Market Closed

सफलताको अर्को नाम इन्भेष्टमेन्ट बैंक, खुद नाफा १९.३७% बढ्दा रिजर्भ कोष झनै मजबुत

25 Apr,2018
  • Nepal-investment-bank-Ltd_1_4_25_2018_10_42_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंकले फेरि एकपटक आफूलाई अग्नि परीक्षामा खरो उतार्न सफल भएको छ । बारम्बार सबल प्रमाणित गर्दै आएको यस बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि लगानीकर्ताको मुहारमा चमक ल्याउन कुनै पनि कसर बाँकी राखेन । सफलताको अर्को नाम नेपाल इन्भेष्टमेन्ट बैंक हो भन्ने यसले पुनः प्रमाणित गरिदिएको छ । इन्भेष्टमेन्टले बुधबार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्ट मार्फत २ अर्ब ८३ करोड ८४ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको तथ्य बाहिर ल्याएको हो ।

बैंकले गत वर्ष भन्दा १९.३७% ले खुद नाफा बढाउन सफल भएको छ । चुक्ता पुँजीमा व्यापक बढोत्तरी भइरहँदा पनि नाफालाई अत्यन्तै सन्तुलित हिसाबले अघि बढाउन सक्नु नै इन्भेष्टमेन्टको सबैभन्दा ठूलो सफलता हो । गत वर्ष यस बैंकले २ अर्ब ३७ करोड ७६ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, बैंकले खुद ब्याज आम्दानी पनि १८.४१% ले बढोत्तरी गरेर ४ अर्ब ११ करोड ८५ लाख ५६७ हजार रुपैयाँ पुर्याएको छ । 
 
गत वर्ष इन्भेष्टमेन्टले ३ अर्ब ४७ करोड ८१ लख ८१ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, सञ्चालन नाफा पनि ३ अर्ब ४५ करोडबाट बढेर ३ अर्ब ७५ करोड ६४ लाख ७५ हजार रुपैयाँ पुगेको छ । खुद नाफा वृद्धि गर्न ब्याज आम्दानी र सञ्चालन नाफाले सहयोग पुर्याएको देखिन्छ । 
 
निक्षेप १ खर्ब १९ अर्ब रुपैयाँबाट वृद्धि गरेर १ खर्ब ३० अर्ब १९ करोड ७४ लाख ५७ हजार रुपैयाँ पुर्याएको यस बैंकले १ खर्ब १८ अर्ब ८६ करोड ७ लाख ५३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेपसँगै लगानी पनि बढाउँदै जान सक्नु बैंकको अर्को सफलता हो । इन्भेष्टमेन्टले यस अवधिमा ५९ करोड ९४ हजार रुपैयाँ राइट ब्याक गरेको छ । खराब कर्जा भने थोरैले बढेर ०.७६% पुगेको छ । गत वर्ष खराब कर्जा ०.६४% मात्र थियो ।
 
चुक्ता पुँजी १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा १० अर्ब ९१ करोड ९८ लाख ९७ हजार रुपैयाँ छ । चुक्ता पुँजी भन्दा अझै रिजर्भ कोषको आकार ठूलो बनाउन सक्नु बैंकको अर्को सफलता देखिन्छ ।  गत वर्ष इन्भेष्टमेन्टको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ६९ लाख १३ हजार रुपैयाँ थियो भने रिजर्भमा ९ अर्ब ९५ करोड ८८ लाख ३९ हजार रुपैयाँ थियो । 
 
बैंकको कस्ट अफ फन्ड भने ४.४५% बाट बढेर ६.३५% पुगेको छ । कर्जा निक्षेप अनुपात ७८.०३% छ । गत वर्ष कर्जा निक्षेप अनुपात ६९.१७% थियो । इन्भेष्टमेन्टको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ५८ पैसा रहेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३६ रुपैयाँ २४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ २६ पैसा थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको तेस्रो त्रैमासको सम्पूर्ण वित्तीय विवरण यहाँबाट अध्ययन गर्नुहोस् 
 

Post Your Comment