Market Closed

एनआइसी र सिटिजन्समा पछिल्लोपटक हकप्रद भरेकाले पनि पाउने भए लाभांश

30 Aug,2016
  • nic-asia_8_30_2016_1_32_27.jpg
नेपाली पैसा 
काठमाडौं : एनआइसी एसिया र सिटिजन्स बैंक इन्टरनेसनमा पछिल्लो समय हकप्रद सेयर भरेका लगानीकर्ताले पनि लाभांश पाउने भएका छन् । 
 
एनआइसी एसिया र सिटिजन्स बैंकले केही समयअघि मात्र हकप्रद सेयर बिक्री गरेका थिए । बिक्री नभएको हकप्रदको एनआइसीले लिलाम बढाबढबाट बेचेको छ । 
 
सिटिजन्स बैंकले पनि हकप्रदमा बिक्री नभएको सेयरलाई लिलामीमा लगेको छ । भर्खरै हकप्रद भरेका लगानीकर्ताले २०७२–७३ को नाफाबाट बैंकहरूले घोषणा गरेका बोनस र नगद लाभांश पाउने कि नपाउने भन्नेमा कतिपय लगानीकर्ताबीच दुविधा उत्पन्न भएको छ । 
 
यी बैंकहरूले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरे पनि बुक क्लोज गरेका छैनन् । बुक क्लोज अघि सेयर भरेर बाँडफाँट भएपछि लाभांश दिनैपर्ने हुन्छ । 
 
हकप्रद सेयर भरेपछि पाउने निश्चित जस्तै हुन्छ । हकप्रद भरिसकेका लगानीकर्ताले लाभांश पाउने सम्बद्ध बैंक तथा सेयर रजिष्ट्रारहरूले पनि जानकारी दिएका छन् । 
 
सिटिजन्सले पनि लिलामीमा लगेको सेयरको बोलपत्र खुला असोज ४ मा गर्ने भएको छ । त्यस समयसम्म बुक क्लोज नभएमा बोलपत्र भर्नेले लाभांश पाउनेछन् ।

तर बुक क्लोज त्यसअघि नै भएमा भने दिन नमिल्ने देखिन्छ । सिटिजन्सले बोलकबोलमा लगेको सेयरमा आवेदन दिने समय भदौ ३१ सम्म तोकेको छ । 
 
सिभिल क्यापिटल लिमिटेडका मर्चेन्ट बैंकिङ प्रमुख कमल खत्रीले हकप्रद भरिसकेका लगानीकर्ताले सम्बद्ध बैंकले प्रस्ताव गरेका लाभांश पाउने जानकारी दिए । 
 
‘एनआइसी बैंकको हकमा हकप्रद भरेका अनि लिलामी सेयर पारेका सबै लगानीकर्ताले बोनस र नगद लाभांश पाउनेछन्,’ उनले भने । सेयर बाँडफाँट  भइसकेपछि लाभांश दिनैपर्ने उनले बताए । 
 
एनआइसी एसिया बैंकको सेयर रजिष्ट्रार तथा बिक्री प्रबन्धककको काम सिभिल क्यापिटल लिमिटेड गर्छ । 


 
उता, सिटिजन्स बैंकको बिक्री प्रबन्धक एवं सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पनि सिटिजन्समा ५५ प्रतिशत हकप्रद भरेका लगानीकर्ताले अहिले प्रस्ताव गरिएको लाभांश पाउने जानकारी दिएको छ ।

एनआइसी एसिया बैंकले २६ प्रतिशत बोनस सेयर र १.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यो बैंकले केही समयअघि मात्रै २५ प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो ।

बोनसपछि फेरि १५ प्रतिशत हकप्रद ल्याउने बैंकले घोषणा गरिसकेको छ । सिटिजन्स बैंकले पनि २४.४९ प्रतिशत बोनस र १.२९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 
 
दुवै बैंकले हकप्रद जारीपछिको पुँजीमा बोनस दिएर चुक्ता पुँजी बढेको देखाउने भएका छन् । हकप्रदलाई समेत जोडेर बोनस दिएपछि बैंकको चुक्ता पुँजीको आकार थप बढ्नेछ । 
 

Post Your Comment