काठमाडौं : वाणिज्य बैंकहरुमा निक्षेप फालाफाल भएको छ । तरलता थुप्रिएपछि ब्याजदर निकै सस्तो भएको छ । पछिल्लो समय कर्जा प्रवाह बढे पनि निक्षेपको तुलनामा कर्जा प्रवाहको अवस्था अझै थोरै छ । निक्षेप अधिक भएपछि केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट एकैपटक ५० अर्ब रुपैयाँ तान्ने भएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले १ सातामा १६ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।
संघका अनुसार बैंकहरुले मंसिर १२ गतेसम्म ३० खर्ब ६६ अर्ब रुपैयाँ बराबरको कर्जा विस्तार गरेका हुन् । मंसिर ५ गतेसम्म बैंकहरुले ३० खर्ब ५० अर्ब रुपैयाँ मात्रै कर्जा विस्तार गरेका थिए । कात्तिक मसान्तमा वाणिज्य बैंकहरुले ३० खर्ब ५२ अर्ब रुपैयाँ बराबरको कर्जा विस्तार गरेका थिए । यता, १ सताको अवधिमा निक्षेप संकलन १९ अर्ब रुपैयाँले बढेको छ ।
मंसिर १२ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ३६ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् । यस अवधिमा निक्षेप वृद्धि हुनुमा रेमिटेन्स आप्रवाह नघट्नुलाई प्रमुख कारणको रुपमा लिइएको छ । निक्षेपको प्रमुख स्रोत वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने रेमिट्यान्स बढि रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।