नेपाली पैसा
काठमाडौं :
नेपाल इन्सुरेन्सले असार ३ गतेदेखि १ लाख ६१ हजार १२४.१० कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले सर्वसाधारण समूहको १ लाख ५८ हजार ९४६.८० कित्ता र संस्थापक समूहको २ हजार १७७.३० कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो । सेयरधनीले संस्थापक समूहको सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा १०० कित्ता सम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १०० रुपैयाँ अंकित मूल्यको यो लिलामीमा असार १० गतेसम्म भर्न सकिनेछ ।
यसअघि कम्पनीले वैशाख ५ गतेदेखि जेठ ८ गतेसम्म ३० लाख १९ हजार ८८६.१० कित्ता (१००%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ३ हजार १९४ जना आवेदकबाट २८ लाख ५८ हजार ७६२ कित्ता सेयरको लागि मात्र आवेदन परेको थियो । बाँकी रहेको सेयर बैंकले लिलामी मार्फत बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
हाल नेपाल इन्सुरेन्सको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि चुक्ता ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ । पुँजी बढाउन प्रयासरत यस कम्पनीले फेरि ६५% हकप्रद सेयर जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीको वैशाख ११ गते सम्पन्न साधारण सभाले ६५% हकप्रद ल्याउने प्रस्ताव पारित गरेको हो ।
बिमा समितिले तोकेको न्यूनतम पुँजी पुर्याउन नेपाल इन्सुरेन्स पुनः हकप्रदको बाटोमा लागेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस कम्पनीले ६ करोड ८२ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा रहेको नेपाल इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ९१ पैसा छ ।