Market Closed

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि फेरि सुरु भयो चार्टर्ड उडान

15 Jul,2020
  • tia_7_15_2020_12_48_02.jpg
 
काठमाडौं : कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आज बुधबारबाट फेरि तेस्रो चरणको चार्टर्ड उडान सुरु हुँदैछ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि १ साता चार्टर्ड उडान गर्न लागेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ ।

सोहीअनुरुप नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि उडान सुरु गर्दैछन् । पछिल्लो चरणमा ४२ उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ भने हिमालयको १५ उडान तालिका रहेको छ । उडान तालिका अनुसार आज बुधबार नेपाल एयरलाइन्सले दुबईमा २ उडान गर्नेछ । हिमालय एयरलाइन्सले आबुधाबीमा २ उडान गर्नेछ । उद्धार उडानका लागि नेपाली एयरलाइन्स सम्बन्धित गन्तव्यमा उडिसकेको विमानस्थलले जनाएको छ ।

यो अवधिमा एयर अरेबिया र फ्लाई दुबईले दैनिक १ उडान गर्नेछन् भने जजिरा एयरले दैनिक २ उडान गरी नेपाली स्वदेश फर्काउने मन्त्रालयले जानकारी दिएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी स्वदेश ल्याउन सरकारले दिएको अनुमति  अनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन् ।

यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बंगलादेश, मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक १६ वटासम्म चार्टर्ड उडान हुँदै आएका छन् ।
 
रासस
 
 

Post Your Comment