Market Closed

नेपाल लाइफको २८.५३% नगद लाभांश पाउन अब के गर्ने ? चैत २८ मा एजीएम

26 Mar,2018
  • Nepal-life-insurance-company-ltd__3_26_2018_1_26_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सको नगद लाभांश पाउन सेयर प्रमाणपत्र अनिवार्यरुपमा डिम्याट गर्नुपर्ने भएको छ । कम्पनीले हालसम्म डिम्याट खाता नखोलेका सेयरधनीलाई पनि तत्काल खाता खोल्न आग्रह गरेको छ । लगानीकर्ताले डिम्याट खातामा उल्लेख गरेको बैंक खातामै नगद जम्मा गरिने नेपाल लाइफले जनाएको छ ।

सोही कारण नगद लाभांशका लागि पनि सेयर डिम्याट गर्न र खाता उपलब्ध गराउनु अनिवार्य हुने कम्पनीको भनाई छ । यस कारण हालसम्म आफ्नो सेयर भौतिक रुपमै राखेका सेयरधनीले पनि नगद पाउन अब सेयर डिम्याट गर्नैपर्ने हुन्छ ।

सेयर प्रमाणपत्र डिम्याट गरिसकेपछि मात्र कम्पनीले घोषणा गरेको २८.५३% नगद लाभांश सम्बन्धित लगानीकर्ताको बैंक खातामा जम्मा हुनेछ । लाभांश पाउन डिम्याट खातामा बैंक खाता पनि अद्यावधिक गराउनुपर्नेछ ।

नेपाल लाइफले बुक क्लोजको मितिसम्म डिम्याट खाता अनुसार बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको नगद लाभांश बैंक खातामा पठाइने जनाएको छ । साधारण सभा गर्न नेपाल लाइफले चैत १४ गतेदेखि चैत २८ गतेसम्म बुक क्लोज गर्दैछ । चैत १३ गतेसम्म कायम सेयरधनीले मात्र बोनस र नगद लाभांश पाउनेछन् । 
 
यता, धितो बन्धक राखी कर्जा लिएका सेयरधनीले पनि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतपत्र बुझाएपछि मात्र खातामा बोनस र नगद जम्मा गरिने कम्पनीले जानकारी गराएको छ । चैत २८ गते हुने साधारण सभामा नेपाल लाइफले ४२% बोनस सेयर र २८.५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

कम्पनीले १ अर्ब ३० करोड ५ लाख रुपैयाँ बोनस वितरण र ८८ करोड ३२ लाख ९७ हजार रुपैयाँ नगद लाभांशका लागि खर्च गर्नेछ । साधारण सभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९.३० बजेबाट सुरु हुनेछ । हाल नेपाल लाइफको चुक्ता पुँजी ३ अर्ब ९ करोड ६४ लाख २८ हजार ६२५ रुपैयाँ छ । बोनसपछि चुक्ता पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६ सय २५ रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले २७ करोड ९६ लाख ८० हजार ६११ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०६ पैसा रहेको नेपाल लाइफको प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ९३ पैसा छ । 
 

Post Your Comment