Market Closed

एनएमबि थप मजबुत बन्दै, खुद नाफा २३.२९% वृद्धि हुँदा रिजर्भमा छ टन्नै पैसा

26 Apr,2018
  • NMB-bank-Ltd_4_26_2018_10_27_24.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २३.२९% ले खुद नाफा वृद्धि गरेको रिपोर्ट सार्वजनिक गरेको छ । एनएमबिले यस त्रैमासमा १ अर्ब ४१ करोड १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही अवधिमा बैंकले १ अर्ब १४ करोड ३५ लाख ८९ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी पनि १३.२७% ले वृद्धि गरेको छ ।

गत वर्ष १ अर्ब ८५ करोड ६७ लाख १८ हजार रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर अहिले २ अर्ब १० करोड ३२ लाख २९ हजार रुपैयाँ पुगेको छ । यस्तै, बैंकले सञ्चालन नाफा १ अर्ब १६ करोडबाट बढाएर १ अर्ब ६९ करोड १ लाख ५० हजार रुपैयाँ पुर्याएको छ । समग्रमा खुद नाफा बढ्नुमा ब्याज आम्दानी र सञ्चालन नाफाले नै सहयोग पुर्याएको देखिन्छ । 
 
यस त्रैमाससम्म आइपुग्दा एनएमबिले ३४ करोड ९६ लाख ३२ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने प्रोभिजनमा १५ करोड ७८ लाख ३१ हजार रुपैयाँ छुट्याएको छ । निक्षेप संकलन र कर्जा लगानी पनि वृद्धि भएको छ । गत वर्ष ७१ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकले यो त्रैमाससम्म आइपुग्दा ८५ अर्ब २९ करोड ६२ लाख ६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कर्जा लगानी पनि ६० अर्ब २४ करोडबाट बढाएर ७४ अर्ब १ करोड ३७ लाख २५ हजार रुपैयाँ पुर्याएको छ । एनएमबिको खराब कर्जा अनुपातमा थप सुधार भएको छ । गत वर्ष १.७०% रहेको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा १.१०% मा सीमित भएको छ । सीसीडी अनुपात बढेर ७५.३३% पुगेको छ । गत वर्ष सीसीडी अनुपात ७०.८१% थियो । कस्ट अफ फन्ड पनि बढेर ४.६२% बाट ७.४७% पुगेको छ । 
 
चुक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रहेको एनएमबिको रिजर्भ कोषमा ५ अर्ब ६३ करोड ५४ लाख १७ हजार रुपैयाँ छ । रिजर्भ कोषलाई आकर्षक मान्न सकिन्छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन यो बैंक पनि प्रयासरत छ ।

चुक्ता पुँजी पुर्याउन एनएमबिले एफपीओ ल्याउने प्रक्रियामा छ । यसका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ०९ पैसा (वार्षिक) रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँ २१ पैसा छ । गत वर्ष एनएमबिको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ २१ पैसा थियो । 

एनएमबि बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण यसरी हेर्नुहोस् 
 

Post Your Comment