Market Closed

टेलिकमको खुद नाफा ५.५०% घट्यो, प्रतिसेयर आम्दानी ९९ रुपैयाँ ७७ पैसा

13 Feb,2018
  • Nepal-door-sanchar-company-ltd_2_13_2018_11_49_15.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । टेलिकमले यस त्रैमासमा ७ अर्ब ४८ करोड २८ लाख १४ हजार ५७० रुपैयाँ कमाएको हो । कमाई राम्रो देखिए पनि गत वर्ष सँग तुलना गर्दा टेलिकमको नाफा ५.५०% तल झरेको देखिन्छ । गत वर्ष कम्पनीले ७ अर्ब ९१ करोड ८६ लाख ५९ हजार ६०६ रुपैयाँ खुद नाफा कमाएको थियो । सरकारी स्वामित्वको भए पनि टेलिकम तुलनात्मकरुपमा संस्थागत सुशासन बलियो भएको कम्पनीमा पर्छ । वार्षिक अधिक कर तिर्नेमा पनि टेलिकम दरिएको छ । समग्रमा वित्तीय अवस्था अत्यन्त मजुबत छ । 
 
चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोषमा ७५ अर्ब ३४ करोड ५० लाख ४ हजार १८५ रुपैयाँ छ । चुक्ता पुँजीलाई आधार मानेर हेर्ने हो भने रिजर्भ कोष अत्यन्तै सबल देख्न सकिन्छ । गत वर्ष यस कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ र रिजर्भ कोषमा ७८ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ रहेको थियो । कम्पनीले पुँजी वृद्धि गर्न बोनस तथा हकप्रद ल्याउनुपर्ने अवस्था नरहेकाले चुक्ता पुँजी भने गत वर्ष भन्दा बढेको छैन । यो त्रैमाससम्ममा टेलिकमको कुल आम्दानी भने २२ अर्ब ३६ करोड ९९ लाख १६ हजार २१९ रुपैयाँ देखिएको छ । जसमा सर्भिस (दूरसञ्चार सम्बन्धी विभिन्न सेवा) बाट मात्रै १९ अर्ब ७० करोड ६४ लाख ४ हजार २५१ रुपैयाँ आम्दानी गरेको छ ।

टेलिकमको प्रमुख आम्दानी भनेकै सेवा बिक्री हो । यसैगरी, अन्य शीर्षकबाट पनि २ अर्ब ६६ करोड ३५ लाख ११ हजार ९६८ रुपैयाँ आम्दानी गरेको वित्तीय विवरण कम्पनीले सार्वजनिक गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९९ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ ६०२ रुपैयाँ ३० पैसा छ । प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा ५ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ २३ रुपैयाँ १५ पैसाले थोरै हो । गत वर्ष टेलिकमको प्रतिसेयर आम्दानी १०५ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ ६२५ रुपैयाँ ४५ पैसा थियो । 
 
 
 
 

Post Your Comment