Market Closed

इन्भेस्टमेन्टले ४१ प्रतिशत लाभांश दिने, लाभांश घोषणा गर्ने पहिलो बैंक

22 Aug,2016
  • nib_8_22_2016_11_44_38.jpg
नेपाली पैसा
काठमाडौं : नेपाल इन्भेस्टमेन्ट बैंकले लगानीकर्तालाई ४१ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले ४१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको प्रस्तावलाई नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

इन्भेस्टमेन्ट बैंक यसपटक वाणिज्य बैंकहरूमा सबैभन्दा पहिला लाभांश घोषणा गर्ने बैंक पनि बनेको छ । यसआधारमा बैंकको साधारण सभा पनि दसैंअघि नै हुन सक्ने देखिएको छ ।

वित्तीय विवरण, लाभांश घोषणा र साधारण सभा छिटो गर्दा कम्पनी र यसको संस्थागत सुशासनप्रति लगानीकर्ताको विश्वास बढ्न जान्छ । इन्भेस्टमेन्टले आर्थिक वर्ष २०७२–७३ मा दुई अर्ब ५५ करोड आठ लाख ८४ हजार रूपैयाँ खुद नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले खुद नाफा ५८ करोड ९० लाख ३२ हजार रूपैयाँ बढाउन सफल भएको हो । एफपीओ सेयर जारी गरेपछि बैंकको वित्तीय सूचकहरू निकै सबल देखिएका छन् ।

सात अर्ब २५ करोड ५५ लाख १० हजार रूपैयाँ चुक्ता पुँजी भएको यो बैंकको रिजर्भ कोषमा १० अर्ब ५५ करोड ५८ लाख ९९ हजार रूपैयाँ जम्मा भइसकेको छ । एनआइबीको रिजर्भले लगानीकर्ता लोभ्याउने देखिन्छ । धेरै चुक्ता पुँजी भएको बैंकमा रिजर्भ अझ बढी हुनु सकारात्मक पक्ष हो ।

बैंकले व्यापारको आकारलाई पनि निकै ठूलो र फराकिलो बनाउँदै लगेको देखिन्छ । एक खर्ब आठ अर्ब ६२ करोड ६६ लाख ४२ हजार रूपैयाँ निक्षेप संकलन गर्न एनआइबी सफल भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३५.१६ रूपैयाँ, प्रतिसेयर नेटवर्थ २४५.४९ रूपैयाँ रहेको छ । रिजर्भमा आकर्षक पैसा रहेकाले बैंकले प्रतिसेयर आम्दानीभन्दा बढी लाभांश प्रस्ताव गर्न सकेको हो ।


Post Your Comment