Market Closed

कहिलेसम्म रहला बैंकमा अधिक तरलता, के ब्याजदर अझै घट्ला ?

06 Aug,2020
  • interest_8_6_2020_8_56_30.jpg
इशारा कोइराला 
 
काठमाडौं : बैंक तथा वित्तीय संस्थामा केही समययता अधिक तरलता (पर्याप्त लगानी योग्य रकम) को अवस्था छ । पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा करिब २ खर्ब रुपैयाँ तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । यसमध्येबाट बिहीबार केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत २० अर्ब तानेको छ । अधिक तरलताको अवस्था देखिएसँगै बैंक तथा वित्तीय संस्थाहरुमा ब्याजदर घटाउने होड पनि चलेको छ । वित्तीय प्रणालीमा तरलताको अवस्था सहज रहेको, ऋण प्रवाह सुस्त भएको, बैंक दर (बैंकहरुले राष्ट्र बैंकबाट कर्जा लिँदा तिर्नुपर्ने ब्याजदर) घटेको लगायत कारण यसअघि बैंकहरुले निक्षेपको ब्याजदरमा गर्दै आएको भद्र सहमति (एक हिसाबले सिन्डिकेट) समेत तोडिएको छ ।

योसँगै निक्षेपमा बैंकहरुले धमाधम ब्याज घटाउन थालेका हुन् । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज घटाएसँगै त्यसको प्रभाव आधार दर (बेस रेट) मा पनि परेको छ । त्यसैले बैंकहरुको आधार दर पनि घट्दो क्रममा रहेको छ । आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि घट्न थालेको हो । बैंकहरुले आधार दरमा निश्चित प्रतिशत प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्दै आएका छन् । 

सामान्यतयः वित्तीय संस्थाहरुले त्रैमासिक रुपमा नयाँ आधार दर निर्धारण गर्छन् । केहीले भने मासिक रुपमा पनि आधार दर परिवर्तन गरेको देखिन्छ । यसैक्रममा अधिकांश वित्तीय संस्थाले साउनदेखि नयाँ आधारदर निर्धारण गरेर ऋणको ब्याजदर समायोजन गरेका छन् । अहिले अधिकांश ठूला वाणिज्य बैंकहरुले बचतको ब्याजदर न्यून बिन्दुमा झारेका छन् । कर्जाको ब्याजदर पनि विभिन्न स्किमहरु ल्याएर एकल अंकमा झारिरहेका छन् । 
 
अहिलेको अधिक तरलताको अवस्था कहिलेसम्म कायम रहिरहने हो भन्ने चाहिँ यकिन नभएको बैंकरहरु बताउँछन् । तत्काल बढिहाल्छ भन्ने सकिने अवस्था छैन । सोही कारण निक्षेप र कर्जा दुवैको ब्याजदर घटेको एक बैंकरले बताए । अझै निक्षेप र कर्जा दुवैको ब्याजदर घट्न सक्ने आँकलन गरे । उनले भने, ‘कोरोना प्रभाव कहिलेसम्म रहने हो अझै अनिश्चित छ । कोरोना प्रभाव रहँदासम्म ठूला परियोजनामा पैसा जाने सम्भावना न्यून छ । जसले गर्दा बैंकहरुमा भएको अधिक तरलताको अवस्था कति समयसम्म लम्बिने हो भन्ने निश्चितता छैन ।’

‘अझै बैंकहरुले निक्षेप र कर्जा दुवैको ब्याजदर घटाउने तयारीमा छन्’ उनले भने । सरकारी बैंकहरु समेत विभिन्न खालका योजना ल्याएर नयाँ घटेको कर्जाको ब्याजदर सार्वजनिक गर्ने प्रतिस्प्रर्धा देखिएको छ । यसो त ब्याजदरमा चक्रीय प्रभाव पनि देखिने गरेको छ । कम्तिमा २ वर्ष तरलता अभाव हुने अनि लगभग सोही अवधिसम्म तरलता फालाफाल हुने विगतका उदाहरण छन् । यसो भएमा अधिक तरलताको अवस्था अझै लामो समय रहन सक्छ । 
 
यता, कोरोना समस्याका कारण कतिपय ऋणीहरु भने चैत यताको कर्जाको साँवा र ब्याज नै सजिलोसँग तिर्न सकिरहेका छैनन् । यसकारण पनि उनीहरु नयाँ कर्जा माग गर्न सक्ने अवस्थामा छैनन् । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिन थाले पनि ब्याजदर करिडोर मार्फत व्यवस्थापन गर्न राष्ट्र बैंक तयार नभएको बैंकरहरुले आरोप लगाइरहेका छन् । तथापि, केन्द्रीय बैंकले भने तरलता तान्ने काम गरिरहेको छ । साउन लागेयता केन्द्रीय बैंकले दुई पटक गरेर ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । 
 
पूर्वबैंकर अनलराज भट्टराई वित्तीय संस्थामा अधिक तरलता भएपछि केन्द्रीय बैंकले प्रशोचन गर्नुपर्ने हुन्छ । तर बारम्बार तरलता प्रशोचन गर्दा केन्द्रीय बैंकलाई नै वित्तीय व्यवस्थापन गर्न समस्या हुने उनको तर्क छ । यसले पनि केन्द्रीय बैंकले अधिक रहेको सबै तरलता खिच्न सक्ने अवस्था छैन । जसका कारण अधिक तरलताको अवस्था अझै लम्बिन सक्ने अवस्था देखिएको जानकारहरुको भनाई छ । 
 
एक बैंकले अर्कोको ऋण खोस्ने होड पनि सुरु भयो 
 
साउन लागेसँगै निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ । राष्ट्र बैंकका अनुसार, निक्षेप २५ अर्बले घटेको छ भने ऋण ३६ अर्ब रुपैयाँले तल झरेको छ । असार मसान्तमा बैंकहरुसँग ३४ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप थियो । यस्तै, २९ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । तथापि, बैंकरहरु भने कर्जाको माग नै नभएपछि कसरी लगानी विस्तार गर्ने भन्दै केन्द्रीय बैंकले तरलता खिच्नुपर्ने बताउँदै आएका छन् । 
 
बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहाल आफूहरु लगानी गर्न बसेकाले उचित माग भएमा कर्जा प्रवाह गर्न तयार भएको बताउँछन् । नयाँ ऋणको माग नहुँदा बैंकहरुले तरलता व्यवस्थापन गर्न सकिरहेका छैनन् । नयाँ ऋण माग्नेहरु निकै कम भएकाले एउटा बैंकले प्रवाह गरेको ऋण आकर्षक योजना ल्याएर अर्को बैंकले खोस्न थालेको बैकिङ विज्ञ भट्टराई बताउँछन् । जतिसुकै ब्याजदर घटाए पनि अहिलेकै अवस्थामा नयाँ कर्जा प्रवाह हुने सम्भावना तत्काल न्यून रहेको बताउँछन् । यो अवस्था कहिलेसम्म लम्बिने हो अझै निश्चितता नभएको पनि उनको भनाई छ । 
 
 

Post Your Comment