Market Closed

बिमा कम्पनीहरुले १ वर्षमा गरे ५७ अर्ब प्रिमियम संकलन, कसको वृद्धि कति ? (तथ्यांक टेबलमा)

03 Aug,2017
  • insurance_8_3_2017_6_07_30.jpg
एलिजा उप्रेती 
 
काठमाडौं : महाभूकम्पपछि बिमा व्यवसाय झन् उकालो लाग्न थालेको तथ्यांकहरुले देखाएको छ । भूकम्पपछि बिमा कम्पनीहरुको प्रिमियम संकलनमा बढोत्तरी आएको छ । बिमा कम्पनीहरुले नियामक बिमा समितिलाई कारोबार विस्तार भएको विवरण बुझाएका छन् । आर्थिक वर्ष २०७३–७४ को तथ्यांकलाई हेर्ने हो भने सबै कम्पनीहरुको प्रिमियम संकलनमा वृद्धि भएको देखिन्छ । यस अवधिमा ९ जीवन बिमा र १७ निर्जीवन बिमा कम्पनीले गरी कुल ५७ अर्ब ४४ करोड ४५ लाख ५९ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यता, पुनर्बिमा कम्पनीले पनि २ अर्ब ९ करोड ९२ लाख ३८ हजार रुपैयाँ बिमा शुल्क उठाएको छ । जीवन बिमा कम्पनीहरुले आर्थिक वर्ष २०७३–७४ मा २० प्रतिशतले बिमा व्यवसाय बढाएका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा जीवन बिमा कम्पनीहरुले कुल ३८ अर्ब ४० करोड ५७ लाख ३८ हजार रुपैयाँ बिमा शुल्क (प्रिमियम) उठाएका हुन् । अघिल्लो आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरुले ३१ अर्ब ९७ करोड ७ लाख ४६ हजार रुपैयाँ बिमा शुल्क उठाएका थिए । मा समितिको तथ्यांक अनुसार प्रतिशतमा सबैभन्दा बढी बिमा शुल्क वृद्धि गर्नेमा नेसनल लाइफ इन्सुरेन्स परेको छ । नेसनलले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २९ प्रतिशत बढी बिमा शुल्क उठाएको हो ।



नेसनलले आव ०७३–७४ मा ४ अर्ब ९५ करोड ९ लाख २४ हजार रुपैयाँ प्रिमियम (बिमा शुल्क) संकलन गरेको छ । यो कम्पनीले अघिल्लो आवमा ३ अर्ब ८४ करोड ८८ लाख ५६ हजार रुपैयाँ संकलन गरेको थियो । प्रिमियम संकलन प्रतिशत बढाउनेमा दोस्रोमा गुराँस लाइफ इन्सुरेन्स परेको छ । गुराँशले २७ प्रतिशतले बढाएर १ अर्ब २३ करोड ४८ लाख ५६ हजार रुपैयाँ उठाएको छ । यसले अघिल्लो वर्ष ९६ करोड ९४ लाख ६ हजार रुपैयाँमात्र बिमा शुल्क आर्जन गरेको थियो । यता, लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल) को पनि प्रिमियम संकलन २५ प्रतिशतले बढेको छ । राष्ट्रिय बिमा संस्थानको प्रिमियम संकलन भने थोरैमात्र बढेको छ । यसले जम्मा ८ प्रतिशतले बढाएर २ अर्ब ६७ करोड ९९ लाख ७७ हजार रुपैयाँ बिमा शुल्क उठाएको छ । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय बिमा संस्थानले २ अर्ब ४७ करोड ७८ लाख ६४ हजार रुपैयाँ शुल्क उठाएको थियो । सूर्या लाइफले प्रिमियम संकलन २१ प्रतिशतले वृद्धि गरेको छ भने मेटलाइफले २३ प्रतिशत बढी प्रिमियम संकलन गरेको छ । प्राइम लाइफ इन्सुरेन्सले प्रिमियम संकलन १९ प्रतिशतले वृद्धि गरेको छ भने नेपाल लाइफ इन्सुरेन्सले १७ प्रतिशतले प्रिमियम संकलन बढाएको छ । 
 

                                                                                                   स्रोत : बिमा समिति

उसो त निर्जीवन बिमा कम्पनीहरु पनि प्रिमियम संकलन गर्ने मामलामा अघि नै देखिएका छन् । यी कम्पनीहरुले गत वर्ष समग्रमा प्रिमियम संकलन २७.७५ प्रतिशतले वृद्धि गरेका छन् । गत वर्ष १७ निर्जीवन बिमा कम्पनीहरुले १९ अर्ब ३ करोड ८८ लाख २१ हजार रुपैयाँ बिमा शुल्क उठाएका छन् । अघिल्लो वर्ष १४ अर्ब ९० करोड ३६ लाख ९६ हजार रुपैयाँमात्र बिमा शुल्क उठाएका थिए । 
एनबि इन्सुरेन्सले प्रिमियम संकलन ९८.५० प्रतिशतले वृद्धि गरेको छ । एनबीले कुल ६९ करोड ४७ लाख ५० हजार रुपैयाँ प्रिमियम संकलन गरेको हो । यता, प्रुडेन्सियल इन्सुरेन्सले पनि प्रिमियम संकलन ६१ प्रतिशतले बढाएको छ । यस कम्पनीले गत आवमा १ अर्ब २५ करोड ८५ लाख ९४ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको हो । राष्ट्रिय बिमा कम्पनीको भने ०.०४ प्रतिशले मात्र बिमा शुल्क आर्जनमा वृद्धि भएको देखिन्छ ।   
 
 
    

Post Your Comment