Market Closed

टेलिकमको ५५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, पुस ३० मा एजीएम

28 Dec,2017
  • Nepal-door-sanchar-compa_12_28_2017_11_06_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल टेलिकमको ५५% नगद लाभांश सुरक्षित गर्ने बिहीबार (पुस १३ गते) अन्तिम दिन हो । पुस ३० मा एजीएम गर्न कम्पनीले आइतबार (पुस १६ गते) देखि बुक क्लोज गर्दैछ । लाभांश हात पार्न बुक क्लोज हुनु भन्दा अघि सेयरधनी बनिसक्नुपर्ने हुन्छ । यस आधारमा लगानीकर्ताले लाभांश सुरक्षित गर्न बिहीबार भित्र सेयर किनिसक्नुपर्ने हुन्छ । शुक्रबार र शनिबार सेयर बजार बन्द रहने भएकाले बिहीबार सेयर किन्ने अन्तिम मौका हो । टेलिकमले यसअघि पुस १२ गतेदेखि बुक क्लोज गर्ने घोषणा गरेको भए पनि नेप्सेले यो निर्णय नियमविपरीत भएको भन्दै उल्टाइदिएको थियो । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार टेलिकमको सञ्चालक समितिले पुस ३ गते नै साधारण सभा र बुक क्लोज सम्बन्धी निर्णय गरे पनि नेप्सेलाई भने ९ गतेमात्र यस सम्बन्धी जानकारी गराएको थियो । सञ्चालक समितिको निर्णय नेप्सेलाई तत्काल जानकारी गराउनुपर्ने प्रावधान भए पनि टेकिमले यसमा लापरवाही गरेको थियो । त्यस्तै, बुक क्लोजको मिति पनि न्यूनतम ७ दिन सर्वसाधारणलाई जनकारी गराउनुपर्नेमा ३ दिनको मात्र मिति राखेर सूचना जारी गरिएकाले नेप्सेले टेलिकमलाई सचेत गराएको थियो । नेप्सले बुक क्लोजको मिति पनि परिवर्तन गरी पुनः सार्वजनिक गर्न निर्देशन दिएपछि टेलिकमले बुधबार नयाँ मिति सार्वजनिक गरेको थियो । 
 
टेलिकमले वर्षेनि लगानीकर्तालाई आकर्षक नगद लाभांश दिंदै आएको छ । गत वर्ष पनि टेलिकमले ५१% नगद लाभांश दिएको थियो । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन सहित सोही अवधिसम्मको वासलात, नाफा–नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गरिदैछ । त्यस्तै, चालु आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ । हाल दूरसञ्चार कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ५ करोड ६५ लाख ३८ हजार ७४ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी आम्दानी १०८ रुपैयाँ १७ पैसा रहेको दूरसञ्चारको प्रतिसेयर नेटवर्थ ६४३ रुपैयाँ ८४ पैसा छ । 
 
 

Post Your Comment