा कोषको सही परिचालन र आर्थिक पुनरुत्थानका लागि पनि मौद्रिक नीति केन्द्रित हुने उनले स्पष्ट पारे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यो वर्षको मौद्रिक नीति निकै महत्वपूर्ण भएकाले सबैको यसमा चासो रहेको बताएका छन् । सबै क्षेत्रलाई राहत मिल्नेगरी मौद्रिक नीति आउनुपर्नेमा पनि जोड दिए ।  
 
मुलुकको समग्र अर्थतन्त्रसहित निजी क्षेत्रलाई समेत माथि उकास्नका लागि मौद्रिक नीति व्यवहारिक आउनेमा आफू आशावादी रहेको गोल्छाको भनाई छ । उनले कोभिड–१९ का कारण स्वदेशमा झण्डै ५ लाख श्रम गर्ने युवाहरु विस्थापित भएका छन् । यो भन्दा ठूलो संख्यामा विस्थापित भई बाहिरबाट युवाहरु आउन सक्ने बताउँदै उनीहरुलाई व्यवस्थापन गर्न चुनौती रहेको छ । यसर्थ, यो चुनौतीलाई पनि सम्बोधन गर्नेगरी मौद्रिक नीति आउनुपर्छ, उनले भने । 
 
‘अब तरलता व्यवस्थापनका लागि मुख्य आशा नै मौद्रिक नीति हो ।’ मौद्रिक नीतिमा मुख्यतः पुनर्कर्जा,  ब्याजदर र पुनसंरचनालाई जोड दिनुपर्ने उनले बताए । उनले भने, ‘पुनकर्जाको पहिलाको स्वरुप फेर्नुपर्छ  ।’ गोल्छाले आगामी मौद्रिक नीतिमा तरलता व्यवस्थापन र श्रमिक व्यवस्थापनका लागि विशेष ध्यान दिइनुपर्ने सुझाव दिए । ब्याजलाई पुँजीकृत गर्नुपर्ने उनको तर्क छ । उनले भने, ‘त्यही धितोमा २० प्रतिशत एक्स्ट्रा क्रेडिट दिनुपर्छ ।’
 
यो पैसा कमाउने वर्ष नभएको भन्दै सबैले सर्भाइभ हुनेगरी नीति आउनुपर्नेमा जोड दिए । उनले भने, ‘हामी उठ्न सक्छौं । राष्ट्र बैंकले अलिकति सहयोग गर्नुपर्छ । अहिले सबैले आफ्नो प्रोफिट छोडेर अर्थतन्त्रलाई जोगाउने काम गरौं । यसो गरियो भने समस्या निदान हुन्छ ।’ यसअघि पुनर्कर्जा ठूला व्यवसायीलाई मात्रै दिइने गरिएको सुनाउँदै यो वर्ष ‘स्टिमुलेसन प्याकेज’ आउनुपर्ने र यसबाट साना, मझौला र ठूला सबैले लाभ लिनुपर्ने उनले बताए । 
 
गोल्छाले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियाकै राम्रो रहेको सुनाए । उनले भने, ‘बैंक बलियो हुनुपर्छ । तर, यो वर्ष कम्प्रमाइज गरौं । बैंकिङ चार्जहरु कम गरौं । व्यवसाय बलियो भयो भने बैंक पनि बलियो हुन्छ ।’ अहिलेको संकटबाट मुलुकलाई पार लगाउनका लागि मौद्रिक नीति महत्वपूर्ण हुने बताउँदै आगामी ६ महिनासम्म इकोनोमी ड्राइभ हुने र एक वर्षपछि इकोनोमिक ग्रोथ हुने उनले विश्वास दिलाए ।
 
नेपाल बैंकर्स एसोसिएनका पूर्वअध्यक्ष तथा नेपाल बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानाले बजेटमा आम जनताको अपेक्षा पूरा हुन नसकेकाले अहिले सम्पूर्ण क्षेत्रको ध्यान नेपाल राष्ट्र बैंकतर्फ रहेको बताए । उनले भने, ‘म यो मौद्रिक नीतिमा धेरै अपेक्षा राख्दिन् । यसले कोभिड–१९ र बाढीपहिरोले पारेको समस्यालाई पक्कै सम्बोधन गर्नेछ ।’
 
बैंकको ब्याजदर कम गर्नलाई आफूहरु प्रयासरत रहेको पनि उनको भनाई छ । उनले भने, ‘१५–१६ प्रतिशतको ब्याजदर १२ प्रतिशतमा झरिसकेको छ । अब हामी यसलाई सिंगल डिजिटमा ल्याउने कोशिश गर्दैछौं ।’ उनले राज्यले अति प्रभावित क्षेत्रलाई सुविधा दिनुपर्नेमा जोड दिए । ‘अहिले बाँच्ने र बचाउने बेला हो । मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालीन अवस्था हेरेर आउनुपर्छ,’ उनले भने । 
 
उद्योगी, व्यवसायी, व्यापारी, बैंकर्सलगायत सबै क्षेत्रका सरोकारवालाहरुले मौद्रिक नीतिमा केही अपेक्षा गर्नु स्वभाविक भए पनि मौद्रिक नीतिका केही आफ्नै सीमाहरु हुने तर्क गरे । कोभिडबाट सबैभन्दा बढी, मध्यम र कम प्रभावित गरी ३ भागमा वर्गीकरण गरेर ऋणको किस्ता तिर्ने विषयमा केही न केही समय थप हुने उनले विश्वास दिलाए । 
 
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अहिले राष्ट्र विषम परिस्थितिबाट गुज्रिरहेकाले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति विगतभन्दा फरक आउनुपर्नेमा जोड दिएका छन् । उनले नेपालको अर्थतन्त्र उत्पादनमुखी र निर्यातमुखी बन्नुपर्नेमा जोड दिए । १५० अर्बको ‘स्टिमुलस प्याकेज’ लागू हुनुपर्ने पनि बताए । उनले भने, ‘यो बजेटमा घोषणा भएको छ । तर, कार्यान्वयन भएको छैन् । अब आउने मौद्रिक नीतिले सम्बोधन गर्छ होला । मौद्रिक नीति असारमै आउनुपर्दथ्यो ।’
 
 आम व्यवसायीको लागि मौद्रिक नीतिमा ब्याजदरको कुरा सम्बोधन हुनुपर्ने बताए । उनले अहिले राष्ट्र नै विषम परिस्थितिबाट गुज्रिरहेकाले समग्र क्षेत्र एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘एकले अर्कोलाई सहयोग गर्नुपर्छ । अब आउने मौद्रिक नीतिले तल्लो तहसम्म यसको अनुभूति हुन सकोस् ।’ सरकारी र निजी क्षेत्र मिलेर अघि बढे अहिलेको संकटबाट पार पाउन सकिने उनले बताए । 
 

Post Your Comment