Market Closed

निर्जीवन बिमा कम्पनीहरुमा देखियो चमक : नेको इन्सुरेन्सको नाफा सर्वाधिक

19 Nov,2020
  • Insurance-2_11_19_2020_7_56_58.jpg
इशारा कोइराला
 
काठमाडौं : सूचीकृत १८ मध्ये १७ वटा बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जनरल इन्सुरेन्सले भने हालसम्म वित्तीय विवरण सार्वजनिक गरेको छैन । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको नाफा लगायत प्रमुख सूचकमा वृद्धि देखिएको छ । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नेको इन्सुरेन्स अग्रस्थानमा रहेको छ ।

नाफामा नेकोले शिखर इन्सुरेन्सलाई समेत उछिनेको छ । यसआधार नेको आक्रामकरुपमा अघि बढेको देखिन्छ । चुक्ता पुँजीमा भने शिखर इन्सुरेन्स अघि छ । यता, नयाँ कम्पनीहरु अजोड र सानिमा जनरलले पनि नाफामा छलाङ मारेका छन् । अब तथ्यांकमा हेरौं कुन इन्सुरेन्सको कस्तो छ पछिल्लो अवस्था कस्तो 
 
शिखर इन्सुरेन्सको पुँजी सबैभन्दा धेरै
 
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा शिखर इन्सुरेन्सको चुक्ता पुँजी सबै भन्दा धेरै रहेको छ । यसअवधिमा शिखरको चुक्ता पुँजी ३०% ले बढेर १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुगेको छ । ११ कम्पनीको चुक्ता पुँजी गत वर्षको भन्दा बढेको छ ।



यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा युनाइटेड इन्सुरेन्स रहेको छ । यसले यसैवर्ष २४०% हकप्रद सेयर जारी गरेको थियो । गत वर्ष ३० करोड २४ लाख रहेको चुक्ता पुँजी यस वर्ष १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुगेको छ । ६ कम्पनीको पुँजी भने गत वर्षकै यथावत छ । 
 
१३ कम्पनीको जगेडा कोष वृद्धि
 
१ वर्षको अवधिमा १३ कम्पनीको जगेडा कोष बढेको छ । सबैभन्दा धेरै जगेडा कोष बढ्नेमा अजोड इन्सुरेन्स रहेको छ । यसको जगेडा कोष २८०.५४% ले बढेर ६ करोड ९३ लाख ७० हजार रुपैयाँ पुगेको छ । यस इन्सुरेन्सले गत वर्ष मात्रै आइपीओ जारी गरेको हो ।



यसअवधिमा सबैभन्दा धेरै जगेडा कोष राष्ट्रिय बिमा कम्पनीको रहेको छ । यसको जगेडा कोष २०% ले बढेर २ अर्ब ९९ करोड ४२ लाख ४३ हजार रुपैयाँ पुगेको छ । ४ कम्पनीको जगेडा कोष भने गत वर्षको भन्दा घटेको छ । 
 
१७ वटै कम्पनीको बिमा कोष बढ्यो
 
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा १७ वटै कम्पनीको बिमा कोषको आकार वृद्धि भएको छ । यसअवधिमा सबैभन्दा धेरै बिमा कोष बढ्नेमा अजोड इन्सुरेन्स छ । यसको बिमा कोष १७४.५८% ले बढेर ८ करोड ८१ लाख २७ हजार रुपैयाँ पुगेको छ ।



गत वर्ष यसको बिमा कोषमा ३ करोड २० लाख ९५ हजार रुपैयाँ थियो । यता, रकममा सबैभन्दा धेरै बिमा कोष राष्ट्रिय बिमा कम्पनीको छ । यसको बिमा कोष २८.३२% ले बढेर २ अर्ब २७ करोड ५९ लाख १२ हजार रुपैयाँ पुगेको छ । 
 
१५ कम्पनीको नाफा वृद्धि 

असोज मसान्तसम्म आइपुग्दा १५ कम्पनीको नाफा बढेको छ । हिमालयन जनरल र राष्ट्रिय बिमा कम्पनीको नाफा भने गत वर्षकोभन्दा घटेको छ । यसअवधिमा सबैभन्दा धेरै नाफा बढाउनेमा अजोड इन्सुरेन्स रहेको छ । यसको नाफा ५८०.४४% ले बढेर ५ करोड ३० लाख ५४ हजार रुपैयाँ पुगेको छ ।



यता, सबैभन्दा धेरै नाफा कमाउनेमा नेको इन्सुरेन्स छ । यसको नाफा ६५.२१% ले बढेर १२ करोड ४४ लाख ५८ हजार रुपैयाँ पुगेको छ । शिखर इन्सुरेन्सको नाफा १२ करोड २३ लाख २ हजार रुपैयाँ छ । 
 
राष्ट्रिय बिमा कम्पनीको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै
 
असोज मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी राष्ट्रिय बिमा कम्पनीको रहेको छ । यसअवधिमा यसको प्रतिसेयर आम्दानी ७७ रुपैयाँ ७० पैसा छ । यो गत वर्षको भन्दा १३ रुपैयाँ ८६ पैसा कम हो । यसपटक सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्नेमा नेको इन्सुरेन्स रहेको छ ।



यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९८ पैसाले बढेर ३७ रुपैयाँ ७९ पैसा पुगेको छ । १ वर्षको अवधिमा ९ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने ७ कम्पनीको घटेको छ । सानिमा जनरल इन्सुरेन्सले यसै वर्ष आइपीओ जारी गरेकाले अघिल्लो वर्षको प्रतिसेयर आम्दानी वित्तीय विवरणमा समावेश छैन । 
 

Post Your Comment