बिमा कम्पनीहरु कमाउने प्रतिस्पर्धामा खरो उत्रिए, कसको नाफा कति ? (तथ्यांकसहित)

15 Feb,2018
  • insurance-companies-1_2_15_2018_6_17_22.jpg
सोभित थपलिया 
 
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा अधिकाशं जीवन तथा निर्जीवन बिमा कम्पनीहरुले बिमा समितिले न्यूनतम चुक्ता पुँजी पुर्याउन पहल गरिरहेका देखिन्छन् । बिमा समितिले जीवन बिमा कम्पनीलाई २ अर्ब र निर्जीबन बिमा कम्पनीहरुलाई १ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी पुर्याउने निर्देशन दिएको छ । समितिले आगामी असार मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण आउँदासम्म जीवन बिमा कम्पनीमध्ये नेपाल लाइफ इन्सुरेन्सको मात्र तोकिएको चुक्ता पुँजी पुगेको छ । यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सको चुक्ता पुँजी ३ अर्ब ९ करोड ६४ लाख २८ हजार रुपैयाँ पुगेको देखिन्छ ।

यस्तै, सिटिजन लाइफ इन्सुरेन्सको १ अर्ब ७५ करोड रुपैयाँ छ । यो नयाँ कम्पनीले अब सर्वसाधारणमा आइपीओ जारी गरेर चुक्ता पुँजी पुर्याउनुपर्छ । नेसनल लाइफ इन्सुरेन्सको चुक्ता पुँजी पनि १ अर्ब ६५ करोड ६० लाख ७९ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सको बिमा कोषमा ४५ अर्ब ६३ करोड ४१ लाख १४ हजार रुपैयाँ जम्मा भएको छ । लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको बिमा कोषमा ३८ अर्ब २१ करोड ९१ लाख ५३ हजार रुपैयाँ रहेको छ । यस्तै, प्राइम लाइफ इन्सुरेन्सको जीवन बिमा कोषमा ५ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । 

 
जीवन बिमा कम्पनीहरुमध्ये सबै भन्दा बढी नाफा आर्जन गर्नेमा नेपाल लाइफ इन्सुरेन्स परेको छ । नेपाल लाइफले २७ करोड ९६ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, नेसनल लाइफले पनि १७ करोड ८ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अवधिमा सबैभन्दा बढी प्रतिसेयर आम्दानी हुनेमा भने प्राइम लाइफ इन्सुरेन्स देखिएको छ । प्राइमको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७६ पैसा रहेको छ । उता, नेसनल लाइफको २० रुपैयाँ ६३ पैसा, सूर्या लाइफको २० रुपैयाँ १३ पैसा रहेको छ ।  यता, प्रतिसेयर नेटवर्थ सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको छ । नेपाल लाइफको प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ९३ पैसा छ । यस्तै, प्राइम लाइफ इन्सुरेन्सको २६६ रुपैयाँ ५६ पैसा रहेको छ । 

 
अधिकांश निर्जीवन बिमा कम्पनीहरुको पनि तोकिएको चुक्ता पुँजी पुगिसकेको अवस्था छैन । अहिलेसम्म बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउने बिमा कम्पनीरुमा शिखर इन्सुरेन्स र हिमालयन जनरल इन्सुरेन्स परेका छन् । शिखर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको छ भने हिमालयन जनरल इन्सुरेन्सले १ अर्ब २ करोड ७२ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याइसकेको छ । दोस्रो त्रैमासमा आइपुग्दा निर्जीवन बिमा कम्पनीहरुमध्ये बिमा कोषमा सबै भन्दा बढी राष्ट्रिय बिमा कम्पनीको १ अर्ब २६ करोड ३० लाख ९० हजार रुपैयाँ रहेको छ ।

यस्तै, सबैभन्दा बढी खुद नाफा आर्जन गर्ने निर्जीवन बिमा कम्पनीमा राष्ट्रिय बिमा कम्पनी नै रहेको छ । यो कम्पनीले ३७ करोड २५ लाख ४ हजार रुपैयाँ पुगेको छ । यस्तै, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ अधिक हुनेमा पनि राष्ट्रिय बिमा कम्पनी नै अघि देखिएको छ । यस कम्पनीको प्रतिसेयर आम्दानी १३९ रुपैयाँ ७० पैसा छ भने प्रतिसेयर नेटवर्थ ८४३ रुपैयाँ ११ पैसा छ ।
 
 
 
 
 

Post Your Comment