विश्वभरका प्रमुख सेयर बजारको यस्तो छ पछिल्लो अवस्था

07 Aug,2020
  • stock_market_8_7_2020_8_07_50.jpg
 
टोकियो : अधिकांश एसियाली सेयर बजार शुक्रबार ओरालो लागेको छ । संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार तनावका साथै कोरोना भाइरसका कारण उत्पन्न आर्थिक मन्दीले सेयर बजारमा असर परेको हो । लगानीकर्ताहरु शुक्रबार सार्वजनिक हुने अमेरिकी रोजगारको मासिक प्रतिवेदनको समेत प्रतीक्षा गरिरहेका छन् । यो प्रतिवेदनले अमेरिकी अर्थतन्त्रको पछिल्लो अवस्थालाई चित्रण गर्दछ ।

अमेरिकी सेयर बजारमा भने लगानीकर्ताहरु उत्साहित देखिएका छन् । त्यहाँको संसद र ह्वाइट हाउसले अमेरिकी अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउन थप आर्थिक सहायता उपलब्ध गराउने गरी एक सम्झौतामाथि छलफल भइरहेको छ । एसियाली सेयर बजारमा भने कोरोना भाइरस संक्रमण बढेसँगै थप असर परेको  छ । खासगरी दक्षिणपूर्वी एसियाली मुलुकहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप चिन्ता बढेको हो ।
 
सिंगापुरको मिजुहो बैंकका हायाकी नारिताले लक डाउन खुकुलो बनाएसँगै अर्थतन्त्र पुनरुत्थान हुने अपेक्षा गरिए पनि कोरोना संक्रमणको दोस्रो लहर सुरु हुने खतरा रहेको बताए । उनले चीन–अमेरिका व्यापार तनावले समस्या अरु बढाएको बताए । जापानको सेयर बजार निक्की ०.६ प्रतिशतले घटेर २२ हजार २७३ विन्दुमा पुगेको छ भने अस्ट्रेलियाको एसएन्डपी ०.७ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी ०.२ प्रतिशत, हङकङको हाङसेङ १.८ प्रतिशत तथा चीनको सांघाई कम्पोजिट १.२ प्रतिशतले घटेका छन् ।

टोयोटा मोटर कर्पको सेयर भने बिहानीपख २ प्रतिशतले बढेको थियो भने निन्टेन्डो कम्पनीको सेयर पनि २.३ प्रतिशतले सुधार भएको छ । जापानी भिडियो–गेम निर्माता निन्टेन्डोको नाफा बढेसँगै सेयर मूल्य बढेको हो ।गएराति अमेरिकी डाउजोन्स पनि ०.७ प्रतिशतले वृद्धि भएर २७ हजार ३८७ विन्दुमा पुगेको थियो । नास्डाग कम्पोजिटमा पनि १ प्रतिशतले सुधार भई ११ हजार १०८ विन्दुमा अडिएको थियो । अ

मेरिकामै गत साता करिब १२ लाख कामदारले बेरोजगारी भत्ताका लागि आवेदन दिएको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । अघिल्लो हप्ताको तुलनामा यो संख्यामा सामान्य कमी आएको अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकी अर्थशास्त्रीहरुले सोचेझैं यो त्यति खराब अवस्था नरहेको बताइएको छ । यसैगरी, अन्तराष्ट्रिय बजारमा सुनको मूल्य अरु बढेको छ ।

सुनको मूल्य १२ डलरले वृद्धि भई प्रति औंस २ हजार ८१ डलर पुगेको छ । बेन्चमार्क अमेरिकी कच्चा तेलको मूल्य प्रति ब्यारेल १२ सेन्टले घटेर ४१.८३ डलरमा न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा कारोबार भएको छ । बे्रन्ट कच्चा तेलमा भने प्रति ब्यारेल १० सेन्ट बृद्धि भई प्रति ब्यारेल ४४.९० मा कारोबार भएको छ ।
 
रासस–एपी
 
 

Post Your Comment