Market Closed

नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बुधबार बाँडफाँट हुने

07 Apr,2020
  • ipo_1_2_4_7_2020_10_53_14.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बुधबार चैत २६ गते बिहान बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले बुधबार बिहान ७.३० बजे आइपीओ बाँडफाँट हुने कार्यक्रम तय भएको नेपाली पैसालाई जानकारी दिए । आइपीओ आरबीबी मर्चेन्ट बैंकिङकै कार्यालय, टेकुमा हुनेछ । यसअघि लक डाउनपछि बाँडफाँट गर्ने कार्यक्रम तय गरिएको थियो । तर, लक डाउन अवधि फेरि बढाइएपछि आवेदनकर्ताको माग बमोजिम लक डाउनकै समयमा पनि बाँडफाँट गर्नुपरेको बिक्री प्रबन्धकको भनाई छ । 
 
नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिंङका अनुसार यस आइपीओमा ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका लागि आवेदन परेको हो । यो माग भन्दा ३.६८ गुणा धेरै आवेदन हो । यसमा ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका छन् ।
 
कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो । कम्पनीले कुल पुँजी १० अर्बको १६% ले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । जसमध्ये ७३ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई र ५% ले हुन आउने ८ लाख कित्ता सेयर पनि सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकिएको छ ।
 
बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी १० अर्ब रुपैयाँ हुनेछ । यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत अवस्था भन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ दिएको छ । 
 

Post Your Comment