Market Closed

एनएमबि बैंकको बिहीबारदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र आउने, कति पाइन्छ ब्याज ?

13 Mar,2019
  • NMB-bank-Ltd_8__8_16_2018_10_55_11.jpg
नेपाली पैसा 

काठमाडौं : एनएमबि बैंकले बिहीबार (फागुन ३० गते) देखि ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ दरको कुल ३० लाख कित्ता  ‘१०% एनएमबि डिबेन्चर २०८५’ जारी गर्न लागेको हो । यसमध्ये ११ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

६० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ ।  बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । एनएमबिको ऋणपत्र निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । यस ऋणपत्रले ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ । यो रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ ।

एनएमबि बैंकले यो ऋणपत्रमा वार्षिक १०% ब्याजदर दिनेछ । ऋणपत्रको अवधि १० वर्षको हुनेछ । यसमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने चैत १४ गतेसम्म भर्न सकिनेछ । 
 
एनएमबि बैंकले लगानीकर्तालाई गत वर्षको कमाईबाट १०% बोनस सेयर र २०% नगद लाभांश दिएको थियो । बोनस सेयर वितरणपछि चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार रुपैयाँ पुगेको छ । पछिल्लो समय बैंकहरुले लगानीका लागि अतिरिक्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । 
 
एनएमबिले पनि ऋणपत्र बिक्रीबाट उठ्ने रकममध्ये २ अर्ब २० करोड रुपैयाँ राष्ट्र बैंकबाट स्वीकृत क्षेत्रमा कर्जा लगानी गर्ने योजना बनाएको छ । यस्तै, २० करोड रुपैयाँ विपन्न वर्गामा कर्जा लगानी गर्ने, २० करोड तरलता व्यवस्थापन र ४० करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गर्ने उद्देश्य राखेको छ ।

Post Your Comment