माउ भन्दा सहायक कम्पनीको छ सेयर मूल्य बढी, कसरी गर्न सकिएला सुरक्षित लगानी ?

18 Jan,2018
  • market_price_1_18_2018_6_40_04.jpg
एलिजा उप्रेती 
 
काठमाडौं : सेयर बजारमा लघुवित्त कम्पनीहरुले पनि उल्लेख्य हिस्सा ओगटेका छन् । बजारमा यी कम्पनीहरुको वर्चस्व पनि उत्तिकै देखिएको छ । हाल सञ्चालनमा रहेका कतिपय लघुवित्त कम्पनीहरु वाणिज्य बैंकहरुको लगानी वा सहायक कम्पनीका रुपमा रहेका छन् । केही वर्षयता सेयर बजारमा लघुवित्त कम्पनीहरुको भाउ तुलनात्मकरुपमा निकै माथि छ । तर, यहाँ रोचक पक्ष के छ भने जुन कम्पनी (माउ कम्पनी) ले लगानी गरेर आफ्नो सहायक कम्पनीका रुपमा लघुवित्त स्थापना गरेका छन् तिनै माउ कम्पनीको बजार मूल्य भने निकै कम छ । अर्थात, माउ कम्पनीको भन्दा सहायक कम्पनीको सेयर मूल्य धेरै महँगो देखिएको छ । बजारमा कायम हुने सेयर मूल्यलाई आधार मानिरहँदा पुँजी, लगानी विस्तार जस्ता हिसाबले बलिया देखिने माउ कम्पनीको भाउ पनि आफैं बलियो हुनुपर्नेमा त्यस्तो देखिएको छैन । तर सीमित पुँजी र सेयर संख्या भएका सहायक कम्पनी चाहिँ बजार भाउका आधारमा सबल देखिएका छन् । तर यसको अर्थ, सहायक कम्पनीको भाउ धेरै हुनुहुँदैन भन्न खोजिएको होइन । सहायक कम्पनीको भाउ अनुसार अझै पुँजी आधार र लगानी क्षमता बढी भएका माउ कम्पनीहरु पनि सशक्त हुनुपर्ने हो भन्ने आशयमात्र हो । हुन त वाणिज्य बैंक र लघुवित्त कम्पनीहरुको कार्यक्षेत्र नै फरक हुन्छ । बैंकहरुले अफूले गर्न निमिल्ने कामका लागि लघुवित्त कम्पनी खडा गरेका हुन्छन् । यस आधारमा उनीहरुको कामको प्रकृति फरक–फरक हुन्छ । लघुवित्त कम्पनीहरुले ग्रामीण क्षेत्रमा लगानी परिचालन गरेका हुन्छन् । ब्याजदर पनि बढी असुलेका हुन्छन् । तर यो सँगै जोखिमको मात्रामा पनि बैंकको तुलनामा अत्याधिक बढी हुन्छ । 


 
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेल कुनै पनि कम्पनीको सेयर भाउ त्यस कम्पनी वा क्षेत्रको भविष्यको सम्भावनाको आँकलन, लगानीकर्ताको आकर्षण र त्यसले कमाउने प्रतिसेयर आम्दानीले बजार मूल्य निर्धारण हुने बताउँछन् । उनी सेयरको मूल्य माउ र सहायक कम्पनी भनेर निर्धारण हुने नभई कम्पनीले कमाउने नाफाले निर्धारण गर्ने दाबी गर्छन् । थोरै पुँजी भएको कम्पनीमा लगानीकर्ता पनि थोरै र सेयर संख्या पनि थोरै हुने भएकाले सीमित व्यक्तिले सेयर कब्जा गरेर अलि अस्वभाविक र कृतिमरुपमा भाउ उचाल्ने गरेको पनि कतिपय अवस्थामा देख्न सकिन्छ । यसले जोखिमको मात्रामा भने बढाउँछ । त्यसो त कतिपय लघुवित्त कम्पनीहरुको प्रतिसेयर आम्दानी, खुद नाफा तथा प्रतिसेयर नेटवर्थ अत्यन्त आकर्षक पनि देखिएको छ । तर औसतमा सबै लघुवित्त कम्पनीको भाउ उचालिएकाले यसमा लगानीकर्ताहरुको गहिरो अध्ययन, विश्लेषण हुनु चाहिँ आवश्यक देखिएको छ । 
 
