Market Closed

नेपाल लाइफको एफपीओमा न्यूनतम १० र अधिकतम ३०, ९६० कित्ता भर्न पाइने, यस्तो छ कम्पनीको वित्तीय अवस्था

03 Jan,2017
  • nepal-life-_1_3_2017_11_14_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सले पुस २७ देखि एफपीओ बिक्री गर्न आव्हानपत्र सार्वजनिक गरेको छ । सिद्धार्थ बैंकका प्रायः सबै शाखा कार्यालयबाट सेयर आवेदन दिन पाइने व्यवस्था गरिएको छ । यसबाहेक सिद्धार्थ क्यापिटल, नेपाल लाइफ इन्सुरेन्सको कमलादी हेरिटेज प्लाजामा पनि आवेदन दिन सकिनेछ । तर यी शाखाबाट चेकमात्र बुझ्ने व्यवस्था गरिएको छ । कम्पनीले कुल ७९ वटा केन्द्रबाट सेयर फारम लिन र बुझाउन सक्ने व्यवस्था गरेको छ । यसआधारमा नेपाल लाइफको एफपीओ भर्न तुलनात्मकरूपमा निकै सहज हुने देखिन्छ । यो एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३० हजार नौ सय ६० कित्तासम्म आवेदन दिन पाइनेछ । माघ २ गतेसम्म सेयर भर्न पाइनेछ । 
 
नेपाल लाइफको एफपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्दैछ । नेपाल लाइफको हाल चुक्ता पुँजी दुई अर्ब १६ करोड ७५ लाख रूपैयाँ रहेको छ । एफपीओ बाँडफाँटपछि चुक्ता पुँजी दुई अर्ब ४७ करोड ७१ लाख ४२ हजार नौ सय रूपैयाँ पुग्नेछ । एफपीओ बिक्रीबाट जम्मा भएको रकममध्ये प्रतिकित्ता एक सय रूपैयाँका दरले आउने पैसा चुक्ता पुँजीमा जोडिनेछ भने प्रिमियमबाट संकलन भएको रकम रिजर्भ कोषमा जानेछ । एफपीओपछि कम्पनीको रिजर्भ कोषमा ६ अर्ब ६९ करोड ३८ लाख  रूपैयाँ जम्मा हुनेछ । आर्थिक वर्ष २०७३–७४ मा कम्पनीको जीवन बिमा कोषको आकार ४२ अर्ब ३३ करोड रूपैयाँभन्दा बढीको हुने विवरणमा देखाइएको छ ।

प्रतिसेयर नेटवर्थ पनि ३६९ रुपैयाँ ८६ पैसा पुग्ने कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले आर्थिक वर्ष २०७१–७२ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.३१ प्रतिशत नगद लाभांश दिएको थियो । आर्थिक वर्ष २०७२–७३ को नाफाबाट लाभांश दिन बाँकी छ ।  नेपाल लाइफ इन्सुरेन्सको एफपीओ पुस २७ देखि बिक्री खुला हुँदैछ। कम्पनीले  ३० लाख ९६ हजार चार सय २० कित्ता एफपीओ प्रतिकित्ता १४ सय २५ रूपैयाँका दरले बिक्री गर्नेछ । नेपाल लाइफलाई एक सय रूपैयाँ अंकित मूल्यमा १३ सय २५ रूपैयाँ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता १४ सय २५ रूपैयाँका दरले एफपीओ ल्याउन धितोपत्र बोर्डले अनुमति दिएको हो । 
 
यो इन्सुरेन्सले एक सय रुपैयाँ अंकित मूल्यको कुल ३० लाख ९६ हजार चार सय २९ कित्ता  सेयर सर्वसाधारणलाई बेच्न लागेको हो । लामो समयदेखि नेपाल लाइफको एफपीओ पाइपलाइनमा थियो । यसअघि कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यसहित २९ सय ५१ रूपैयाँमा एफपीओ ल्याउने प्रस्ताव गरेको थियो । कम्पनीको प्रस्ताव गरेको त्यो भाउ धितोपत्र बोर्डले अस्वीकृत गरेको थियो । त्यसपछि बोर्डले एफपीओ निष्कासनसम्बन्धी नयाँ निर्देशन जारी गर्यो । त्यसै विधिका आधारमा अहिले नेपाल लाइफले एफपीओ ल्याउन अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्दैछ । 
 

Post Your Comment