Market Closed

भारतमा कोरोना भाइरसको १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा

27 Nov,2020
  • corona_11_27_2020_3_09_20.jpg
 
मस्को : कोरोना भाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले बताएको छ । रुसको प्रत्यक्ष लगानी कोष (आरडीआइएफ) ले एक विज्ञप्ति प्रकाशन गरी भारतीय कम्पनी हेटेरोले प्रतिवर्ष १० करोड डोज खोप उत्पादन गर्ने बताएको हो । खोपको उत्पादन सन् २०२१ को शुरुदेखि नै प्रारम्भ हुनेछ । 
 
यसै साताको प्रारम्भमा रसियाले स्पुतनिक खोपको क्लिनिकल परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको थियो । अमेरिकाका २ कम्पनीले पनि आफ्ना खोपहरु ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइसकेका छन् । रसियाले स्पुतनिक खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति डोजको १० अमेरिकी डलर पर्ने जनाएको छ । यो अन्य खोपहरुको तुलनामा निकै सस्तो रहेको बताइएको छ ।
 
रसियाले गत अगस्टमै कोरोना भाइरस विरुद्धको खोप तयार पारेको घोषणा गरेको थियो । तर ठूलो स्तरको क्लिनिकल परीक्षण बेगर नै रसियाले आफ्नो खोप प्रभावकारी रहेको दाबी गरेपछि आशंका उत्पन्न भएको थियो । हाल स्पुतनिक खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी रहेको छ । यस खोपका लागि ४० हजार व्यक्तिले स्वयंसेविका रुपमा सहभागिता जनाएका छन् । 
 
तेस्रो चरणको परीक्षण पूर्व सोभियत गणतन्त्र बेलारुस, युनाइटेड अरब इमिरेट्स र भेनेजुएला समेतका मुलुकमा जारी छ । भारत बाहेक आरडीआइएफले स्पुतनिक खोप ब्राजिल, चीन र दक्षिण कोरियामा समेत उत्पादन हुने बताएको छ । आरडीआइएफका प्रमुख किरिल डिमिट्रिएभले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा स्पुतनिक खोप निकै सफल देखिएकाले यसलाई प्रयोग गर्न धेरै मुलुक इच्छुक हुने विश्वास व्यक्त गरे ।  
 
रासस–एएफपी

Post Your Comment