Market Closed

सूचीकृत सबै जीवन बिमा कम्पनीको नाफा बढ्यो, प्रतिस्पर्धामा को अघि ?

15 May,2019
  • profit-concept_5_15_2019_7_09_18.jpg
इशारा कोइराला
 
काठमाडौ : नेप्सेमा सूचीकृत ७ वटै जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको तस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार सबै बिमा कम्पनीको जगेडा कोष, जीवन बिमा कोष, नाफा लगायत सूचकमा सुधार आएको छ । यता, केही इन्सुरेन्सको प्रतिसेयर आम्दानी भने घटेको छ ।

धेरै कम्पनीले भारी मात्रामा चुक्ता पुँजी वृद्धि गर्दा पनि धेरैजसोले बल्ल बिमा समितिले निर्धारण गरेको चुक्ता पुँजी २ अर्ब हाराहारीमा मात्र पुर्याएका छन् । केहीको भने न्यूनतम भन्दा बढी छ हेरौ यस अवधिमा कुन बिमा कम्पनीको अवस्था कस्तो :
 
६ बिमा कम्पनीको चुक्ता पुँजी बढ्यो, सबैभन्दा धेरै नेपाल लाइफको
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ६ जीवन बिमा कम्पनीले चुक्ता पुँजी बढाएका छन् । नेपाल लाइफ इन्सुरेन्सको चुक्ता पुँजी गत वर्षकै यथावत रहेको छ । यद्दपि, जीवन बिमा कम्पनीमध्ये सबैभन्दा धेरै पुँजी नेपाल लाइफको नै छ । यस अवधिमा सबैभन्दा धेरै प्राइम लाइफको चुक्ता पुँजी बढेको छ ।



प्राइमको चुक्ता पुँजी १९२.५% ले बढेर १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा नेपाल लाइफ र नेसनल लाइफको मात्रै बिमा समितिले निर्धारण गरेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी नाघेको छ । बाँकीले अहिलेसम्म न्यूनतम पुँजी पनि पुर्याउन सकेका छैनन् । तर धेरैजसोले तोकिएको न्यूनतम पुँजी पुर्याउने तयारी भने गरिरहेका छन् । 
 
७ वटै कम्पनीको जगेडा कोष बढ्यो, वृद्धिदर लाइफ इन्सुरेन्स कर्पोरेसनको धेरै
 
चैत मसान्तसम्म ७ वटै बिमा कम्पनीले जगेडा कोष बढाएका छन् । यस अवधिमा सबै भन्दा धेरै जगेडा कोष बढाउनेमा लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) रहेको छ । यसको जगेडा कोष गत वर्षको यही अवधिको तुलनामा ६१.५५% ले बढेर ५८ करोड ३५ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।


 
यता, नेपाल लाइफको जगेडा कोष पनि गत वर्षको यही अवधिको तुलनामा ६१.२६% ले बढेर ५ अर्ब ६१ करोड २४ लाख ६२ हजार रुपैयाँ पुगेको छ । यो जीवन बिमामध्ये सबैभन्दा धेरै जगेडा कोष भएको कम्पनी हो । 
 
सबैभन्दा धेरै जीवन बिमा कोष बढाउनेमा सूर्या लाइफ, बढी नेपाल लाइफको
 
७ वटै जीवन बिमा कम्पनीले जीवन बिमा कोष बढाएका छन् । यस अवधिमा सबैभन्दा धेरै बिमा कोष वृद्धि गर्नेमा सूर्या लाइफ इन्सुरेन्स परेको छ । सूर्याको जीवन बिमा कोष गत वर्षको तुलनामा ४४.०७% ले बढेर ४ अर्ब ६४ करोड ७६ लाख ७३ हजार रुपैयाँ पुगेको छ । 


 
चैत मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै जीवन बिमा कोष नेपाल लाइफको रहेको छ । यस इन्सुरेन्सको जीवन बिमा कोष २४.७०% ले बढेर ५९ अर्ब ४६ करोड २३ लाख ३२ हजार रुपैयाँ पुगेको छ । साथै, लाइफ इन्सुरेन्स कर्पोरेसनको बिमा कोष पनि २६.८६% ले बढेर ५१ अर्ब ४८ करोड ८४ लाख ४० हजार रुपैयाँ पुगेको छ । 
 
७ वटै कम्पनीको नाफा बढ्यो, सबैभन्दा धेरै कमाइ नेपाल लाइफको
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ७ वटै जीवन बिमा कम्पनीले खुद नाफा बढाएका छन् । यस अवधिमा सबैभन्दा धेरै नाफा एसियन लाइफ इन्सुरेन्सले बढाएको छ । यस इन्सुरेन्सको नाफा गत वर्षको यही अवधिको तुलनामा ६३.५४% ले बढेर ५ करोड ४४ लाख ९ हजार रुपैयाँ पुगेको छ । 


 
यता, सबैभन्दा धेरै कमाई नेपाल लाइफ इन्सुरेन्सको रहेको छ । यसको नाफा गत वर्षको यही अवधिको तुलनामा ७.२१% ले बढेर ४६ करोड ७२ लाख २४ हजार रुपैयाँ पुगेको छ । 
 
३ कम्पनीको प्रतिसेयर आम्दानी बढ्यो, ४ को घट्यो 
 
चैत मसान्तसम्म ३ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने ४ कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । गत वर्षको तुलनामा नेपाल, एसियन र गुराँस लाइफ इन्सुरेन्सको प्रतिसेयर आम्दानी बढेको छ । सबैभन्दा धेरै गुराँस लाइफको २ रुपैयाँ ७५ पैसाले प्रतिसेयर आम्दानी बढेर ११ रुपैयाँ ७६ पैसा पुगेको छ । 

 
यता, प्राइम लाइफको प्रतिसेयर आम्दानी सर्वाधिक १९ रुपैयाँ ५ पैसाले घटेर १२ रुपैयाँ २३ पैसामा झरेको छ । यस अवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी सूर्या लाइफको रहेको छ । सूर्याको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १५ पैसा छ । 

Post Your Comment