Market Closed

बिमा कम्पनीले असारभित्र पुर्याउलान् त चुक्ता पुँजी ? यसरी गर्दैछन् तयारी

09 Apr,2018
  • insurance_4_9_2018_6_32_34.jpg
समिर गौतम
सोभित थपलिया
 
काठमाडौं : बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन बिमा कम्पनीहरु पनि यतिबेला जोडतोडले लागिरहेका छन् । बिमा समितिले चालु आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बिमालाई २ अर्ब र निर्जीवन बिमा कम्पनीलाई १ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको हो । समितिले दिएको समयसीमा सकिन लगभग ३ महिना मात्र बाँकी रहँदा थोरै मात्र बिमा कम्पनीहरुको चुक्ता पुँजी तोके अनुसार पुगेको छ । केही कम्पनीले बोनस तथा हकप्रद दिने घोषणा गरिसकेका छन् ।

घोषित लाभांश वितरणपछि यी कम्पनीेहरुले पनि पुँजी पुर्याउने छन् । तर, समय सकिन ३ महिनामात्र बाँकी रहँदा अझै धेरै कम्पनीहरुको पुँजी पुग्ने स्पष्ट आधार देखिएको छैन । अहिलेसम्म जीवन बिमामा नेपाल लाइफ र निर्जीवनमा हिमालयन जनरल तथा शिखर इन्सुरेन्सको मात्र तोकिएको चुक्ता पुँजी पुगेको छ ।



उसो त नेपाल लाइफले बिमा समितिको निर्देशन आउनु भन्दा पहिले नै २ अर्ब भन्दा बढी पुँजी पुर्याइसकेको थियो । समितिको निर्देशन पालना गर्नका लागि अधिकाशं बिमा कम्पनीहरुले हकप्रद र बोनस सेयरको सहरा लिएका छन् । तर पनि तोके बमोजिमको चुक्ता पुँजी पुर्याउन सकेका छैनन् ।  एसियन लाइफको १२% बोनस र ५०% हकप्रद सेयरपछि पनि पुँजी २ अर्ब रुपैयाँ पुग्ने देखिँदैन । यति गर्दा यो इन्सुरेन्सको चुक्ता पुँजी बल्ल १ अर्ब ३० करोड ५० लाख मात्र पुग्छ ।



सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीको हालत पनि उस्तै छ । गत वर्ष ३ आर्थिक वर्षको गरी एकैपटक ११४.२७% बोनस दिएको यस कम्पनीले यसपालि पनि १२०% बोनस दिने घोषणा गरेको छ । तर भारी मात्रामा बोनस सेयर दिँदा पनि यसको पुँजी ५८ करोड ६५ लाख मात्र पुग्ने देखिन्छ । यता, सञ्चालनमा आएका नयाँ जीवन कम्पनीहरुले पनि आइपीओ जारी गरेर चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

धितोपत्र बोर्डको नियम अनुसार आइपीओ जारी गर्न कम्पनी सञ्चालनमा आएको १ वर्ष पुगेको हुनुपर्छ । तर पुँजी बजार नियामक बोर्डले चुक्ता पुँजी पुर्याउन वाध्य रहेका कम्पनीलाई सञ्चालनमा आएको एक वर्ष नभएपछि आइपीओ जारी गर्न अनुमति दिइने यसअघि नै भनिसकेको छ ।

यस वर्ष ८ वटा नयाँ जिवन बिमा कम्पनी थपिएका छन् । यी कम्पनीहरुले जारी पुँजीको न्यूनतम पनि ३०% सेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्ने हुन्छ । यसैक्रममा, सिटिजन लाइफ इन्सुरेन्सले ७५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउने लक्ष्य लिएको छ । 
 
 

Post Your Comment