अर्कोतर्फ, कम्पनीमा जोखिम मापन गर्ने सूचकहरु पनि छन् । लगानीमा कति फइदा आउँछ भन्ने विषयमा पनि ध्यान पुर्याउनुपर्ने हुन्छ । यसका लागि मूल्य आम्दानी अनुपातलाई एउटा प्रमुख आधार मान्न सकिन्छ । उदाहरणका लागि एनएमबि माइक्रोफाइनान्सको मूल्य आम्दानी अनुपात हेरौं । बुधबारको बजार मूल्यका आधारमा यसको मूल्य आम्दानी अनुपात ७२.५९ गुणा छ । यसको अर्थ हुन्छ यो माइक्रोफाइनान्समा १ रुपैयाँ प्रतिफल पाउन ७२.५९ रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । यता, यसकै माउ कम्पनी एनएमबि बैंकको मूल्य आम्दानी अनुपात भने १६.१० गुणा मात्र छ । यो एउटा प्रतिनिधि उदाहरणमात्र हो । त्यसो त अहिलेका लगानीकर्ता र विश्लेषकहरुले मूल्य आम्दानी अनुपात उच्च भए पनि त्यस क्षेत्र वा उद्योगको भविष्यमा व्यापार विस्तारको सम्भावनालाई पनि हेरेर लगानी गर्नुपर्ने बताउन थालेका छन् । कतिपय लगानीकर्ताले यही सम्भावनालाई मध्यनजर गरेर लगानी गरेका पनि हुन सक्छन् ।
 
त्यसो त, कतिपय लगानीकर्ताले पुँजी भन्दा धेरै नाफा गर्नसक्ने हैसियत माइक्रोफाइनान्समा हुने बताउँछन् । यता, प्रतिसेयर नेटवर्थमा माउ कम्पनी र सहायक कम्पनीमा खासै भिन्नता देखिंदैन । जस्तो, लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बजार मूल्य १२६० रुपैयाँ (बुधबारको बजार भाउ) छ भने माउ कम्पनीको बजार मूल्य २६८ रुपैयाँ छ । यो भनेको सहायक कम्पनीको सेयर मूल्य झण्डै ५ गुणा बढी हो । यता, बैकर्स अनलराज भट्टराई मुख्य कम्पनी र सहायक कम्पनीको सेयर मूल्य एक अर्कासँग कुनै सम्बन्ध नहुने बताउँछन् । उनले मुख्य र सहायकको व्यवस्थापन समूह नै फरक–फरक हुने र माउ कम्पनी घाटामा जाँदा पनि सहायक कम्पनीको नाफा बढ्न सक्ने उनको तर्क छ । सेयर मूल्य धेरै वा थोरै हुनुमा बजारको नै हात हुने गर्छ । जुनसुकै वस्तुको बजारमा माग बढी र आपूर्र्ति कम हुने बित्तिकै भाउ बढ्छ । सेयरको हकमा पनि यही हुन्छ । माग बढी र आपूर्ति कम हुने बित्तिकै भाउ उचालिन्छ । तर त्यसले निम्ताउन सक्ने जोखिमतर्फ पनि लगानीकर्ता उत्तिकै सचेत हुन आवश्यक छ । त्यसो त यसअघि उच्च मूल्यमा सेयर किनेकाहरुले अहिले घाटामा छन् । बजार घट्दा माइक्रोफाइनान्स कम्पनीहरुको भाउ पनि उही रफ्तारमा तल झरेको छ । माइक्रोफाइनान्समात्रै होइन यतिबेला सबै कम्पनी र समूहहरुमा ह्रास आउँदा लगानीकर्ताको मनोभावनामा भने चोट पुगिरहेको अवस्था छ । 
 
 
 

Post Your Comment