नेसनल माइक्रोफाइनान्सले नगद लाभांश खातामा जम्मा गरिदियो, नपाउनेले यस्तो गर्नुपर्ने

25 Jan,2018
  • Dividends_1_25_2018_4_25_48.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले १५% नगद लाभांश सम्बन्धित सेयरधनीको खातामै जम्मा गरिदिएको जनाएको छ । कम्पनीले मंसिर १४ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको मात्र नगद लाभांश खातामा जम्मा गरिदिएको हो । त्यस्तै, मंसिर १४ गतेदेखि बैंक खाता अद्यावधिक गर्ने सेयरधनीहरुको पनि खातामा नै नगद लाभांश जम्मा गरिदिने कम्पनीले जानकारी गराएको छ । हालसम्म पनि सेयर प्रमाणपत्र अभौतिकरण नगरेका सेयरधनीले भने आफूले डिम्याट खाता खोलेको बैंंक तथा अन्य कुनै संस्थामा सम्पर्क गरी खाता अद्यावधिक गर्नुपर्नेछ । अनिमात्र कम्पनीले नगद लाभांश खातामा राखिदिनेछ । यता, मंसिर १४ गतेसम्म डिम्याट खाता अद्यावधिक गरेर पनि बैंक खाताको विवरण नमिलेका कारण नगद लाभांश प्राप्त नगरेका सेयरधनीहरुको विवरण कम्पनीको सेयर रजिष्ट्रार एनआइबीएल क्यापिटलको वेवसाइटमा राखिएको छ ।

वेवसाइटमा विवरण राखिएका सेयरधनीले अब नगद लाभांश पाउन आफ्नो नमिलेको खाताको विवरण सच्याउनुपर्नेछ । अनिमात्र नगद लाभांश सम्बन्धित व्यक्तिको खातामा आउनेछ । मंसिर १४ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरुको नगद लाभांश भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट स्वीकृत लिई त्यसको जानकारी बिक्री प्रबन्धकलाई गराएपछि मात्र सेयरधनीको खातामा जम्मा गरिनेछ । त्यस्तै, मंसिर १४ भन्दा पछि कर्जा चुक्ता भुक्तानी गरेका सेयरधनीको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैंक खातामा लाभांश जम्मा गरिनेछ । नेसनलको मंसिर २७ गते भएको सभाले २०% बोनस सेयर र १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । 
 
 
 
 

Post Your Comment