Market Closed

राष्ट्र बैंकबाट एनआइसी एसियाको बोनस पास, असोज १८ मा साधारण सभा, १५ प्रतिशत हकप्रद

12 Sep,2016
  • nic-asia_9_12_2016_1_43_11.jpg
नेपाली पैसा 
काठमाडौं : एनआइसी एसिया बैंकले प्रस्ताव गरेको लाभांशलाई नियामक नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । 
 
बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २६ प्रतिशत बोनस सेयर र १.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव राष्ट्र बैंकमा लगेको थियो । 
 
एनआइसी एसियाले आफ्नो प्रस्ताव नियामक राष्ट्र बैंकले अनुमोदन गरेको जानकारी दिएको छ । अब एनआइसीको प्रस्तावलाई आगामी साधारण सभाले पनि अनुमोदन गर्नुपर्छ ।
एनआइसीले बोनस सेयरपछि लगानीकर्तालाई फेरि १५ प्रतिशत हकप्रद सेयर दिने भएको छ । १५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने विशेष प्रस्ताव पनि बैंकले साधारण सभामा लैजादैछ । 
 
बोनस र हकप्रदसहितका अन्य प्रस्ताव पारित गर्न एनआइसीले असोज १८ गते साधारण सभा बोलाएको छ । 
 
साधारण सभाका लागि भदौ असोज ५ देखि १८ गतेसम्म सेयरधनी दर्ता किताब बन्द हुँदैछ । बैंकले प्रस्ताव गरेको लाभांश पाउन असोज ५ गते भन्दा अघि सेयर किनिसकेको हुनुपर्नेछ ।
एनआइसीले केही समयअघि चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर बिक्री गरिसकेको छ । यो हकप्रद भरेकाले पनि २६ प्रतिशत बोनस पाउनेछन् । 
 
यो बोनसपछि कायम हुने पुँजीको फेरि १५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागिएको हो । 
बोनसपछि फेरि १५ प्रतिशत हकप्रद जारी गर्दा बैंकको चुक्ता पुँजी ६ अर्ब ५६ करोड हाराहारीमा पुग्नेछ । 
 
राष्ट्र बैंकले तोकेको आठ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन एनआइसीले बोनस र हकप्रदको अस्त्र प्रयोग गरेको हो । एनआइसी बैंक अफ एसियासँग मर्ज हुने पहिलो कमर्सियल बैंक पनि हो । 

Post Your Comment