Market Closed

भारीमात्रामा चुक्ता पुँजी वृद्धि हुँदा पनि कमजोर देखिएन एनआइसी, निक्षेप र कर्जामा तरक्की

21 Oct,2016
  • NICASIA_10_21_2016_11_26_29.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनआइसी एसिया बैंकले पहिलो त्रैमासिक रिपोर्टमै प्रगतिको सन्देश दिएको छ ।
बैंककोे गत आर्थिक वर्षको तुलनामा चुक्ता पुँजी भारीमात्रामा वृद्धि हुँदा पनि नाफामा सोही हिसाबले बढाउन सफल भएको छ । 
 
एनआइसीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको वित्तीय विवरण अनुसार खुद नाफा २६ करोड १० लाख ४६ हजार रूपैयाँ छ । यो नाफा अघिल्लो वर्षको यसैअवधिको भन्दा करिब ११ करोडले बढी हो । 
 
गत आर्थिक वर्ष पहिलो त्रैमासमा बैंकको खुद नाफा जम्मा १५ करोड ७३ लाख ९१ हजार रूपैयाँमात्र थियो । तर गत वर्षको असोज मसान्तको तुलनामा अहिले बैंकको चुक्ता पुँजीमा भने भारी मात्रामा वृद्धि भइसकेको छ । 
 
गत वर्ष यसबेला चुक्ता पुँजी जम्मा दुई अर्ब ६५ करोड ८२ लाख ८५ हजार रूपैयाँमात्र रहेकामा यतिबेला एनआइसीको चुक्ता पुँजी पाँच अर्ब ८१ करोड ९६ लाख ५० हजार रूपैयाँ पुगिसकेको छ । 
 
चुक्ता पुँजी वृद्धिसँगै नाफालाई पनि सोही अनुपातमा अघि बढाइरहनु बैंकको आगामी दिनको प्रमुख चुनौती हो । 
 
चुक्ता पुँजी भारीमात्रामा वृद्धि हुँदा पनि बैंकको रिजर्भ कोष तुलनात्मकरूपमा सबल नै देखिन्छ । हाल एनआइसीको रिजर्भ कोषमा दुई अर्ब १८ करोड ७५ लाख ९८ हजार रूपैयाँ छ । गत वर्ष रिजर्भमा तीन अर्ब ७ करोड रूपैयाँभन्दा बढी थियो । 
 
एनआइसीको अर्को सुखद पक्ष भनेको निक्षेप संकलन र कर्जा प्रवाहमा पनि भारीमात्रामा बढोत्तरी गर्न सक्नु हो । 
 
बैंकले असोज मसान्तसम्म आइपुग्दा ७२ अर्ब ४७ करोड ८७ लाख आठ हजार रूपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरिसकेको छ । 
 
भारीमात्रामा निक्षेप स्वीकार गरी सोही अनुपातमा कर्जा प्रवाह गरेकाले बैंकले आगामी दिनहरूमा नाफा पनि मनग्ये बढाउँदै लैजाने अनुमान गर्न सकिन्छ । 
 
बैंकले यसअवधिमा ५६ करोड ७४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खराब कर्जा अनुपातलाई ०.९० प्रतिशतमै सीमित गरिदिएर सुरक्षित लगानी गर्न सफल भएको सन्देश लगानीकर्तालाई दिएको छ । 
 
एनआइसीको प्रतिसेयर आम्दानी १७.९ रूपैयाँ, रिटर्न अन इक्विटी १३.६ प्रतिशत अनि प्रतिसेयर नेटवर्थ १३७.५९ रूपैयाँ छ । 
 

Post Your Comment